फ्रोजन सोल्डरको पीडा
- निजी अफिसमा कार्यरत ५२ वर्षीय गोपाल भण्डारीलाई फ्रोजन सोल्डरको समस्याले पिरोलेको छ । काँधको दुखाइ सामान्य सम्झेर सुरुमा त बेवास्ता गरे । अहिले ज्याकेट लगाउन, कपाल कोर्न र हात माथि उठाउँदासमेत दुखाइ महसुस हुन्छ । भण्डारी भन्छन्, ‘हात माथि उठाउन र पछाडि लैजान समेत नबन्ने भयो ।’
- मालपोत कार्यालयका कार्यरत एक सरकारी कर्मचारी मोटरसाइकल चलाउँदै अफिस जाने क्रममा भुइँमा लडे । उनलाई हात चलाउनै गाह्रो भइरहेको छ । उनी भन्छन्, ‘ज्याकेट लगाउन, पछाडितिर हात लैजान गाह्रो भएको छ । सबैभन्दा अप्ठ्यारो त शौच गरिसकेपछि स्प्रे चलाउँदै सरसफाइ गर्नसमेत अप्ठेरो भइरहेको छ ।’
ooo
भण्डारी र अर्का सरकारी कर्मचारीलाई भएको समस्या हो– काँध दुखाइ (फ्रोजन सोल्डर) । फ्रोजन सोल्डरलाई चिकित्सकीय भाषामा एड्हेसिभ क्याप्सुलाइटिस भनिन्छ । फ्रोजन सोल्डर सामान्य काँध दुखाइजस्तो लागे पनि बेवास्ता गरियो भने हात नै चलाउन नसक्ने स्तरसम्म पुग्न सक्छ । लामो समय हात नउठ्ने, राति सुत्दा झनै दुख्ने, कपडा लगाउन, उतार्न कठिन हुनेजस्ता लक्षणले कतिपयको दैनिक क्रियाकलाप नै दिक्कलाग्दो भइरहेको छ ।
फ्रोजन सोल्डर हुँदा काँधको जोर्नी (ज्वाइन्ट) वरिपरि रहेको क्याप्सुल बाक्लिँदै जान्छ । र, कडा बन्दै जान्छ । त्यसले हातको गति सीमित हुन पुग्छ । खासगरी माथि उठाउन, पछाडि लैजान र बाहिर फैलाउन पनि अप्ठेरो महसुस हुन्छ । फ्रोजन सोल्डरको तीन चरण हुन्छ । पहिलो चरण (पेनफुल स्टेज) मा दुखाइ महसुस हुन्छ । हात चलाउँदा झन् दुखाइ बढ्छ । निद्रामा समेत बाधा पुर्याउँछ । त्यसपछि दोस्रोचरण (स्टिफ स्टेज) कडापन देखा पर्छ । आफ्नो दैनिकी कामकाज गर्नसमेत अप्ठेरो पर्छ । तेस्रो चरण (रिकभरि स्टेज)मा कडापन विस्तारै कम हुन थाल्छ । हातको चलायमान क्षमता विस्तारै फर्कन थाल्छ ।
फ्रोजन सोल्डरलाई सामान्यतया अस्थायी समस्या मानिन्छ । शारीरिक अभ्यासले समयसँगै काँध फेरि बिस्तारै खुकुलो हुँदै जान्छ । तर, यसले पूरा रूपमा राम्रो हुन केही महिनादेखि केही वर्ष लाग्न सक्छ । तर कतिपय व्यक्तिमा लामो समयसम्म असहज भइरहन पनि सक्छ ।
४० वर्षदेखि ६० वर्षको उमेरसमूहका व्यक्तिमा फ्रोजन सोल्डरको समस्याले बढी पिरोलेको पाइन्छ । फ्रोजन सोल्डर हुँदा कपाल कोर्न, ज्याकेट लगाउन, पाइन्टको पछाडिको पकेटबाट पर्स निकाल्न, लुगा धुन, शौचपछि सरसफाइ गर्न र नुहाउनसमेत अप्ठेरो हुन सक्छ ।
बल र सकेटको ज्वाइन्ट नै काँध हो । हात चलाउँदा टाइट महसुस हुन्छ । त्यसपछि हात माथि उठाउन, ज्याकेट लगाउन वा पछाडि ढाडतिर लैजान पनि सक्ने हुन्छ । दैनिक काम गर्न कठिनाइ हुन्छ । यसका लागि नियमित फिजियोथेरापी गर्दा धेरै लाभ पुग्छ । फिजियोथेरापिस्टको परामर्शमा नियमित स्टेचिङयुक्त कसरत गर्न सकिन्छ । फिजियोथेरापी नगरे निको हुन लामो समय लाग्ने हुन्छ ।
(रञ्जित, वरिष्ठ फिजियोथेरापिस्ट, हेल्पिङ ह्यान्डस सामुदायिक अस्पतालको फिजियोथेरापी विभागका इन्चार्ज हुन् ।
प्रतिक्रिया दिनुहोस !