काठमाडौं : नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको प्लेअफ खेल्ने चार टिमको टुंगो लागेको छ। प्लेअफमा सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले स्थान बनाएको हो।
तीन नयाँ उपाधि दाबेदार रहेको दोस्रो संस्करणको नेपाल प्रिमियर लिगले नयाँ च्याम्पियन पाउनेछ। गत संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिँदा गत संस्करणको उपविजेता सुदूरपश्चिमसँग तीन नयाँ टोलीले उपाधि दाबेदारी गर्ने भएका छन्।
पहिलो संस्करणमा फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधिबाट चुकेको सुदूरपश्चिमले पनि दोस्रो संस्करणमा पुनः उपाधिमा आफ्नो दाबेदारी दिनेछ।
लुम्बिनी लायन्सले पहिलो पटक प्लेअफमा स्थान बनाएको हो। त्यस्तै विराटनगर किंग्स पनि पहिलो संस्करणमा प्लेअफ समीकरणबाट बाहिर रहेको थियो। काठमाडौँ गोर्खाज पनि प्लेअफमा नयाँ टोली हो। सुदूरपश्चिम रोयल्स भने पहिलो सिजनमा पनि लिग चरणको खेल सकिँदा तालिकाको शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो।
पोखरा एभेन्जर्सले हालसम्म प्लेअफमा स्थान बनाउन सकेको छैन। पछिल्लो संस्करणमा प्लेअफमा स्थान बनाएका चितवन, कर्णाली र जनकपुर बाहिरिँदा काठमान्डु, विराटनगर र लुम्बिनीले यसपटक शीर्ष ४ मा आफ्नो स्थान बनाएका हुन्।
पहिलो संस्करणको उपाधि विजेता रहेको जनकपुर बोल्ट अंक तालिकाको पुछारमा रहेको छ। ६ खेलमा एक मात्रै जित निकालेको जनकपुरले साविक विजेताको साख गुमायो। शीर्ष ४ भित्र अटाएको कर्णाली याक्स सातौं स्थानमा रहेको छ। पुछारमा रहेका यी दुई टोलीले यस सिजनमा लिग चरणको अन्तिम खेलमा भेट गर्नेछन्। यसमा यी दुईको प्रतिष्ठाको लडाई हुनेछ ।
तीन नयाँ उपाधि दाबेदार
एनपीएल सिजन २ मा शनिबारको पहिलो खेलपश्चात पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयलसँग विराटनगर र काठमाडौंमध्ये कसले खेल्ने भन्ने टुङ्गो लाग्नेछ। शनिबारको पहिलो खेल सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच हुनेछ। यी दुईको खेलपश्चात सुदूरपश्चिमले जितेमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायर्स खेल्नेछन् भने विराटनगर किंग्सले जितेको खण्डमा काठमाडौँ र विराटनगरको रनरेटका आधारमा पहिलो क्वालिफायर्स खेल्ने एक टोलीको टुंगो लाग्नेछ। त्यसपछि भने लुम्बिनी लायन्ससँग कुन टोलीले एलिमिनेटरमा खेल्नेछ भन्ने पनि आजै टुङ्गो लाग्नेछ।
अंक तालिकामा सुदूरपश्चिम रोयल्स १२ अंकसहित अंक तालिकाको शीर्षमा रहेको छ। यसैगरी काठमाडौँ गोरखाज १० अंकसहित दोस्रो, विराटनगर किङ्सले आठ अंक जोडेर तेस्रो र लुम्बिनी लायन्स समान आठ अंकसहित चौथो स्थानमा रहेको छ। नेट रन रेटको आधारमा विराटनगरभन्दा कमजोर हुँदा लुम्बिनी चौथो स्थानमा रहेको हो।
शुक्रबार जनकपुर बोल्ड्स लुम्बिनी लायन्ससँग ४ विकेटले पराजित हुँदा बाँकी चार टोलीको प्लेअफ सम्भावना सकिएको हो।
चार टोलीको सकिएको चुनौती
शुक्रबार भएको जनकपुर बोल्टस् र लुम्बिनी लायन्स बीचको खेलको नतिजा सबैभन्दा महत्त्वपूर्ण चितवन राइनोज र पोखरा एभेन्जर्सको लागि थियो। पछिल्लो खेलहरूमा लगातार जित निकालिरहेको पोखराको लागि एक खेलमा जित निकाल्दा छ अंक हुन्थ्यो। यदि जनकपुरले लुम्बिनीलाई हराएको खण्डमा पोखरा र चितवन दुवैले प्लेअफमा पुग्ने सम्भावना रहन्थ्यो।
जनकपुर लुम्बिनी लायनसँग पराजित हुँदा पोखरा र चितवनको पनि प्लेअफ सम्भावना सकियो। कर्णाली याक्स २०२५ को संस्करण भुल्न चाहन्छ। ६ खेलमा एकमात्र जित निकाल्न सकेको कर्णाली याक्स नेपाल प्रिमियर लिग २०२५ को उपाधि दाबेदारीबाट बाहिरिने पहिलो टिम थियो। जनकपुर बोल्ड्सले पहिलो संस्करणको उपाधि छवि जोगाउन सकेन । पोखरा एभन्जर्स पछिल्लो समय लुम्बिनी जनकपुर बोल्ट्ससँग हारेको खण्डमा पोखराको पनि सम्भावना जीवितै थियो।
तर यी चारै टोलीको उपाधि चुनौती सकिएको छ। अब अन्तिम खेलमा पोखराले चितवन राइनोजसँग शनिबार खेल्दैछ। दुवै टोलीको २०२५ को एनपीएलको यो अन्तिम खेल हुनेछ। जनकपुर बोल्ड्स र कर्णाली याक्सले आफ्नो अन्तिम खेल आइतबार खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस !