प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता होइन : श्रेष्ठ
गोरखा : नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनर्स्थापना अहिलेको आवश्यकता नभएको बताएका छन्। बिहीबार गोरखामा आयोजित एकता सभामा बोल्दै श्रेष्ठले घोषित मितिमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताए।
‘प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्छ भनेर अहिले सर्वोच्च अदालतमा मुद्दा परेको छ। अदालतले पुनर्स्थापना गर्छ कि के गर्छ, त्यो अदालतको कुरा हो, हाम्रो कुरा होइन’, श्रेष्ठले भने, ‘अदालतले पुनर्स्थापित गरेछ भने पनि हाम्रो नारा के हो भने त्यो पुनर्स्थापित संसद केही समयका लागि मात्र हुनुपर्छ। नियमित संसद चलाएर नियमित सरकार चलायो भने देश भयङ्कर ठूलो द्वन्द्वमा फस्छ, ठूलो संकटको भुमरीमा फस्छ। यदि संसद पुनर्स्थापना भइहाल्यो भने त्यो थोरै समयका लागि, बन्ने अल्पकालीन सरकारलाई संवैधानिकता प्रदान गर्नका निम्ति, संविधान संशोधनको गृहकार्यका निम्ति हुनुपर्छ भन्नेमा हामी प्रस्ट हुनुपर्छ।’
सभामा बोल्दै उनले जेनजीहरुको माग जायज रहेको भन्दै घोषित निर्वाचन सफल बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। वैदेशिक शक्ति, साम्राज्यवाद शक्तिहरु आफ्नो रणनीतिक स्वार्थ पूर्तिका निम्ति विभिन्न चालहरू चालिरहेको आरोप लगाउँदै उनले भूराजनीतिको सबैभन्दा ठूलो प्रभाव विश्वमै नेपालले सामना गरिरहेको तर्क उनले गरे।
‘भूराजनीतिक शक्तिहरूले नेपालको राजनीतिक प्रणालीका विरुद्ध, राजनीतिक पार्टीहरूका विरुद्ध, नेताहरूका विरुद्ध अभियान छेड्ने, वितृष्णा पैदा गर्ने परिस्थिति देखा परेको छ’, उनले भने, ‘राष्ट्रियता माथि आएको खतरा, संविधानमाथि, लोकतन्त्रमाथि आएको खतराप्रति सधैं हामी सचेत र सतर्क रहनुपर्छ।’ जेनजीको सरकारलाई सहयोग गर्नु, घोषित मितिमा निर्वाचन गर्न सहयोग गर्नु अहिलेको कार्यभार रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !