बदर मत बढ्दै, अमूल्य भोटको ‘मूल्य खै ?
काठमाडौं : निर्वाचन लोकतन्त्रको आत्मा हो भने मतदाता त्यसका अक्सिजन हुन्। जनताले आफ्नो मतमार्फत शासनको दिशा तय गर्ने अधिकार प्रयोग गर्छन्। तर, नेपालका प्रत्येक निर्वाचनमा एउटा साझा र गम्भीर समस्या दोहोरिइरहेको छ–ठूलो संख्यामा मत बदर। कतिपय निर्वाचन क्षेत्रमा विजयी र पराजित उम्मेदवारबीचको मतान्तर केही सय मात्रै हुँदा हजारौं मत बदर हुनु सामान्यजस्तै देखिन थालेको छ। यसले केवल उम्मेदवारको हार–जितलाई मात्रै असर गर्दैन, लोकतन्त्रको गुणस्तर, जनविश्वास र राजनीतिक चेतनाको वास्तविक अवस्था उजागर पनि गर्छ। बदर मतको संख्या बढ्दै जाने हो भने लोकतन्त्रमाथि विश्वास निरन्तर घट्ने र प्रहार बढ्दै जाने निर्वाचन विज्ञहरूको भनाइ छ।
बदर मतले लोकतन्त्रमाथि प्रहार बढाउँदै
निर्वाचन आयोगले ०७९ सालको चुनावमा बदर मतको संख्या एक प्रतिशतले घटाउने लक्ष्य लिएको थियो। तर, बदर मत झन् एक प्रतिशतले बढेर गयो। प्रतिनिधिसभा सदस्य निर्वाचन ०७९ मा प्रत्यक्षतर्फ १ करोड १० लाख ४७ हजार ३४ मतदान भएको थियो। त्यसमध्ये गणना गर्दा ६.६ प्रतिशत अर्थात् ५ लाख ७६ हजार मत बदर भए। जबकी ०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खसेको कुल मतको ५.१७ प्रतिशत मत मात्रै बदर भएको थियो।
उक्त निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १ करोड ५ लाख ९४ हजार ४४ मतदाताले गरेका थिए। त्यसमध्ये ५ लाख ४८ हजार ५७० मत बदर भएको थियो। यो तथ्यांकले सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरूबाट सञ्चालन भएको मतदाता शिक्षा प्रभावकारी नभएको पुष्टि गर्छ। अर्कोतर्फ मतदानमा आधुनिक प्रविधि (विद्युतीय मतदान)को प्रयोग गरेर निर्वाचन गराउन नसक्दा लोकतान्त्रिक निर्वाचन प्रणालीको गुणस्तरमाथि प्रश्न उठिरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन्। फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बदर मतको संख्या घटाउन सरकार, निर्वाचन आयोग र राजनीतिक दलले कस्तो मतदाता शिक्षाका कार्यक्रम चलाउँछन् ? बहसको विषय छ। पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले मतदाताको एक मत पनि बदर हुनु लोकतन्त्रमा राम्रो नमानिने बताउँछन्। ‘लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नका लागि मतदान गरिन्छ। मतदानको एक मत पनि बदर हुनुहुँदैन। प्रत्यक्षतिर एक मतले पनि उम्मेदवारको हारजित हुन्छ,’ उनी भन्छन्, ‘यसले निर्वाचित हुनुपर्ने असल उम्मेदवारलाई पनि असर पर्न जान्छ। झन् ४/५ लाख मत बदर हुनु गम्भीर विषय हो।’
मतदानमा तीनवटा कुराले अर्थ राख्छन्, मतपत्र, मतदान (मतपत्रमा छाप लगाउनु) र मतगणना। सबभन्दा बढी अर्थ मतपत्रले नै राख्छ। निर्वाचन आयोगका पूर्वआयुक्त प्रा. डा. वीरेन्द्र मिश्रका अनुसार मतदानको माध्यम मतपत्र हो। तर, दुर्भाग्य मतपत्रले निर्वाचन आयोगको ध्यान आकृष्ट गर्न सकिरहेको छैन। मतपत्रको आकार, संख्या र व्यवस्थापनमा कमजोरी हुँदा बदर मतको संख्यालाई बढाउन सहयोगी भूमिका खोल्दै आएको उनी बताउँछन्।
अमूल्य भोटको मूल्य खोज्दै लोकतन्त्र
विगत ३० वर्षमा भएका आमनिर्वाचनहरूको तथ्यांकले पनि बदर मतको संख्या बढ्दै गएको देखाउँछ। ०४८ सालको आम निर्वाचनमा ४.४ प्रतिशत मत बदर भएको थियो। ०७९ सालको प्रतिनिधिसभा सदस्य चुनावमा त्यो बढेर ६.६ प्रतिशत पुगेको थियो। लाखौंको संख्यामा मत बदर हुँदा पनि सरकार, निर्वाचन आयोग र राजनीतिक दलले गम्भीरता नदेखाएको निर्वाचनका जानकारहरू बताउँछन । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा खसेको मतको ५.१७ प्रतिशत मत बदर भएको थियो।
उक्त निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ १ करोड ५ लाख ९४ हजार ४४ मतदाताले गरेको मतदानमध्ये ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको थियो। त्यसैगरी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि प्रत्यक्षतर्फ खसेको मतमध्ये ४.९६ प्रतिशत मत खेर गयो। प्रत्यक्षतर्फ ९५ लाख १६ हजार ७३४ मतदान भएको थियो। त्यसमध्ये ४ लाख ७१ हजार ८२६ मत बदर भएको थियो। २०७० को दोस्रो संविधानसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ ९७ लाख ७६ हजार ७ सय ३ मत खसेको थियो। जसमध्ये ३ लाख १२ हजार ८४१ (३.२० प्रतिशत) मत बदर भएको थियो।
त्यसैगरी संविधानसभा सदस्य निर्वाचन २०६४ मा प्रत्यक्षतर्फ १ करोड ८ लाख ६६ हजार १ सय ३१ खसेको मत थियो। त्यसमध्य ५ लाख ६० हजार ११ (५.१५ प्रतिशत) मत बदर भएको थियो। त्यसैगरी समानुपातिकतर्फ १ करोड ११ लाख ४६ हजार ५४० मत खसेको थियो। त्यसमध्ये ४ लाख ७ हजार ४६२ (३.३६ प्रतिशत) मत बदर भएर खेर गएको थियो। सैगरी २०४८ को आमनिर्वाचनमा ७२ लाख ९१ हजार ८४ मत खसेको थियो। ३ लाख २० हजार ८०७ (४.४ प्रतिशत) मत बदर अर्थात खेर गएको थियो। ०५१ को मध्यावधि निर्वाचनमा ७६ लाख २५ हजार ३४८ मतदान भएको थियो। त्यो बेला २ लाख ४० हजार ९ सय ६१ (३.१६ प्रतिशत) मत बदर भएको तथ्यांक छ। त्यसैगरी आमनिर्वाच –२०५६ मा ८८ लाख ९४ हजार ५ सय ६६ मत खसेको थियो। त्यसमध्ये २ लाख ४४ हजार ६०० (२.७५ प्रतिशत) मत खेर गएको निर्वाचन आयोगको तथ्यांक छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बदर मत घटाउन आउँदो निर्वाचनमा मतदाता शिक्षालाई प्रभावकारी ढंगबाट संचालन गरिने बताए । भट्टराईले भने, ‘सामाजिक सञ्जाल, सञ्चार माध्यममार्फत र घरदैलोका कार्यक्रमबाट मतदाता शिक्षाका गतिविधि गर्ने तयारी भइरहेको छ।’ राजनीतिक दलहरूले पनि मतदाताहरूलाई मतदान गर्ने प्रक्रियाबारे पर्याप्त कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनी बताउँछन्। पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती मत बदर हुँदा ‘जित्ने उम्मेदवार हार्ने र हार्नु पर्नेहरू जित्यो’ भयो निर्वाचनको गुणस्तरमा प्रश्न उठ्ने बताउँछन्। ‘निर्वाचनले मतदाता र लोकतन्त्रलाई न्याय गर्नुपर्छ,’ उप्रेतीले भने।
मत बदर हुँदा के पर्छ असर ?
मत बदर हुनु सामान्य त्रुटि होइन। यो प्रणाली, राजनीति र चेतनाको संयुक्त कमजोरी हो। यसलाई समयमै सम्बोधन नगर्ने हो भने लोकतन्त्र क्रमशः कमजोर बन्दै जान्छ। बदर मत घटाउनु भनेको जनताको आवाज बलियो बनाउनु हो।
१. जनमत कमजोर हुन्छ
जब ठूलो संख्यामा मत बदर हुन्छ, त्यसले जनताको वास्तविक चाहना संसद् र सरकारमा प्रतिबिम्बित हुँदैन। कम मत पाएको उम्मेदवार पनि निर्वाचित हुन सक्छ।
२.प्रतिनिधित्वमा प्रश्न उठ्छ
धेरै मत बदर भएको निर्वाचनमा निर्वाचित प्रतिनिधिको वैधानिकता र जनआधार कमजोर देखिन्छ। यसले शासनप्रति विश्वास घटाउँछ। लोकतान्त्रिक प्रक्रिया कार्यान्वयनमा बाधा उत्पन्न हुन्छ।
३. लोकतन्त्रप्रति निराशा बढ्छ
बदर मतले ‘भोट हालेर के फाइदा ? ’ भन्ने भावना मतदातामा जन्माउँछ। यसले भविष्यमा मतदान दर घटाउने जोखिम बढाउँछ। लोकतान्त्रिकलाई लोकतान्त्रिककरणमै अबरोध खडा गर्छ।
४. राजनीतिक अस्थिरता बढ्ने खतरा
कम जनसमर्थनमा बनेको सरकार निर्णय गर्न कमजोर हुन्छ। यसले विवाद र अस्थिरता निम्त्याउन सक्छ।
बदर मत घटाउने उपाय
१. प्रभावकारी र निरन्तर मतदाता शिक्षा
विद्यालयदेखि समुदायसम्म व्यावहारिक मतदान अभ्याससहित मतदाता शिक्षा आवश्यक छ। स्थानीय भाषाको प्रयोग अनिवार्य हुनुपर्छ।
२. सरल र प्रयोगमैत्री मतपत्र
मतपत्रको डिजाइन सरल, स्पष्ट र फरक–फरक रंगमा हुनुपर्छ। मिल्दोजुल्दो चिह्न हटाइनुपर्छ।
३. विकल्पको व्यवस्था
कुनै पनि उम्मेदवार मन नपरेमा वैधानिक रूपमा असन्तुष्टि जनाउने विकल्प दिनु आवश्यक छ। यसका लागि मौजुदा निर्वाचन
कानुन संशोधन गर्नुपर्छ।
४. राजनीतिक दलको जिम्मेवारी
दलहरूले मतदाता शिक्षालाई आफ्नो लोकतान्त्रिक कर्तव्यका रूपमा लिनुपर्छ। व्यवस्थित, प्रविधिमैत्री, स्थानीय आवश्यकतालाई बुझेर मतदाता शिक्षामा आफ्ना कार्यकर्ताहरूलाई अभियानकै रूपमा खटाउनुपर्छ।
५. मतदान केन्द्र सुधार र प्रविधि प्रयोग
शान्त, सहज वातावरण, स्पष्ट सूचना र दीर्घकालमा प्रविधिको सुरक्षित प्रयोगले बदर मत घटाउन सक्छ।
विद्युतीय मतदान, एकमात्र विकल्प
फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतपत्रबाटै निर्वाचन गराउने तयारी भइरहेको छ। निर्वाचन आयोगले त्यसका लागि दलहरूलाई चुनाव चिह्न प्रदान गरिरहेको छ। दलहरूले समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन दर्ता भएपछि मतपत्र छपाइको काम सुरु हुने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाए। उनी भन्छन्, ‘यसपालिकाको निर्वाचनका लागि विद्युतीय मतदान सम्भव छैन। हामी मतपत्रबाटै निर्वाचन गराउने तयारी गरिरहेका छौं।’
मतपत्रबाट मतदान गराउने हो भने फेरि खसेका मतमध्ये बदर मतको संख्या नआउने कुरै भएन। विद्युती मतदानमा निर्वाचनलाई लैजानुको विकल्प नरहेको पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव बताउँछन्। ‘लोकतन्त्र लोकतान्त्रिककरण भएको छैन। लोकतन्त्र भनेर मात्रै हुँदैन। लोकतन्त्रको जुन महत्व र मर्म छ त्यो हुनुपर्छ। हाम्रो देशमा चुनावको पनि लामो अभ्यास छ,’ उनी भन्छन्, ‘विश्वको निर्वाचनमा दुई प्रकारले निर्वाचन भइरहेको छ एक मतपत्रको आधार, अर्को मेसिनबाट। मेसिनबाट मतदान गर्दा मत बदर हुँदैन।’ जुनसुकै देशमा, जुनसुकै तह र क्षेत्रको चुनावमा मतपत्रको आधारमा हुने निर्वाचनमा मत बदर हुने गरेको उनी बताउँछन्। आउँदो निर्वाचनका लागि सरकार, निर्वाचन आयोग, दलले मतदाताहरूलाई राम्रोसँग मतदान प्रक्रियाका बारेमा शिक्षा पुर्याए बदर मतको संख्यामा कमी आउने डा. यादव बताउँछन्।
‘मत बदर हुन नदिन, छिटो मतदान गर्न र मत गनाण गर्न विद्युती मेसिनबाट निर्वाचन गराउनुपर्छ। अब त प्राविधिक युग आइसक्यो। मतपत्रको आधारमा कति दिनसम्म चुनाव चलाउने ? ,’ पूर्वप्रमुख निर्वाचन आयुक्त यादव भन्छन्, ‘विद्युती मतदानका लागि नेपाल सरकार अब तयार हुनुपर्छ। निर्वाचन आयोगलाई साधन स्रोत दिनुपर्छ। विद्युतीय मेसिनबाट हामी लोकतान्त्रिक चुनावमा जान्छौं भने राजनीतिक दलहरूले सामुहिक प्रतिबद्धता जनाउनुपर्छ।’ निर्वाचनको मुख्य खेलाडी राजनीतिक दलहरू प्रविधिको विकासलाई बुझ्न जरुरी रहेको उनी सुनाउँछन्।
मत बदर हुने कारण
१. निर्वाचन शिक्षा प्रभावकारी नहुनु
मतदातालाई मतदान गर्ने तरिकाबारे राम्रो जानकारी नभएको खण्डमा बदर मतको संख्या बढ्न सक्ने पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बताउँछन्। ‘भनेको ठाउँमा मतपत्रमा स्वस्तिक छाप लगाउन नसक्नु, एकपटक छाप लगाउनुपर्नेमा पटक–पटक लगाउनु, स्वस्तिक छाप कोठाभित्र नलगाउनु, स्वस्तिक छापको साटो ल्याप्चे लगाउनु जस्ता जस्ता कारणले मत बदर भएको देखिन्छन्,’ उनी भन्छन्।
२. मतपत्रको ढाँचा जटिल हुनु
मतदान प्रक्रियाबारे मतदातामा चेतना कमी हुनु र त्यसमाथि मतपत्रको ढाँचा जटिल भइदिँदा पनि मत बदरको संख्या बढ्दै गएको पूर्वनिर्वाचन आयुक्त प्रा. डा. वीरेन्द्र मिश्र बताउँछन्। २०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मतपत्र ठूलो भएका कारण चुनाव चिह्न खोजेर मतदान गर्न मतदातालाई निकै कठिन भएको थियो।
३. अलमलाउने मतदान प्रक्रिया हुनु
०७९ को प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा चारवटा मतपत्रमा चारपटक स्वस्तिक छाप लगाउनुपर्ने थियो। अनि अलग–अलग बक्समा मत पत्र खसाल्नुपर्ने थियो। सोझासिधा मतदाताहरू चारवटा मतपत्र र धेरै बक्सका कारण अलमलमा परे।
४. गुणस्तरीय मतदान सामग्री नहुनु
मतपत्रको कागज गुणस्तरहीन भएमा, मसिको क्वालिटी कमजोर भएमा र स्वस्तिक छाप कमसल भएमा पनि मत बदर हुने सम्भावना रहन्छ। स्वस्तिक छाप गोलो अनि ब्यालेन्स मिलेको छ भने मतपत्रमा राम्रोसँग मत संकेत हुन्छ। उबरखावर भयो भने राम्रोसँग मत पत्रमा मतसंकेत नहुँदा त्यस्तो मत बदर हुन्छ। पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव भन्छन्, ‘स्टयाम प्याडको क्वालिट राम्रो भएन भने मतपत्रमा मसि लतपतिन्छ। अर्कोतिर कागज पनि राम्रो अनि आकर्षक हुनुपर्छ। अनि मात्रै मत बदर हुँदैन।’ अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतपत्रको क्वालिटी, मतपत्रको डिजाइनले गर्दा बदर मतको संख्या बढ्ने गरेको बताए। ‘स्वस्तिक छाप र मसी राम्रो भएर पुग्दैन। मतपत्रले तुरुन्तै लगाएको स्वस्तिक छापको मसी पनि तुरुन्तै सोस्ने खालको हुनुपर्छ, उप्रेतीले भने।
५. मतलाई व्याख्या गर्ने शैलीको कमी
मतदाताले संकेत गरेको मतलाई बिग्रार्ने गरी गणकले व्याख्या गर्दा मत बदरको संख्या बढ्ने गरेको छ। मत गणनास्थलमा खटिने कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरूमा मतको सकारात्मक व्याख्या गर्ने प्रवृत्तिमा कमीले पनि बदर मतको संख्या बढ्ने गरेको नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष बिपुल पोखरेल बताउँछन्।
६. मतपत्रको आकार अस्वाभाविक हुनु
धेरै दल र धेरै उम्मेदवार हुँदा मत पत्रको आकार धेरै ठूलो हुन्छ। यसले गर्दा मतदातालाई मतदान गर्न समस्या हुने गरेको छ। ‘हामी कहाँ समानुपातिकको मत पत्र धेरै ठूलो हुन्छ। पार्टीहरूको संख्या धेरै भएर उनीहरूको निर्वाचन चिह्नले गर्दा धेरै ठूलो मतपत्र हुन जान्छ। यसले मतपत्रको आकार अस्वाभावविक रूपले बढ्न जान्छन्,’ पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘यसले गर्दा मतदाताहरूले दिक्क मानेर जहितही स्वस्तिक छापा लगाउँदा मत बदर
हुन जान्छ।’
७. ‘नो’भोटको व्यवस्था नहुनु
निर्वाचनमा कुनै पनि उम्मेदवार वा राजनीतिक दल मन नपरे ‘नो भोट’ गर्न पाउने व्यवस्था अहिलेसम्म मतपत्रमा भएको छैन। हाल निर्वाचनसम्बन्धी कानुनले मतपत्रमा उम्मेदवार र दलको चुनाव चिह्न राख्ने व्यवस्था गरेको छ। तर, नो भोटको चिह्न राख्ने व्यवस्था छैन। यसले गर्दा पनि मत बदर हुने गरेको पूर्वप्रमुख निर्वाचन डा. यादव बताउँछन्। उनी भन्छन्, ‘हामीसँग अहिलेसम्म म कसैलाई मत दिन्न भन्ने व्यवस्था मतपत्रमा छैन। कसैले कुनै राजनीतिक दल र उम्मेदवारलाई मन नराउने अवस्थामा मतदाताले रिसाएर मत बदर हुने हिसाबले मतदान गर्छन्।’
८. मतदाताको अवस्था
दल वा उम्मेदवारहरूलाई मतदान गर्न मत पत्रमा बनाइएको कोठाभित्र स्वस्तिक छाप लगाउनुपर्छ।तर, स्वस्तिक छाप कोठाभन्दा बाहिर लगाउँदा मत बदर हुन्छ। यस्ता किसिमको त्रुटि मतदाताहरूबाट भइरहेको निर्वाचन विज्ञहरू बताउँछन्। ज्येष्ठ नागरिक, अशक्त मतदाताहरूको हात हलिएर पनि कोठाभन्दा बाहिर स्वस्तिक छाप लाग्न पुग्छ। यसले मत बदर हुन्छ।
९. निर्वाचन बहिष्कार गर्ने
यसअघिका निर्वाचनमा कतिपय दलले निर्वाचन बहिष्कार गरेका थिए। यस्तो अवस्थामा त्यस्ता दलका कार्यकर्ताहरू र त्यसबाट प्रेरित भएका मतदाताहरूले मत पत्रमा उल्लेखित चुनाव चिह्नभन्दा बाहिर गएर मतदान गर्दाको अवस्थामा त्यो मत बदर हुन जाने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादवले सुनाए। २०७४ सालमा अहिलेका जनमत पार्टीले त्यो–त्यो बेला निर्वाचन बहिष्कार गर्ने अभिया नै चलाएको उनी बताउँछन्।
१०. भद्रगोल मतदाता शिक्षा
२०७९ सालमा प्रतिनिधि सभा र प्रदेशसभाको चुनाव एकै पटक भयो । जहाँ चारवटा मतपत्र थिए। निर्वाचन आयोगले पनि मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्यो ? दलहरूले पनि आ आफ्नै किसिमले मतदाता शिक्षा चलाए। जसका कारण पनि मतदाता शिक्षा भद्रगोल भयो, मतदाता अन्यौलमा परे। प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्ष तर्फ ६.६ प्रतिशत मत बदर भयो। ‘धेरै राजनीतिक दलका थरीथरी उम्मेदवारहरू आउँछन्। सोझासिधा मतदाताहरू अलमलमै पर्दा रहेछन्,’ पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेत्ति भन्छन्, ‘मतदाताको प्रष्ट बुझाई र स्पष्ट धारण नहुँदा दुविधामा पर्छन्। त्यो पार्टी आफ्नै हो, त्यो चुनावमा उठेका नेता आफ्नै हो भन्नेर कसलाई दिने, कसलाई नदिने दुविधामा हुन्छ। अनि धेरैलाई मत हालिदिन्छन् अनि मत बदर हुन्छन्।’
११. दल र उम्मेदवारप्रति मतदाता उदासीन हुनु
दल र नेताहरूप्रति जनतामा विश्वास घट्दो छ। यसले गर्दा मतदाताहरू मतदान स्थलमा पुगेर पनि कसैलाई मत नदिने बरु मत बदर गर्ने निर्णय गर्छन्। दल र उम्मेदवाहरूप्रतिको नकारात्मक दृष्टिकोणले पनि मत बदर हुने गरेको पूर्वउपसचिव रामकुमार कार्की बताउँछन्।
१२. मतपत्र पट्याउन नसक्नु
मतदान केन्द्रमा गएपछि मतदाताले मतपत्र पाएपछि आफूले छानेको उम्मेदवार वा पार्टीलाई मतपत्रमा छाप लगाएपछि भोट हालेको ठान्छन्। स्वस्तिक छाप लगाएर राम्रोसँग मतपत्र पट्टाएर मतपेटीमा खसालिएन भने स्वस्तिक छापको मसी लतपतिएर मत बदर हुने गरेको पूर्वनिर्वाचन आयुक्त प्रा. डा. मिश्र सुनाउँछन्।
१३. गुणस्तरीय मतदान कक्ष नहुनु
अँध्यारो ठाउँमा मतदान केन्द्र हुँदा कमजोर आँखा भएका मतदाताले मतपत्रमा भएको चिह्न देख्न नसकेर कोठाभन्दा बारिर गएर स्वस्तिक छाप लगाइरहेको अध्ययनले देखाएको पूर्वप्रमुख निर्वाचन आयुक्त डा. यादव सुनाउँछन्। उनी भन्छन्, ‘अर्कोतिर मतपत्रमा छाप लगाउने टेबल हल्लिएर पनि कोठाभन्दा बाहिर स्वस्तिक छाप लाग्छ। यसले पनि मत बदर हुन्छ।’
१४. असुरक्षा
मतदान स्थलमा हुलहुज्जत हुँदा मत बदर हुने अवस्था रहने गरेको पूर्वनिर्वाचन आयुक्त मिश्र बताउँछन्। उनी भन्छन्, ‘धेरै असुरक्षा भयो भने हुलहुज्जत हुने सम्भावना भएर हतार हतारमा मतदान गरे भाग्दा मत बदर सम्भावना हुन्छ।’
१५.मतदाताको अज्ञानता
मतदाताको अज्ञानताले पनि धेरै मत बदर हुन्छन। स्वस्तिक छाप लगाउनुपर्नेमा औंलाको छाप लगाएका मतपत्र पनि भेटिने गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त यादव सुनाउँछन्।
१६. मतदाता शिक्षाको भाषामा विविधता नहुनु
एउटै भाषामा मतदाता शिक्षा भएका कारण पनि मत बदर हुने गरेको पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती सुनाउँछन्। उनी भन्छन्, ‘जसले जे भाषा बोल्ने गरेको छ, त्यही भाषामा मतदाता
शिक्षा दिनुपर्छ।’
१७. निर्वाचन प्रणालीको कारण
निर्वाचन प्रणालीका कारणले पनि मत बदरको संख्या बढने गरेका छन । अहिले मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक निर्वाचन )छ। धेरै मत पत्र भएका कारण मतदाताहरू मतदान गर्न झुक्किने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !