पत्नी हत्याका अभियुक्त ८ वर्षपछि पक्राउ
विराटनगर : पत्नीको हत्या गरेर ८ वर्षदेखि फरार रहेका एक जना अभियुक्तलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको छ। भोजपुरको भोजपुर नगरपालिका–६ देउराली घर भएका ६३ वर्षीय नारदमणि राई पक्राउ परेका हुन्। भोजपुर प्रहरीका निमित्त प्रमुख एवं प्रवक्ता इन्स्पेक्टर महेन्द्र पराजुलीले २०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ (राई)को हत्या गरेर नारदमणि फरार भएको जानकारी दिए। भोजपुरमा घरभित्रै सुतिरहेका बेला कुटपिट गरेर बिहानका राति १ बजेतिर पत्नीको हत्या गरेपछि उनी भागेर मोरङ झरेको पाइएको छ।
इन्स्पेक्टर पराजुलीका अनुसार तत्काल घटनास्थलबाट फरार भएका नारदमणि लामो समयदेखि खोजी जारी राख्दा पनि पक्राउ परेका थिएनन्। प्रहरीको खोजी सूचीमा रहेका उनलाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ बाट बिहीबार पक्राउ गरी अड्डासार गरेर भोजपुर पुर्याएको छ। नारदमणि बेलबारी–३ का छत्रबहादुर गुरुङको घरमा डेरा गरेर बस्दै आएको पत्ता लागेको छ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको संयुक्त टोलीले उनलाई डेरानजिकैबाट पक्राउ गरेको हो। पत्नी हत्याका अभियुक्त लुकिछिपी बसिरहेको सूचना प्राप्त हुनसाथ निगरानीका लागि इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीले असई रामकुमार बम्जनको नेतृत्वमा विशेष टोली परिचालन गरेका थिए।
भोजपुरबाट सहायक हवल्दार प्रवीण राईको टोली आएलगत्तै बेलबारी प्रहरीको सहयोगमा पक्राउ गरेर नारदमणिलाई भोजपुर लगिएको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा रहेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाउने तयारी गरिएको भोजपुर प्रहरीका इन्स्पेक्टर पराजुलीले बताए।
उनका अनुसार घरयासी विवादमा नारदमणिले पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनासँग सम्बन्धित अन्य विषय विस्तृत अनुसन्धानपछि प्रष्ट हुने पराजुलीको भनाइ छ। ८ वर्षअघि भएको एउटा घरेलु अपराध लामो समयसम्म न्याय प्रक्रियाबाट टाढा रहे पनि प्रहरी सक्रियताका कारण अभियुक्त पक्राउ परेको इन्स्पेक्टर पराजुलीले दिए।
प्रतिक्रिया दिनुहोस !