मोरङको संसारीमाई मन्दिरमा चोरी

मोरङको संसारीमाई मन्दिरमा चोरी
रंगेलीको संसारीमाई मन्दिर । फाइल तस्बिर

विराटनगर :मोरङको रंगेली नगरपालिका–७ मा रहेको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र मानिने संसारीमाई मन्दिरमा चोरी भएको छ । देवीप्रति गहिरो श्रद्धा राख्ने हजारौँ भक्तजनको आस्थासँग जोडिएको मन्दिरमा अज्ञात समूहले रातको समयमा योजनाबद्ध रूपमा प्रवेश गरी मूर्ति,गरगहना र नगद चोरी गरेको पाइएको हो । घटना सार्वजनिक भएपछि स्थानीय समुदायमा आक्रोश र चिन्ता छाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार अज्ञात समूहले मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडेर भित्र प्रवेश गरी मूर्ति,नगद र गरगहना चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चोरी भएको जानकारी मन्दिरका मेनेजर पंकज झाले आइतबार बिहान प्रहरीलाई दिएपछि मात्रै घटना बाहिर आएको हो । 

बिहान पूजापाठको तयारीका क्रममा मन्दिरको अवस्था असामान्य देखिएपछि चोरी भएको आशंका गरिएको थियो । प्रहरीका अनुसार मन्दिरबाट संसारी माताका दुई थान साना मूर्ति,ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना र दानपेटिकाको सिसा फोडेर त्यहाँ संकलन भएको नगद चोरी भएको पाइएको छ । 

दानपेटिकामा कति रकम थियो भन्ने यकिन विवरण भने मन्दिरको नियमित हिसाबकिताब र अभिलेख जाँचपछि मात्र खुल्ने डीएसपी चुँडालले बताइन् । चोरी कुन समयमा भएको हो भन्ने विषय पनि हालसम्म स्पष्ट भइसकेको छैन । तर,मन्दिर राति सुनसान हुने समयको फाइदा उठाउँदै योजनाबद्ध रूपमा चोरी गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा टोली परिचालित भएको थियो । टोलीले मन्दिर परिसरको मुचुल्का उठाउने, क्षतिग्रस्त ताल्चा र दानपेटिकाको अवस्था निरीक्षण गर्ने तथा चोरीको सम्भावित समय र तरिका पहिचान गर्ने काम गरिसकेको छ । 

चोरीमा संलग्न व्यक्तिहरूको पहिचान भने हालसम्म हुन सकेको छैन । प्रहरीले स्थानीय बासिन्दासँग सोधपुछ गर्नुका साथै विगतमा यस्तै प्रकृतिका घटनामा संलग्न व्यक्तिहरूको प्रोफाइल अध्ययन गरेर खोजी कार्य तीव्र पारेको जनाएको छ ।

प्रहरी स्रोतका अनुसार चोरीको तरिका हेर्दा घटना एक्लो व्यक्तिले भन्दा समूहले योजनाबद्ध रूपमा गरेको हुन सक्ने सम्भावना देखिन्छ । मन्दिरजस्ता स्थानमा रहेका बहुमूल्य सामग्री,नगद र गरगहनाका बारेमा पहिल्यै जानकारी राखेर चोरी गरिएको हुन सक्ने आशंका पनि गरिएको छ ।

स्थानीयका अनुसार मन्दिरहरूमा नियमित प्रहरी गस्ती,पर्याप्त बत्तीको व्यवस्था,बलियो ताल्चा र आधुनिक निगरानी प्रणाली जस्तै सीसीटीभी जडान नहुँदा यस्ता अपराध दोहोरिन सक्ने जोखिम उच्च छ । चोरी भएपछि मात्रै सुरक्षा चासो देखाउनु दीर्घकालीन समाधान नभई रोकथाममुखी नीति अवलम्बन गर्न आवश्यक रहेको उनीहरूको भनाइ छ ।

स्थानीय समाजसेवी र भक्तजनहरूले मन्दिरजस्तो पवित्र स्थलमा भएको चोरीलाई सामान्य आपराधिक घटनाका रूपमा मात्रै लिन नहुने बताएका छन् । उनीहरूका अनुसार यो घटना धार्मिक आस्था, सामाजिक विश्वास र सामुदायिक भावनामाथिको गम्भीर चोट हो । 

दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्नुपर्ने माग पनि स्थानीयस्तरबाट उठ्न थालेको छ । संसारीमाई मन्दिरमा भएको चोरीले धार्मिक स्थलको सुरक्षा मन्दिर व्यवस्थापनको जिम्मेवारी मात्र नभएर राज्य, प्रहरी र समाजको साझा दायित्व हो भन्ने स्पष्ट सन्देश दिएको स्थानीय बताउँछन् । यदि समयमै प्रभावकारी सुरक्षा व्यवस्था र निगरानी प्रणालीमा ध्यान नदिइए यस्ता घटनाले धार्मिक आस्थासँगै सामाजिक सद्भावमा समेत गहिरो असर पार्ने खतरा रहेको स्थानीयको भनाइ छ । 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.