स्वस्थानी व्रतकथामा सामाजिक भ्रम
स्वस्थानी व्रत कथा नेपाली हिन्दु समाजको एक महŒवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो। यो कथा स्कन्ध पुराणको केदारखण्डमा आधारित छ र यसलाई ३१ अध्यायमा विभाजित गरिएको छ। यो कथा यही पुस १९ गते अर्थात् पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (माघ १८ गतेसम्म) एक महिनासम्म यो व्रत बस्ने र कथा सुन्ने चलन छ। नेपालीको घरघरमा यो परम्परा जीवन्त छ। जसले सुख, शान्ति, समृद्धि र रोग निवारणको विश्वास बोकेको छ। स्वस्थानी व्रतकथामा निहित सामाजिक भ्रमहरू जस्तै लैंगिक असमानता, विवाहको अनमेलता, दण्ड र पुरस्कारको अवधारणा, तथा यथार्थहरू जस्तै पारिवारिक एकता, नैतिक शिक्षा र सांस्कृतिक निरन्तरताको विस्तृत विश्लेषण गरिएको पाइन्छ।
स्वस्थानी व्रत कथाको सारांश : स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति प्राप्त गर्न गरेको कठोर व्रतबाट सुरु हुन्छ। कथामा सृष्टिको वर्णन छ : परमात्माको इच्छाबाट ब्रह्मा, विष्णु र शिवको उत्पत्ति, तीन गुण (सŒव, रज, तम) को युद्धबाट मायाको जन्म र विष्णुको कानेगुजीबाट मधु र कैटभ दानवहरूको उत्पत्ति तथा तिनीहरूको वधबाट पृथ्वी, पानी, ढुंगा आदिको सृष्टि भएको देखाएको छ। यसपछि सतीदेवीको जन्म, दक्ष प्रजापतिको यज्ञमा शिवको अपमान सहन नसकी सतीको आत्मदाह, शिवको शोक र सतीका अंगहरूबाट शक्तिपीठहरूको उत्पत्ति जस्ता प्रसंग छन्। जसको मध्यभागमा पार्वतीको रूपमा सतीको पुनर्जन्म, उनको तपस्या र शिवसँग विवाहको कथा छ।
अन्तिम भागमा गोमा ब्राह्मणीको कथा छ : शिव शर्मा ब्राह्मण र सतीकी छोरी नहुँदा दु : खी, गोबरबाट गोमाको जन्म, गोमाले सन्न्यासीरूपी शिवलाई भिक्षा नदिँदा श्रापबाट ८० वर्षका वृद्ध पति प्राप्त, छोरा नवराजको जन्म, नवराजको पिता खोजी र राज्य प्राप्ति, तथा गोमाको व्रतबाट छोरा फर्काइएको तथ्यलाई उल्लेख छ। नवराजकी पहिलो पत्नी चन्द्रावतीले स्वस्थानीको निन्दा गर्दा कुष्ठरोगी हुनु र पछि व्रतबाट निको हुनुजस्ता घटना छन्। कथाको अन्तमा गोमाले बुहारीहरूलाई उपदेश दिई ढुकुटी हस्तान्तरण गर्दै नयाँ पुस्तालाई जिम्मेवारी सुम्पिन्छिन्।
सामाजिक भ्रमहरूको पहिचान : अब भ्रम र यथार्थबारे चर्चा गरौं। स्वस्थानी व्रत कथामा धेरै सामाजिक भ्रम छन्। जसले परम्परागत समाजको प्रतिविम्ब देखाउँछन्। तर आधुनिक मूल्यहरूसँग बाझिन्छन्। पहिलो भ्रम लैंगिक असमानता हो। व्रत मूलत : महिलाले लिन्छन्। जसमा एक छाक खाएर, चोखो बसी महादेवको पूजा गरिन्छ। व्रत समापनमा १०८ रोटी, पान, सुपारी आदिको प्रसाद श्रीमान्, छोरा वा नातिलाई दिने चलन छ। जसले छोरी वा महिलालाई दोस्रो दर्जाको बनाउँछ। यो भ्रम पितृसत्तात्मक समाजबाट आएको छ। जहाँ महिलाको सफलता पति वा छोरासँग जोडिन्छ। दोस्रो भ्रम विवाहको अनमेलता हो। फलत : गोमाको कथामा सात वर्षकी गोमाको ७० वर्षका वृद्धसँग विवाह हुन्छ। जसलाई श्रापको फल भनिन्छ। यो प्रसंगले बालविवाह र उमेर असमानतालाई सामान्य बनाउँछ, जुन आधुनिक समाजमा अपराध हो। यसले महिलालाई पुरुषको अधीनमा राख्ने भ्रम फैलाउँछ।
साथै, शिवले तीन विवाह गरेको तर दाइजो वा हिंसा नगरेको देखाइए पनि, बहुविवाहलाई सामान्य मानिन्छ जसले महिलालाई वस्तुजस्तो बनाउँछ। तेस्रो भ्रम दण्ड र पुरस्कारको अवधारणा हो। कथामा गल्ती गर्नेहरूलाई कुष्ठरोग, श्राप वा मृत्युजस्ता दण्ड हुन्छ, जसलाई व्रतबाट निको पारिन्छ। उदाहरणस्वरूप, चन्द्रावतीले स्वस्थानीको निन्दा गर्दा कुष्ठी हुन्छिन् र व्रतबाट निको हुन्छिन्। यो भ्रमले अन्धविश्वास फैलाउँछ कि रोगहरू धार्मिक अपराधका फल हुन्। जसले वैज्ञानिक उपचारलाई अवरोध गर्छ। साथै, पुरुषहरूको गल्ती (जस्तै विष्णुको वृन्दा छल)लाई पनि दण्डित गरिएको छ। तर समग्रमा महिलाको चरित्रलाई बढी जोड दिइएको छ।
चौथो भ्रम, सृष्टिको अवैज्ञानिक वर्णन हो। यस कथामा परमात्माबाट तीन देवताको उत्पत्ति, दानवहरूबाट पृथ्वीको सृष्टिजस्ता कुरा छन्। जुन वैज्ञानिक दृष्टिबाट भ्रामक छन्। वैज्ञानिक रूपमा ब्रह्माण्ड १४ अर्ब वर्ष पुरानो छ, जसमा बिग ब्याङबाट ग्रहहरूको उत्पत्ति भयो। यसमा पनि जनजाति ग्रन्थहरू जस्तै तामाङको ताम्बा दर्शनमा चार तŒव (वायु, अग्नि, पानी, माटो)बाट सृष्टि भएको वर्णन बढी वैज्ञानिक छ। यो भ्रमले हिन्दु सभ्यतालाई अवैज्ञानिक बनाउँछ। पाँचौं भ्रम, महिलाविरोधी सोच हो। कथालाई पुरुषवादी भनिन्छ किनकि स्वस्थानीको नाममा महादेवको पूजा गरिन्छ। महिलाको तपस्या र व्रत पतिका लागि हुन्छ। जसले महिलालाई अधीन बनाउँछ। तर, केही प्रसंगमा महिलाको शक्ति (पार्वतीको तपस्या) देखाइए पनि, समग्रमा पुरुष प्रधानता छ। यो भ्रम आधुनिक फेमिनिज्मसँग बाझिन्छ। यी भ्रमहरू परम्परागत समाजको उत्पादन हुन्। जसले महिलालाई दबाउँछन् र अन्धविश्वास फैलाउँछन्। तर, यथार्थहरू पनि छन् जसले यस कथालाई मूल्यवान् बनाउँछन्।
सामाजिक यथार्थहरूको अन्वेषण : स्वस्थानी व्रतकथामा भ्रमहरू छन् तर यसले समाजको यथार्थ पनि प्रतिविम्बित गर्छ। पहिलो यथार्थ पारिवारिक एकता र सांस्कृतिक निरन्तरता हो। व्रतले घरघरमा पूजा र कथा सुन्ने परम्परा कायम राख्छ। जसले परिवारलाई जोड्छ। मेला लाग्ने स्थलहरू जस्तै शालीनदी, पशुपतिनाथमा सामुदायिक एकता बढ्छ। यस कथाको अन्तमा गोमाले बुहारीहरूलाई उपदेश दिई जिम्मेवारी हस्तान्तरण गर्ने प्रसंगले पुस्तान्तरणको यथार्थ देखाउँछ। जसले स्वस्थ समाज निर्माण गर्छ। दोस्रो यथार्थ नैतिक शिक्षा हो। कथामा घमण्ड, ईष्र्या र अधर्मबाट नास हुने उदाहरणहरू (मधु–कैटभ, त्रिपुरासुर, कामदेव) छन्। जसले सदाचार सिकाउँछ। गणेशको माता–पिताप्रतिको श्रद्धा, नवराजको पिता खोजीजस्ता प्रसंगले कर्तव्यनिष्ठता सिकाउँछ। महिलाको नराम्रो काम (ऋषिपत्नीहरूको भ्रम, वृन्दाको छल) को चर्चा महिलालाई सचेत गराउन हो। जसले नैतिक सन्तुलन कायम गर्छ। जुन तेस्रो यथार्थ ऐतिहासिक सन्दर्भ हो।
यस कथाले मातृप्रधानबाट पितृप्रधान समाजको संक्रमण देखाउँछ। जुन सृष्टिको वर्णनले प्राचीन विज्ञानको आधार (अंग प्रत्यारोपण जस्तै गणेशको शिर जोडाइ) दिन्छ। सात द्वीप र समुद्रहरूको चर्चा भूगोल सिकाउँछ। यो यथार्थले कथालाई केवल धार्मिक नभई शैक्षिक बनाउँछ। चौथो यथार्थ महिलाको शक्ति हो। यसमा पार्वतीको तपस्याबाट शिव प्राप्ति, गोमाको व्रतबाट छोरा फर्काइजस्ता प्रसंगले महिलाको दृढता देखाउँछ। यो व्रतमा आठ देवीको पूजा नारीशक्तिको यथार्थ हो। यसले महिलालाई शक्तिशाली बनाउँछ। जसलाई आलोचकहरूले बेवास्ता गर्छन्। पाँचौं यथार्थमा वैज्ञानिकहरूको तुलना गरिएको छ। भलै कथा अवैज्ञानिक लागे पनि, जनजाति ग्रन्थहरूसँग तुलना गर्दा साझा यथार्थ देखिन्छ। आजको वैज्ञानिक दृष्टिबाट बिग ब्याङ र गुरुत्वाकर्षणले सृष्टि बुझाउँछ। जसले कथालाई मिथकबाट यथार्थतर्फ लैजान्छ। यी यथार्थले कथालाई सांस्कृतिक धरोहर बनाउँछन्। जसले समाजलाई
एकताबद्ध गर्छ।
आधुनिक परिप्रेक्ष्यमा बहस : आधुनिक समयमा स्वस्थानीलाई महिला विरोधी भनिन्छ। तर यो भावावेगपूर्ण छ। आजको समाजमा दाइजो, हिंसा बढी छ। जुन कथामा छैन। शिव–पार्वतीको माया अनुकरणीय छ। तर, अवैज्ञानिक भ्रमलाई चुनौती दिन वैज्ञानिक शिक्षा जरुरी छ। यस परम्परालाई संरक्षण गर्दै असमानतालाई हटाउनु पर्छ। स्वस्थानी व्रत कथा सामाजिक भ्रम (लैंगिक असमानता, अवैज्ञानिक सृष्टि) र यथार्थ (पारिवारिक एकता, नैतिक शिक्षा)को मिश्रण हो। यसलाई अस्वीकार नगरी आधुनिक मूल्यहरूसँग अनुकूल बनाउनु पर्छ। मूलत, परम्परा संरक्षण गर्दै समानता प्रवद्र्धन गरे समाज स्वस्थ बन्छ। अत : यो कथा नेपाली पहिचान हो।
प्रतिक्रिया दिनुहोस !