अस्ट्रेलियाका प्रधानमन्त्रीको जोडी, कसरी कसियो प्रेमको डोरी ?

अस्ट्रेलियाका प्रधानमन्त्रीको जोडी, कसरी कसियो प्रेमको डोरी ?

अस्ट्रेलिया : प्रेमिका जोडी हेडनसँग औपचारिक रूपमा वैवाहिक बन्धनमा बाँधिएको केही क्षणमै, ६२ वर्षीय अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज मायाका शब्दहरूले भरिएको एक गहिरो भावनात्मक सन्देश लिएर फेसबुकमा प्रकट भए।

उनले लेखे, ‘आइ लभ यु जोडी।’ यो छोटो वाक्य भए पनि त्यसमा महासागरसरि व्यापक भावना समेटिएको थियो। जीवन साथीप्रतिको कृतज्ञता, प्रेम र प्रतिज्ञाले ढाकिएको मनको स्पन्दन जस्तै भनेर धेरैले सकारात्मक टिप्पणी गरेका छन्। कतिपयले त आलोचना पनि गरेका छन्।

तर, आलोचनाभन्दा एन्थोनी र जोडीको प्रेम विवाहप्रति समर्थन गर्नेहरू धेरै छन्। ‘यो विशेष खबर सुन्दा र धेरै मानिसहरू खुसी भएको देख्दा म पनि निकै प्रसन्न छु’ विवाहको समर्थन गर्दै एन्जी सिम्सले प्रधानमन्त्रीको वालमा प्रतिक्रिया लेखेकी छिन्, ‘केही टिप्पणी भने बेवास्ता गर्ने, अपमानजनक वा दुष्ट भावले लेखिएका पनि देखिन्छन्।’

एन्जीले कसैको खुसीमा पहिलो प्रतिक्रिया नै नकारात्मकता वा उपहास हुने हो भने त्यसले हाम्रो समुदायको अवस्थाबारे के देखाउँछ ? भन्दै आलोचना गर्नेहरूलाई प्रश्न गर्छिन्। उनी भन्छिन्, ‘हामी सबैले एकै व्यक्तिलाई मन पराउनैपर्छ भन्ने छैन। सबै कुरामा सहमत हुनैपर्छ भन्ने पनि होइन। तर, हामी दया गर्न र सम्मान गर्न सक्छौं। असहमत हुँदा पनि, निराश हुँदा पनि। किनकि अरूलाई तल झार्ने कामले प्रगति हुँदैन। त्यसले नकारात्मकता मात्र फैलाउँछ।’

विवाहको समर्थन गर्नेहरूले सबैलाई खुसीको अधिकार भएकाले नराम्रा र निन्दात्मक टिप्पणी गरेर आनन्द लिनुको साटो उनीहरूलाई खुसीसाथ बस्न दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
अल्बानिज र करिब ४६ वर्षीया हेडनको करिब पाँच वर्षअघि मेलबर्नको एउटा सार्वजनिक कार्यक्रममा भेट भएको थियो। त्यही पहिलो भेट नै बिस्तारै गहिरो प्रेममा परिणत भएको थियो।

सन् २०२४ को ‘भ्यालेन्टाइन डे’ का दिन राजधानी क्यान्बेरा स्थित द लजको बाल्कनीमा आयोजना गरिएको एउटा रात्रि डिनरमा अल्बानिजले हेडनलाई विवाहको प्रस्ताव गरेका थिए। उनले प्रस्ताव गर्दा लगाइदिने विशेष डिजाइन गरिएको एउटा औंठीसमेत बनाएका थिए।

हुन त अल्बानिजको यो दोस्रो विवाह हो। पहिलो वैवाहिक सम्बन्ध न्यु साउथ वेल्सकी पूर्वउपमुख्यमन्त्री कार्मेल टेब्बटसँग गाँसिएको थियो। उनीहरूले करिब २० वर्ष वैवाहिक जीवन बिताएका थिए। तर, सन् २०१९ मा सम्बन्ध अन्त्य भएको थियो।
करिब पाँच वर्ष एक्लै बिताएका प्रधानमन्त्रीको हेडनसँग माया बस्न पुगेको हो। हेडन न्यु साउथ वेल्सको पब्लिक सर्भिस एसोसिएसनमाकाम गर्छिन्।

दुवै जनाको भेटको अझै रमाइलो प्रसंग पनि छ। सन् २०१९ मा मेलबर्नको कार्यक्रममा अल्बानिज बोल्दै गर्दा हेडन टाढाबाट चिच्याउँदै थिइन्। उनले राजनीतिमा खरायो झै तीव्र गतिमा दौडिन सक्ने व्यक्तिका रूपमा चित्रण गरेर भन्दै थिइन्, ‘¥याबिटोहस, अगाडि बढ। हामी साथमा छौं  !’ त्यसपछि मात्रै उनले आफूलाई परिचय गराएकी थिइन्। केही समयपछि हेडनले सामाजिक सञ्जालमार्फत अल्बानिजलाई सिधै सन्देश पठाएको खुलासा गरेकी छिन्। ‘मैले उनको (एमडी) सिधै म्यासेजमा गएर लेखें ‘हाई वीआर वोथ सिंगल..।’ अन्ततः यिनै चार शब्दले उनीहरूको प्रेमसम्बन्ध सुरु गरिदियो।

शनिबार दिउँसो क्यानबेरास्थित विवाह समारोहमा प्रधानमन्त्री अल्बानिजका छोरा नाथन, हेडनका बुबा–आमा बिल र पाउलिन पनि थिए। छोराले पनि बुवाको विवाहप्रति पूर्णरूपमा समर्थन र सहमति जनाएका छन्।
‘हामी हाम्रो परिवार र नजिकका साथीहरूको अगाडि भविष्यको जीवनसँगै बिताउने प्रेम र प्रतिबद्धता साझा गर्न पाउँदा पूर्णरूपमा खुसी छौं’, नवदम्पतीले एक विज्ञप्तिमा भनेका छन्।

विवाह न्यु साउथ वयल्स सेन्ट्रल कोस्टका सेलिब्रेन्टले गराएका थिए। दुवैले आफ्ना प्रतिबद्धता आफैं लेखे। लगत्तै विवाह प्रमाणपत्रमा हस्ताक्षर गर्नुका साथै सेलिब्रेन्ट अर्थात् विवाह अधिकृतको अगाडि विवाह दर्ता गराए। विवाह तामझामबिनाको अति नै सामान्य थियो। जोडीलाई पाउँदा प्रधानमन्त्रीले आफूलाई निकै भाग्यशाली ठानेका छन्। ‘म एकदम भाग्यमानी छु। किनकि जीवनको यस चरणमा जोडीलाई भेटें। जससँग म जीवनको बाँकी समय बिताउन चाहन्छु’ एन्थोनीले भनेका छन्। अहिले उनको विवाहको सर्वत्र चर्चा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.