उम्मेदवारी घोषणा हुन थालेपछि रास्वपाले भन्यो : आधिकारिक निर्णय नभई उम्मेदवारको दाबी र प्रचार नगर्नू
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेता-कार्यकर्तालाई पार्टीले आधिकारिक घोषणा नगर्न चेतावनी दिएको छ। पार्टीका विभिन्न तहका कतिपयले नेता–कार्यकर्ताले आफूखुसी उमेदवारी घोषणा थालेपछि नगर्न सचेत गराइएको हो ।
रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा घोषणा भएकाले अन्य क्षेत्रमा टुंगो लाग्न बाँकी रहेको उम्मेदवार छनोट समितिले जनाएको छ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा आफू उम्मेदवार हुने, उम्मेदवारको आकांक्षी रहेको, उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका अभिव्यक्ति सार्वजनिक रूपमा दिइएको विषयमा उम्मेदवार छनोट समितिको ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको छ। सोही प्रक्रिया अनुरूप रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको छ। यसबाहेक अन्य कुनै पनि प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो लागेको छैन भन्ने व्यहोरा सम्बन्धित सबैमा यसैमार्फत स्पष्ट गरिन्छ।’
पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक वक्तव्य, प्रचार–प्रसार नगर्न–नगराउन रास्वपाले निर्देशन दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक निर्णय नभइसकेको अवस्थामा कुनै पनि निर्वाचन क्षेत्रको उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूमा हार्दिक अनुरोध गर्दछौं। उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी पार्टी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गर्दछौं।’
प्रतिक्रिया दिनुहोस !