भैरहवा : भारतको सोनौलीबाट दिल्ली जाँदै गरेको बसको उत्तरप्रदेशको बलरामपुरस्थित फुलवरिया बाइपासमा दुर्घटना भएको हुँदा तीन जनाको मृत्यु भएको छ। २४ जना घाइते भएका छन्।
बसमा अधिकांश नेपाली यात्रुहरू सवार थिए। भारतीय प्रहरीका अनुसार यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डिटी ५२३७ नम्बर ट्रक एकआपसमा ठोक्किएपश्चात यात्रुवाहक बस हाइटेन्सन तार रहेको बिजुलीको पोलमा ठोकिन पुग्दा बसमा आगो लागेको थियो।
भारतको बलरामपुरका एसपी विकास कुमारले ६ जना गम्भीर घाइतेको मेमोरियल अस्पताल, मेडिकल कलेज बहराइच र मेडिकल कलेज लखनउमा उपचार भइरहेको अन्नपूर्ण पोस्टलाई बताए।
उनका अनुसार मृतक तीन जनामध्ये एक जना गुल्मी जिल्लाको ६० वर्षीया महिलाको सनाखत भएको छ भने अन्य दुई जनाको सनाखत भएको छैन। बसमा सवार यात्रुहरूका अनुसार बुटवलबाट बसमा चढेका यात्रुहरुलाई भारतीय सीमानाका सोनौली पुराइएको र त्यहाँबाट अर्को बसमा बसालिएको थियो। कामका लागि गुडगाँव जानका लागि बसमा सवार एक यात्रुले बस दुर्घटनापश्चात झ्यालको सिसा फोडेर आफू बसबाट निस्किएको बताए।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको भारतीय प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !