विषादीलाई औषधि भन्नु नै भुल
काठमाडौं : १० वर्षको तथ्यांक हेर्ने हो भने मुलुकमा विषादी आयातको मात्रा झन्डै तेब्बर बढेको छ। १० वर्ष पहिला साढे ४ लाख केजी एआई अर्थात् करिब १० लाख केजी प्याक भएको विषादी आयात हुन्थ्यो।
अहिले करिब साढे १६ लाख केजी आयात भइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकले देखाउँछ। केन्द्रका अनुसार आर्थिक वर्ष २०२३/०२४ मा १६ लाख ६४ हजार ३ सय ८१ किलो विषादी आयात भएको छ। त्यस्तै, २०२२/०२३ मा एघार लाख ८३ हजार ७ सय ४१ किलो, २०२१/०२२ मा एघार लाख ३५ हजार ५ सय ०४ किलो, ०२१/०२० मा सात लाख ८३ हजार १ सय ९३ किलो र २०२०/०१९ मा छ लाख ८१ हजार ५ सय ०६ किलो विषादी आएको छ। यस तथ्यांकले प्रत्येक वर्ष विषादी आयातको परिणाम बढेको प्रस्ट्याउँछ।
गत वर्ष करोडौंमा विषादीको व्यापार भएको थियो। विकासोन्मुख देशहरूमा रोग, किरा, झारपातले बर्सेनि ३० देखि ४० प्रतिशत बाली तथा बोटबिरुवा नोक्सान गर्ने भएकाले विषादीको प्रयोग भइरहेको केन्द्र बताउँछ। तर, कतिपय अवस्थामा मनपरी तरिकाले विषादीको प्रयोग हुँदा मानिसको स्वास्थ्यमा गम्भीर समस्या निम्ताइरहेको विज्ञहरूको भनाइ छ। यसलाई उचित नियमन तथा आयातमा व्यवस्थापनको खाँचो टड्कारो देखिन्छ।
नेपालमा हाल २६ प्रकारका विषादी प्रतिबन्धित छन्। गत वर्ष थप दुई प्रकारका विषादी प्रतिबन्धित गरेर २८ खालका विषादी प्रतिबन्धित रहेको राष्ट्रिय किट विज्ञान अनुसन्धान केन्द्रका डा.काशीनाथ चिलुवाल बताउँछन्। उनका अनुसार ती दुईवटालाई ग्रेस पिरियड दिइएको छ। आयात भइसकेको सकाउने। किनभने, विषादी भण्डारण तथा व्यवस्थापन गर्न पनि एकदमै गाह्रो हुन्छ। नेपालमा प्रायः दुई समूहका विषादी प्रयोग भएका देखिन्छन्। कार्बोनेट र अर्गानोफस्फेट। यी दुवै न्युरोटक्सिक खालका छन्। यसले एउटा स्नायुबाट अर्को स्नायुमा सन्देश प्रवाह गर्ने एक प्रकारको हर्मोनलाई शिथिल बनाइदिन्छ। अझ भनौं, प्यारालाइसिस नै बनाइदिन्छ।
- अत्यधिक र गलत प्रयोगका कारण किसान र उपभोक्ता दुवै गम्भीर स्वास्थ्य जोखिममा छन्। विशेषगरी अर्गानोफस्फेट र कार्बोनेट जस्ता न्युरोटक्सिक विषादी बढी प्रयोग भइरहेका छन्।
- नेपालमा हाल २८ प्रकारका विषादी प्रतिबन्धित छन्, तर नयाँ–नयाँ खतरनाक विषादी अझै बजारमा आइरहेका छन्।
- काँक्रा, टमाटर, भान्टा, भिन्डीजस्ता निरन्तर टिपिने तरकारीमा विषादीको अवशेष बढी बस्ने खतरा हुन्छ।
कार्बोनेट लगभग नेपालमा नभए पनि अर्गानोफस्फेट भने केही मात्रामा रहेको छ। तर, नेपालमा विषादीलाई औषधि वा दबाइका रूपमा बुभ्mने प्रवृत्तिले यसको दुरुपयोग भइरहेको चिलुवालले बताए। विषादीको सबैभन्दा धेरै जोखिम किसानलाई हुन्छ। किनभने, उनीहरूले तरकारी तथा बालीनालीमा विषादीको प्रयोग दबाईको रूपमा प्रयोग गरेका छन्।
तरकारी तथा फलफूलमा विषादीको दु्रत परीक्षण नाप्ने र्यापिड पेस्टिसाइड रेसिड्यु एनालाइसिस प्रविधि (आरबीपीआर)बाट गरिन्छ। विषेशगरी कालिमाटी, पोखरा, धनगढीलगायत तरकारी बजारहरूमा यस विधिबाट परीक्षण भइरहेका छन्। कतिपय स्थानमा विश्वविद्यालय तथा स्थानीय सरकारहरूले पनि यस्ता प्रविधि राखेका छन्। तर, यस प्रकारका विषादीहरू बिस्तारै कम हुँदै गए पनि नयाँ खालका आइरहेको उनी बताउँछन्।
विषादी प्रतिशतमा कसरी ?
आरबीपीआर प्रविधिबाट परीक्षण गर्दा हर्मोनलाई कति असर गर्छ भन्ने आधारमा तरकारी, फलफूल तथा अन्य चिजमा भएको विषादीको प्रतिशत हेरिन्छ। यसमा तीनवटा रेन्ज हुन्छ। ३५ प्रतिशतभन्दा कम भएमा त्यो खान मिल्ने हुन्छ। ३५ देखि ४० प्रतिशत विषादी देखिएमा केही समय राखेर खान मिल्छ। तर, ४५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई नष्ट गर्नुपर्ने हुन्छ।
विषादी हालिसकेपछि (रुटिन केयर)लाई पालना गर्नुपर्छ। विषादी हालेको कति समयपछि खानयोग्य हुन्छ। यसमा (वेटिङ पिरियड) पर्खनुपर्ने समय ख्याल नगर्ने समस्या किसानमा छ। अहिले नेपालमा प्रयोग भइरहेका विषादीमा पर्खिने समय तीन दिनभन्दा कम कुनैमा पनि छैन। अर्गेनोफस्फेट र कार्बोनेट पनि तीन दिनपछि मात्रै प्रयोग गर्न मिल्छ। तर, पर्खिने समय विषादीअनुसार फरक हुने चिलुवालले बताए। अहिले नेपालमा प्रयोग भइरहेका विषादीमा पर्खिने समय तीन दिनभन्दा कम कुनैमा पनि छैन। अर्गेनोफस्फेट र कार्बोनेट पनि तीन दिनपछि मात्रै प्रयोग गर्न मिल्छ।
उनका अनुसार निरन्तर टिप्न मिल्ने काँक्रा, टमाटर, भान्टा, फर्सी, भिन्डी जस्ता तरकारीहरूमा विषादीको अवशेष धेरै बसिरहने हुन्छ। किसानले कति मात्रामा विषादी लगायो, त्यसमा पनि निर्भर रहन्छ। विषादी लगाएको तीन दिनपछि मात्रै बजारमा ल्याएमा त्यो खान मिल्ने पनि हुन्छ। तर, बेलुका विषादी हालेर बिहान बजारमा पठाउने गर्दा विषादीको मात्रा अत्यधिक भेटिन्छ।
अर्को समस्या भनेको नचाहिने ठाउँमा पनि किसानहरूले प्रयोग गरिरहेका हुन्छन्। बिरुवा अवस्थादेखि नै विषादी हाल्ने, चाहिनेभन्दा धेरै पटक हाल्ने तथा चाहिनेभन्दा धेरै परिमाणमा हाल्ने प्रवृत्ति छ। चिलुवालले भने, ‘हाइभोलुम, हाइड्रोज, हाइफ्रिक्वेन्सी भएपछि टक्सिक हुुने नै भयो। त्यसबाट सबैभन्दा जोखिम किसानलाई हुन्छ।’
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत, मनोज पोखरेल भन्छन्, ‘विषादी लगाएपछि केही समय पर्खिएर मात्रै बजारमा ल्याउने विश्वव्यापी अभ्यास छ। बजारमा पुर्याइएका तरकारीमा इन्जाइमको रोकावट हुने प्रतिशत हेरिन्छ। त्यसैको आधारमा खान मिल्ने, केही समय कुर्नुपर्ने वा नष्ट गर्नुपर्ने भनेर वर्गीकरण गरिन्छ। विषादी छर्नेबित्तिकै बजारमा ल्याउँदा अत्यधिक मात्रामा विषादी भेटिने गरेको छ। कुनै लटमा त्यस्तो परेको हुन्छ। प्रत्येक किसानमा पुगेर परीक्षण गर्न सम्भव छैन।’
किसानहरूले गोलभेंडाको फेदमा साग रोपेका हुन्छन्। गोलभेंडामा किरा मार्ने विषादी लगाउँदा सागमा सर्छ। सागमा लगाएको विषादी गोलभेंडामा सरेको हुन्छ। कतिपय किसानहरूको लापरबाहीले पनि बजारमा अत्यधिक विषादी भएको सागसब्जी भेटिने गरेको पोखरेल बताउँछन्। उनले भने, ‘विषादी हालेको या नहालेको आँखाले ठ्याक्कै छुट्ट्याउन सकिँदैन। विषादी हालिसकेपछि पनि पर्खिनुपर्ने समयको बेवास्ता गरिन्छ। तर, सबैभन्दा बढी जोखिम किसानलाई नै हुन्छ।’
सूचना प्रविधिको प्रयोग तथा आक्रामक खालका रोग, किरा बढेको हुँदा विषादी हाल्नैपर्ने अवस्था आएको पोखरेल बताउँछन्। हाल नेपालमा बालीनालीमा रोग तथा किराजन्य प्रकोप एकदमै बढेको छ। यस्ता समस्याहरू बढ्दै गएकाले विषादीको आयात पनि बढी देखिएको उनको भनाइ छ। किसानलाई सचेत गराउने, तालिम दिने, सुरक्षित प्रयोग, स्वास्थ्य र वातावरणमा पर्ने असरको बारेमा लिस्ट तयार गरेर सूचित गर्ने लगायतका काम कृषि ज्ञान केन्द्रले गर्न सक्ने पोखरेल बताउँछन्।
कसरी सुरक्षित प्रयोग गर्ने
केही उपाय अपनाएमा विषादी कम गर्न सकिने उनी बताउँछन्। किनेर ल्याएकै दिन प्रयोग नगरी भोलि, पर्सिपल्ट मात्रै पकाउन सकिन्छ। पकाउनुभन्दा पहिला मन तातो पानीमा डुबाउने अथवा भिनेगर मिसाएर पानीमा भिजाउने, त्यसैगरी कलकल बगेको पानीमा पखाल्दा पनि विषादीको मात्रा कम गर्न सकिन्छ। बजारमा तरकारी किन्ने बेलामा किरा देखिएका, सलक्क नपरेका तरकारीहरू किन्नु उत्तम हुन्छ।
नीतिगत तहबाट काम आवश्यक
व्यावसायिक खेतीका लागि विषादी अनिवार्य नै हुन्छ। नेपालमा नोक्सान गर्ने किराहरू बढेका छन्। तर, ती सबै किराहरू आयातित हुन्। एक दुईवटा मात्र स्थानीय किराहरू छन्। बिरुवा, दाना, अन्नहरू ल्याउँदा तथा किराहरू उडेर पनि एउटा देशबाट अर्को देशसम्म पुग्छन। कुनै किरा हावा, हुन्डरीमा उडेर आउँछन्। जहाँ सुहाउँदो वातावरण छ त्यहाँ उनीहरू फस्टाउँछन्। त्यसैले विषादी नभई पनि हुँदैन। तर, त्यसको सही तरिकाले प्रयोग हुन आवश्यक छ।
सबै विषादी नराम्रो होइनन्। तर, कति आयात गर्ने, कसले बेच्ने, कति ल्याउन दिनेलगायत विषयमा नियमन गरेमा ९० प्रतिशत विषादी नियन्त्रण गर्न सकिने तर किसानहरूलाई मात्रै दोष दिन नमिल्ने चिलुवाल बताउँछन्।
किसानहरूले पनि सिफारिस गरेको भन्दा फिल्डमा अर्को तरिकाले विषादी प्रयोग गरिरहेकाले पाइन्छ। यसका लागि जनचेतना, शिक्षा सबै कुरा चाहिन्छ। धेरैजसो देशहरूले विषादीलाई न्यूनीकरण गरिसकेको उनले बताए।
विषादी नाप्ने नयाँ प्रविधियुक्त उपकरणहरू पर्याप्त छैनन्। पुराना प्रविधिले परीक्षण तथा नाप्न समस्या रहेको छ। त्यसलाई नाप्नलाई परिस्कृत साधनहरू चाहिन्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नार्कमा केही साधन भए पनि विषादीको अवशेष नाप्ने पूर्ण प्याकेज नेपालमा नभएको विज्ञहरू बताउँछन्। त्यसैले राष्ट्रिय विषादी प्रयोगशाखा स्थापना गर्ने सवाल उठेको भए पनि हालसम्म सुरु भएको छैन। प्रयोगशाला बनाउने विषयमा ऐनले पनि प्रस्ट्याएको केन्द्रका वरिष्ठ बाली अधिकृत पोखरेलले बताए। त्यसबाट वैज्ञानिक अनुसन्धान हेर्ने भनिए पनि बजेट, जनशक्ति चाहिने भएकाले अलि समस्या भएको उनले बताए। तर, बजारमा विषादीयुक्त तरकारी, फलफूल तथा अन्य चिजहरू नै आउनु नदिनु सरकारको दायित्व रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता, डा. जानुका पण्डितले विषादीको दुरुपयोगलाई नियन्त्रण गर्न नीतिहरूले निर्देशन गरिरहेको बताइन्। मन्त्रालयले कृषि विभाग, केन्द्रीय कृषि कालर्यालय, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रमार्फत विषादी सही तरिकाले कम गर्ने तथा प्राकृतिक खेतीमा जाने विषयमा काम गरिरहेको उनले जनाइन्।
वातावरणीय दृष्टिले एक प्रकारको विषादी वातावरणमा बिलाएर जाने खालको हुन्छ। डाइमेथोयट, मालाथायन, साइपरमेथ्रीन, अल्फामेथ्रिन आदि प्रकारका विषादीहरू केही दिनमा वातावरणमा क्षय भएर जान्छ। तर, अर्को खालको विषादी वातावरणमा थुप्रिएर बस्छ, छिट्टै बिलाएर जाँदैन। त्यसैगरी, मानव शरीरमा हुने बोसोको अंशमा मिसिएर रहिरहने खालका हुन्छन्। अल्ड्रिन, क्लोरोडेन, डीडीटी, डायअल्ड्रिन, एल्ड्रिन, हेप्टाक्लोर, माइरेक्स, टोक्साफेन, एचसीवी र प्mयुराडनलगायत विषादी विसर्जन गर्न स्पेसल ट्रिटमेन्ट फ्यासिलिटी चाहिने केन्द्रको भनाइ छ।
नेपालमा सबैभन्दा पहिला डीडीटी नामक विषादी भित्रिएको थियो। यस विषादी लामखुट्टेको बासस्थान निर्मूल पार्दै नेपालमा औंलो उन्मूलन गर्न प्रयोग भएको थियो। हाल यो विषादी नेपालमा प्रतिबन्धित छ।
प्रतिक्रिया दिनुहोस !