बादल हेरेरै चित्त बुझाउनुपर्ने अवस्था
काठमाडौं : सामाजिक सञ्जाल एक्समा आफ्ना फलोअर्सले मौसमसम्बन्धी राखेको जिज्ञासाको उत्तर दिँदै त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले लेखे, ‘पश्चिमी वायुले वर्षा गराउन सकेन, बादल हेरेरै चित्त बुझाउनुपर्यो। यो साता पनि वर्षाको सम्भावना छैन। तर, यो बादलले तराईको हुस्सु, कुहिरो भने हटाउन मद्दत गर्यो।’
उनले भने जस्तै यतिबेला पश्चिमी वायुको प्रभावले देशैभरिको मौसम थप चिसो बनाएको छ। अन्य क्षेत्रमा कतैकतै मधुरो घाम लागे पनि तराई भने बाक्लो हुस्सु, कुहिरो भित्रै रहेको प्रतिक्रिया तराईवासीको छ। पोखरेलले तराईको हुस्सु करिब तीन किलोमिटर इन्भर्सनले ढाकेको हुँदा दिउँसो लागेको घामले पनि हटाउन नसकेको प्रतिक्रिया दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाले पनि यतिबेला देशैभरि पश्चिमी वायुको प्रभाव रहेकाले देशैभरि आंशिक बदली रहने जनाएको छ। मुख्यतः तराईमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झा भन्छन्, ‘भोलिदेखि मौसम खुलेर जानेछ। पश्चिमी वायुको प्रभावले जाडो बढाउनुका साथै बाक्लो हुस्सु र कुहिरो ल्याएको छ। पश्चिमी वायुले बोकेर ल्याएको जलवाष्पयुक्त हावाले बादल लाग्ने र हिमाली भेगमा हिमपात र जाडो गराउँछ।’ पूर्व र तराई क्षेत्रमा अझै बाक्लो कुहिरो देखिए पनि पश्चिमबाट भने विस्तारै हट्दै गएको उनले बताए। उनले भने, ‘अस्ति दुई दिन मौसम खुलेन, आज र भोलि खुल्नेछ। पश्चिममा आजबाट खुल्छ, भोलिदेखि पूर्वमा पनि खुल्छ। अहिले कुहिरो लाग्ने र खुल्ने भइरहेको छ।’
तर, शीतलहरको अवस्था भने सिर्जना भएको छैन। कम्तीमा तीन दिन लगातार घाम नलाग्ने, अधिकतम र न्यूनतम तापक्रमबीचको अन्तर कम हुने, तप्प पानी चुहिने खालको वातावरण बन्नेलगायतको अवस्था देखिएपछि मात्रै शीतलहर घोषणा गरिन्छ। उनले पनि तराईमा इन्भर्सले ढाकेको बताए। इन्भर्सनको अवस्थामा उचाइअनुसार तापक्रम घट्नुको साटो बढ्ने हुन्छ। त्यसले हुस्सु, कुहिरो लाग्नलाई उचित वातावरण बनाइदिन्छ र बाक्लो हुस्सु, कुहिरो लागिरहने हुन्छ। जति कडा, बाक्लो इन्भर्सन भयो हुस्सु, कुहिरो झन् कडा वा शक्तिशाली हुन्छ। र, धेरै समय रहिरहन्छ। त्यसलाई हटाउन जोडले हावा चल्नुपर्छ। यसले पानी पर्न दिँदैन। हुस्सु, कुहिरो बन्नलाई भने कम हावा भए पनि पुग्ने झाले बताए।
यस्तो समयमा प्रदूषण बढी हुन्छ। हुस्सु, कुहिरोले प्रदूषण पनि समातेर राख्छ। हावा चलेको समयमा मात्रै प्रदूषण घट्ने हुन्छ। अन्यथा वायुमण्डलमा तैरिएर प्रदूषण बसिरहन्छ। तापक्रम घट्दै गएपछि हुस्सु, कुहिरो पनि लाग्छ। साथै धुलोमैलो उडेर जाँदैन। तापक्रम कम हुँदा प्रदूषण पनि बढ्ने गर्छ। यतिबेला काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहे पनि न्यूनतम तापक्रम भने ६ देखि ८ को बीचमा रहेको विभागले जनाएको छ। हाल काठमाडौंमा प्रदूषण स्थिर र खराब अवस्थामै रहेको एक्यूआई एयरले प्रस्ट्याएको छ।
पर्ला त पानी ?
जल तथा मौसम विज्ञान विभागले यस वर्ष पनि देशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ। साथै अधिकांश ठाउँमा सरदरभन्दा धेरै अधिकतम र न्यूनतम तापक्रम हुने आकलन छ। विभागले गत वर्ष पनि देशभर सरदरभन्दा कम वर्षा हुने र अधिकतम र न्यूनतम तापक्रम बढी हुने आकलन गरेको थियो। सोहीअनुसार देशको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा भयो। साथै अधिकतम तथा न्यूनतम तापक्रम बढी मापन गरिएको थियो। हिउँदे वर्षाको सवालमा पनि हालसम्मको अवस्थामा भन्न नसकिने प्रतिक्रिया दिएको छ।
सहप्राध्यापक पोखरेलले भने यो साता पानी नपर्ने र अर्को साता भने हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको जनाएका छन्। हाल केही दिनदेखि बढेको चिसोले मानिसको दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा समेत प्रभाव पारेको छ। तराई विशेषगरी मारमा परे पनि मंगलबारदेखि खुल्दै जाने मौसमविद्हरूले जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !