मोटरसाइकलमा गाँजा तस्करी गर्ने दुई जना पक्राउ
सुनसरी : धनकुटाको सागुरीगढीबाट भारततर्फ गाँजा तस्करी गरि लैजाँदै गरेको अवस्थामा दुई जनालाई सुनसरी प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ। बिहीबार बेलुका इटहरी उपमहानगरपालिका–१३ छोटी पुल छेउको भित्री सडकबाट उनीहरूलाई गाँजासहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले बताए।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–५ का ६५ वर्षीय ज्येष्ठ नागरिक भिम लिम्बू र ३० वर्षीय ख्याम लिम्बू रहेका छन्। उनीहरू दुई जनाले छुट्टाछुट्टै मोटरसाइकलमा १०–१० केजी गरी जम्मा २० केजी गाँजा बोकेर धनकुटाबाट भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ। गाँजा तस्करी गर्न भिम लिम्बूले प्रयोग गरेको प्र १–०२०५६ प ५३२५ नम्बरको मोटरसाइकल र ख्याम लिम्बूले प्रयोग गरेको को २५ प १४३७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
प्रहरी चौकी खनारका प्रहरी नायब निरीक्षक प्रलाद बोगटीको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दै जाँदा गाँजा तस्करीमा संलग्न दुवै जनालाई पक्राउ गरेको थियो। एसपी थेबेले पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको बताए।
उनले अवैध लागुऔषध गाँजा तस्करी नियन्त्रणका लागि प्रहरीले कडाइका साथ निगरानी र कारबाही सञ्चालन गरिरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !