थुनामुक्तका लागि रुपन्देही जाँदै रवि लामिछाने, विमानस्थल पुर्याइयो
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रियाका लागि शुक्रबार रुपन्देही जाँदै छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सशर्त धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी रुपन्देही जान लागेका हुन्।
रिहाइ प्रक्रियाका लागि नख्खु कारागारबाट उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ। केहीबेरमा उनी विमानमार्फत भैरहवा प्रस्थान गर्नेछन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी कागजात लिएर धरौटी बुझाएपछि उनी थुनामुक्त हुनेछन्।
जिल्ला अदालत रुपन्देहीले थुनछेकका क्रममा माग गरेको १ करोड रुपैयाँ धरौटी, साथै लामिछानेले पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत र आवश्यक कागजात बुझाएपछि थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो।
यसअघि लामिछानेले आफ्नो भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले बिगो बमोजिमको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेकै पक्षमा आदेश दिएपछि थुनामुक्त हुने भएका हुन्।
प्रतिक्रिया दिनुहोस !