गोरखामा मृत अवस्थामा चितुवा फेला
गोरखा : गोरखामा मृत अवस्थामा चितुवा फेला परेको छ। बारपाक सुलिकोट गाँउपालिका–८ आइतबारेस्थित ढिकीडाँडा सामुदायिक वज क्षेत्रमा शुक्रबार एक भाले चितुवा मृत र अर्को बेहोस अवस्थामा फेला परेको डिभिजनल वन कार्यालय गोरखाले जानकारी दिएको छ।
सामुदायिक वनको छेउमा एउटा मृत र मृत चितुवासँगै लठ्ठिएको अवस्थामा अर्को भाले चितुवा पनि फेला परेको डिभिजनल वन अधिकृत मदनमोहन साण्डिल्यले जानकारी दिए।
उनीहरूको उमेर करिब ४–५ महिना हुनसक्ने अनुमान गरिएको छ। ‘उनीहरू एउटै उमेरका दाजुभाइ हुनसक्छन्’ डिएफओ साण्डिल्यले भने, ‘एउटा चितुवा भीरबाट लडेर मरेको हुनसक्ने अनुमान छ। अर्को लठ्ठिएकोलाई पनि कसैले विष खुवाएर लठ्याएको हुनसक्छ।’ स्थानीयले चितुवा मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए।
मृत चितुवालाई पोस्टमार्टमका लागि डिभिजन वन कार्यालय, गोरखामा ल्याइएको र जिउँदो चितुवाको उपचार सुरु गरिएको डिएफओ शाण्डिल्यको भनाई छ। ‘यिनीहरुको आमाको अवस्थाबारे पनि खोज अनुसन्धान गरिरहेका छौँ,’ उनले भने। मृत चितुवाको लम्बाइ ४७ इन्च, उचाइ १७ इन्च र जिउँदो चितुवाको लम्बाइ ४१ इन्च, उचाइ १८ इन्च रहेको छ।
प्रतिक्रिया दिनुहोस !