अस्पतालमा आकस्मिक प्रतिकार्य अभ्यास
नुवाकोट : नुवाकोटको त्रिशूली अस्पतालमा आकस्मिक घटना प्रतिकार्यसम्बन्धी अभ्यास गरिएको छ। त्रिशूली अस्पतालले आकस्मिक प्रतिकार्यसम्बन्धी कृत्रिम घटना अभ्यास गर्दै प्रदर्शन गरेको हो। आकस्मिक प्रतिकार्य क्षमताको अभिवृद्धि गर्ने उद्देश्यसहित कृत्रिम घटना अभ्यास (मक ड्रिल) गरिएको हो।
अस्पतालको वार्षिक कार्ययोजनाअन्तर्गत सञ्चालन गरिएको उक्त अभ्यासमा बस दुर्घटना भएको काल्पनिक दृश्य खडा गरी घाइतेहरूको उद्धार, उपचार र व्यवस्थापन प्रक्रिया अभ्यास गरिएको थियो। अभ्यासका क्रममा दुर्घटनामा परेका घाइतेहरूको अवस्थाअनुसार त्रियाज प्रणाली अपनाई रातो (गम्भीर), पहेँलो (मध्यम) र हरियो (सामान्य) श्रेणीमा वर्गीकरण गर्दै तत्काल उद्धार र उपचार प्रक्रिया अगाडि बढाइएको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले बताए।
यस अभ्यासले आपतकालीन अवस्थामा बिरामीलाई प्राथमिकताका आधारमा सेवा दिन अस्पतालको तयारी अवस्था परीक्षण गर्न सहयोग पुर्याएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिए। उनले आकस्मिक अवस्थामा अस्पतालमा उपलब्ध मानव जनशक्ति, उपकरण र स्रोत साधनको प्रभावकारी परिचालनका साथै विभिन्न विभागीय चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्सकर्मीहरूको भूमिकाबारे पुनर्ताजगी गराउने उद्देश्यले अभ्यास कार्य गरिएको बताए।
अभ्यास कार्यक्रममा स्वास्थ्यकर्मी, कर्मचारी, अस्पतालका पदाधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो। उक्त घटना अभ्यासले सम्भावित विपद्को समयमा समन्वय, तत्परता र सेवाको गुणस्तर प्रभावकारी हुने त्रिशूली अस्पतालले विश्वास लिएको छ।
प्रतिक्रिया दिनुहोस !