सुलभ स्वास्थ्यमा सहकार्य
डा. पवनजंग रायमाझी । स्वास्थ्यमा सर्वव्यापी पहुँच भनेको सबै समुदायका मानिसले आर्थिक कठिनाइबिना गुणस्तरीय स्वास्थ्य सेवाहरूमा पहुँच पाउनु हो । यसले स्वास्थ्य प्रवर्द्धनदेखि रोकथाम, उपचार, पुनस्र्थापना र जीवनको उत्तराद्र्धमा चाहिने हेरचाहसम्मलाई समेट्छ । र, यो सुदृढ प्राथमिक स्वास्थ्य सेवा प्रणालीमा आधारित हुन्छ । स्वास्थ्यमा सर्वव्यापी पहुँचले मानिसलाई गरिबीको रेखाबाट माथि उठ्न मद्दत गर्दछ, पारिवारिक तथा सामुदायिक स्वास्थ्यको स्तरोन्नति हुन्छ । जनस्वास्थ्य संकटहरूको जोखिम कम हुन्छ र सबैले सहजै स्वास्थ्य सेवा पाउने स्थिति निर्माण हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको संविधान, जनस्वास्थ्य सेवा ऐन, जनस्वास्थ्य नियमावली, राष्ट्रिय स्वास्थ्य नीति तथा कार्यक्रमहरूमार्फत नागरिकको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, आकस्मिक उपचार सेवा सबैलाई उपलब्ध हुने र गुणस्तरीय उपचार सेवा पाउने मौलिक हकलाई सुनिश्चित गर्न वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संघीय संरचनापश्चात् सामाजिक, आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरिएको छ । जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिन्छ । सेवाविहीन जनसंख्यामा समतामूलक सेवा उपभोगको वातावरण निर्माण गर्ने, सेवा प्रवाहलाई सुदृढ गर्ने र त्यस्ता समुदायबाट स्वास्थ्य सेवाको माग बढाउने परिकल्पना गरेको छ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको सिद्धान्तमा आधारित भई नेपालले स्थानीय तहका सबै वडाहरूमा आधारभूत स्वास्थ्य सेवा केन्द्र, सबै स्थानीय तहमा आधारभूत सेवा उपलब्ध गराउने अस्पताल, सातवटै प्रदेशमा विशेषज्ञ सेवा प्रदान गर्ने आधुनिक अस्पताल, ७७ वटै जिल्लामा प्रभावकारी रूपमा स्वास्थ्य बिमा कार्यक्रमको विस्तार, विपन्न नागरिकका लागि जटिल प्रकृतिका नसर्ने रोगहरूको उपचार कार्यक्रमलगायत विशेषज्ञ एवं विशिष्टीकृत सेवाहरूको विकास र विस्तार गर्दै आएको छ । यसका साथै सेवा नपुगेका दूरदराजमा टेलिमेडिसिनजस्ता प्रविधिमार्फत स्वास्थ्य सेवाहरू उपलब्ध गराउने कार्यक्रमहरू पनि सञ्चालनमा छन् ।
बहुपक्षीय सहकार्यमार्फत आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने, स्वास्थ्य सेवा प्रदायकहरूको कार्यसम्पादन प्रभावकारी बनाउने, स्वास्थ्य संस्थाहरूको समयानुकूल क्षमता अभिवृद्धि गर्ने, विशेषज्ञ एवं विशिष्टिकृत सेवा विकास तथा विस्तार गर्ने, नागरिकको आवश्यकता र क्षमतालाई आधार मानी स्वास्थ्य बिमा कार्यक्रमलाई परिमार्जन गर्ने लगायतका नीति कार्यक्रम प्राथमिकतामा छन् । नेपालको स्वास्थ्य क्षेत्रमा व्याप्त असमानताहरूको सम्बोधन गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने दिशामा काम गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मार्गचित्र तयार गरी सोहीअनुसारका रणनीतिक कार्ययोजना सञ्चालन गर्दै जानेछ । अन्त्यमा, स्वास्थ्यमा सर्वव्यापी पहुँच प्राप्तिको अभियानमा सहकार्य गर्न देशका नीतिनियम निर्माता, व्यवस्थापक, कार्यक्रम सञ्चालक आदि निकायहरूलाई आग्रह गर्दछौं ।
(डा. रायमाझी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक हुन् ।)
प्रतिक्रिया दिनुहोस !