६२ वर्षीय अस्ट्रेलियन प्रधानमन्त्रीको विवाह
अस्ट्रेलिया : ६२ वर्षीय प्रधानमन्त्री एन्थोनी अल्बानिजीले शनिबार दिउँसो ‘दी लज’ अर्थात् प्रधानमन्त्रीको आधिकारिक निवासमा जोडी हेडनसँग विवाह गरेका छन्। उनले एउटा निजी समारोहको आयोजना गरेर विवाह गरेका हुन्।
अल्बानिजी पदमा हुँदा विवाह गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री हुन्। प्रधानमन्त्रीको आधिकारिक निवासमै विवाह गर्ने उनी पहिलो व्यक्ति पनि भएका छन्। विवाह लगत्तै उनीहरू दुवैले एउटा संयुक्त वक्तव्यमा भनेका छन्, ‘हामी हाम्रो परिवार र सबैभन्दा नजिकका साथीहरूको उपस्थितिमा
भविष्य जीवन एकसाथ बिताउने वाचा सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छौं।’ प्रधानमन्त्री अल्बानिजीले यसअघि नै वैवाहिक कार्यक्रम ‘धेरै निजी’ हुने र कुनै पनि विश्व नेताहरू उपस्थित नहुने बताएका थिए। तर, समारोहमा केही उच्चस्तरीय राजनीतिक व्यक्तिहरू सँगै मन्त्रीहरू उपस्थिति थिए। विवाह खर्च निजी रूपमा आफैंले व्यहोर्ने निर्णय गरेका छन्।
समारोेहमा उनले आफ्ना आमाबुबालाई साथै लगेका थिए। नवविवाहित दम्पती सोमबारदेखि शुक्रबारसम्म अस्ट्रेलियाभित्रै छोटोहनिमुनमा जाने कार्यक्रम छ।
अल्बानिजी र हेडन २०१९ मा एक व्यापारिक भोजमा भेटिएका थिए र साउथ सिड्नी र्याबिटोसप्रतिको समान प्रेमले उनीहरू नजिकिएका थिए। हेडनले २०२२ र २०२५ को संघीय चुनाव अभियानमा अल्बानिजीसँगै यात्रा गरेकी थिइन्। अल्बानिजीले २०२४ को भ्यालेन्टाइन डेमा विवाह प्रस्ताव गरेका थिए। उनी पदमा रहँदै विवाह प्रस्ताव गर्ने पहिलो अस्ट्रेलियाली प्रधानमन्त्री बनेका छन्।
उच्च सुरक्षा सतर्कताका कारण विवाहका योजनाहरू गोप्य राखिएको थियो। तर, पनि केही महिनाअघि नै अल्बानिजीले विवाह ‘सानो र व्यक्तिगत’ हुने बताएका थिए। ‘यो म र जोडीबीचको व्यक्तिगत कुरा हो’ उनले भनेका थिए।
उनको विवाह निजी र सानो समारोहमा भएकाले परिवारका सदस्य र निकट मित्र मात्रै सहभागी थिए। विवाहमा हेडनले सिड्नीको फेसन डिजाइनर ब्रान्ड रोमान्स वाज बोर्नको पोसाक लगाएकी थिइन्, र अल्बानीजीले सुटका लागि ब्रान्ड एमजे बाले रोजेका थिए। विवाहमा हेडनकी ५ वर्षीय भतिजी एला फूल–बालिका बनेकी थिइन्।
प्रतिक्रिया दिनुहोस !