यो हिउँद पनि सुक्खा, तर न्यानो हुने

यो हिउँद पनि सुक्खा, तर न्यानो हुने
ललितपुरस्थित च्यासलको पाटीमा न्यानो घामको आनन्द लिँदै ज्येष्ठ नागरिक । हिउँद सुरु भएसँगै बाहिर घाम ताप्ने क्रम बढेको छ । तस्बिर : सुनिता डंगोल

काठमाडौं : यस वर्षको हिउँद पनि पोहोरझैं सुक्खा हुने आकलन गरिएको छ । तीन वर्षदेखि हिउँदमा कम पानी पर्ने तथा कम जाडो हुने क्रम दोहोरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले गत साता सार्वजनिक गरेको ‘सिजनल आउटलुक’मा यो वर्ष पनि न्यूनतम तथा अधिकतम तापक्रम बढी हुने देखिएकाले अलि न्यानो हुन सक्ने आकलन गरिएको हो । विभागका अनुसार यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलन, थर्डपोल क्लाइमेट फोरम, दक्षिण एसियाको सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तय गरिएको हो ।

त्यसैगरी, नेपालको हिउँद अवधिको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र हिन्द महासागरबाट विकसित हुने चापको हालका अवस्थालाई मध्यनजर गरी तयार गरिएको विभागले जानकारी दिएको छ । आगामी हिउँदभरि नै (हिउँदमा नेपालमा सुक्खा गराउने प्रणाली) लानिनाको अवस्था नै रहनुका साथै प्रि—मनसुनको सुरुवातसँगै तटस्थ हुने विश्वव्यापी प्रारूपको 

आकलन छ । 
 विभागले गत वर्ष पनि देशभर सरदरभन्दा कम वर्षा हुने र अधिकतम र न्यूनतम तापक्रम बढी हुने आकलन गरेको थियो । सोहीअनुसार देशको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भयो । साथै अधिकतम तथा न्यूनतम तापक्रम बढी मापन गरिएको थियो । 

यस वर्ष पनि देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने अनुमान छ । साथै अधिकांश ठाउँमा सरदरभन्दा धेरै अधिकतम र न्यूनतम तापक्रम हुने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अशोक बख्रेलका अनुसार यस वर्ष जाडो कम हुने र पानी कम हुने हुँदा सुक्खा बढ्नेछ । तीन वर्षदेखि लगातार सरदरभन्दा कम पानी पर्ने र अलि न्यानो हुने क्रम दोहोरिएको छ । 

पछिल्लो समय हिउँदे वर्षा घट्दै गएको तथ्यांकहरूले स्पष्ट पार्छ । गत वर्षको हिउँदमा पनि सरदरभन्दा ७९ प्रतिशत कम पानी परेको थियो । 
सुक्खा वर्षहरू सन् १९८१ देखि २००० सम्ममा भन्दा सन् २००० देखि २०२४ सम्ममा बढी दोहोरिएका छन् । यसले हिउँदे वर्षा घटेको टे«न्ड देखाएको छ । सन् २०२३, २०२१, २०१८, २०१७, २०१६, २०१४, २०१२, २०११, २००९, २००८, २००६, २००१ लगायतका वर्ष पनि धेरै पानी परेको छैन । पहिला हिउँदमा अलि लामो समयमा वर्षा नहुने भए पनि आजकल छोटो अन्तरालमा सुक्खा हुन थालेको विभागको रेकर्डले देखाउँछ । 

नेपाल मात्रै नभएर अफगानिस्तान, बंगलादेश, भारत, माल्दिभ्स, पाकिस्तानलगायतका देशका केही स्थानमा समेत सामान्यभन्दा कम वर्षा र तापक्रम सामान्यभन्दा बढी हुने देखिएको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार पोहोरको तुलनामा यो वर्ष केही मात्रामा चिसो छ । तर लगातार पाँच, छ वर्षको हिउँदको अवधि हेर्दा सन् २०२२ मा मात्रै वर्षा भएको छ । 

समग्रमा तापक्रम बढेको हेर्दा यसलाई जलवायु परिवर्तनको असर मान्न सकिन्छ । तर ठाउँअनुसार तापक्रम फरक छ । तीन वर्षलाई मात्रै हेरेर भन्न नमिल्ने उनले बताए । पोखरेलले भने, ‘तर सन् २००० पछि नै २०१९ र २०२० मा एकदमै धेरै वर्षा भएको थियो । तर अन्य वर्षहरूमा लगातार केही वर्ष पानी नपर्ने हुँदा सुक्खाको अवस्था बढेको देखिएको हो ।’ 

पोखरेलका अनुसार नेपालमा हिउँदमा सुक्खा बनाउनुमा लानिनाले प्रमुख भूमिका छ तर यसको मात्रै प्रभावले यस्तो भएको होइन । लानिनाले नेपालमा हिउँदे समयमा सुक्खा राख्छ तर गर्मीमा यसले धेरै पानी पार्छ । 

विभागकी प्रवक्ता विभूति पोखरेलले वर्षा कम हुनु, न्यूनतम र अधिकतम बढ्दै जाने घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्न मिल्न सकिने बताइन् । ‘लामो समय वर्षा नहुने, प्रि—मनसुनमा पनि कम वर्षा हुने हुँदा यसको असर कृषिमा परेको छ । लामो खडेरी बढेकाले कृषि र अन्य सबै ठाउँमा असर पर्छ । हिमपात हुँदा कृषिमा राम्रो हुन्थ्यो’, उनले भनिन् । ‘अहिले पनि चिसो त छ तर पहिलापहिला हुने जस्तो छैन । न्यूनतम तापक्रम पहिला ह्वात्तै घट्ने हुन्थ्यो तर आजकल माथिमाथि नै देखिएको छ । अधिकतम तापक्रम पनि बढदै जाने देखिएको छ । न्यूनतम र अधिकतम तापक्रम बढनु भनेकै तातो हुने हो’, पोखरेलले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.