गाउँका वृद्धवृद्धालाई न्यानो कपडा
नुवाकोट : नुवाकोटको राउतबेंसीमा रहेका वृद्धवृद्धाहरूलाई न्यानो सामग्री वितरण गरिएको छ। दुप्चेश्वर गाउँपालिका-३ राउतबेसीमा शनिबार आयोजित कार्यक्रममा ‘इशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रस्ट’ले ४० जना वृद्धवृद्धालाई जाडोमा न्यानो ज्याकेट प्रदान गरेको हो।
नुवाकोटमा डेढ दशकदेखि शिक्षा, स्वास्थ्य तथा सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको ट्रस्टले गाउँका सबै वृद्धवृद्धाहरुलाई न्यानो कपडा एक/एक थान ज्याकेट हस्तान्तरण गरेको हो।
गाउँका वृद्धवृद्धाहरूलाई न्यानो कपडा वितरणका साथै ट्रस्टका पदाधिकारीहरूले वृद्धवृद्धासँग अन्तरक्रियासमेत गरेका छन्। जाडोमा न्यानोका लागि राउतबेँसीमा रहेका ४० जना वृद्धवृद्धाहरूलाई एकैपटक एक/एक थान न्यानो पोसाक ज्याकेट प्रदान गरिएको ट्रस्टका अध्यक्ष डा. केदानरनरसिंह केसीले जानकारी दिए।
राउतबेँसीमा आयोजित कार्यक्रममा ट्रस्टका संरक्षक तथा पूर्व शिक्षामन्त्री अर्जुननरसिंह केसी, ट्रस्टका महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, ट्रस्टका सहसचिव सरोज केसी लगायतले वृद्धवृद्धाहरूलाई न्यानो पोसाक हस्तान्तरण गरेका हुन्।
प्रतिक्रिया दिनुहोस !