‘अनलाइन व्यापार’को नाममा साडी तस्करी

‘अनलाइन व्यापार’को नाममा साडी तस्करी

विराटनगर : नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले अपनाएको नयाँ शैली विराटनगरमा सार्वजनिक भएको छ। ‘अनलाइन व्यापार’को आवरणमा भारतबाट अवैध रूपमा कपडा नेपाल भित्राउने क्रम चलिरहेको पुष्टि प्रहरी कारबाहीबाट भएको छ। परम्परागत तस्करीभन्दा फरक, साना परिमाणमा, मोटरसाइकल प्रयोग गरेर र सामान्य झोलाभित्र सामान ल्याउने यो तरिका सुरक्षाकर्मीका लागि पनि चुनौतीपूर्ण बन्दै गएको देखिएको छ।

सीमा क्षेत्रमा नियमित जाँच र निगरानी कडा पारिएको दाबी भइरहेका बेला तस्करहरूले नयाँ–नयाँ उपाय अपनाइरहेका छन्। यही क्रममा विराटनगर महानगरपालिका–१५ भट्टाचोक क्षेत्रबाट प्रहरीले सोमबार दिउँसो अवैध कपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय रानी (सीमा)बाट खटिएको टोलीले दिउँसो करिब १ बजेतिर भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकललाई शंकास्पद देखेपछि रोकेर चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार मोटरसाइकल चालकको गतिविधि सामान्यजस्तै देखिए पनि बोकेको ब्याग र हाउभाउ शंकास्पद लागेपछि थप निगरानी गरिएको थियो। खानतलासी गर्दा प्रदेश १–०२–०४० प ७९८२ नम्बरको मोटरसाइकलमा ‘नेपाल क्यान मूभ’ लेखिएको रातो रङको ठूलो ब्याग फेला परेको थियो। ब्याग खोलेर हेर्दा ‘अनलाइन व्यापारका लागि’ भन्दै बनाइएको बिल देखाइए पनि त्यसमा उल्लेखित विवरण र भित्र रहेको कपडाबीच कुनै मेल नखाने अवस्था देखिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।

ब्यागभित्र भारतबाट भन्सार छली अवैध रूपमा नेपाल ल्याइँदै गरेको ८३ थान साडी फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्यांकन अनुसार बरामद साडीको मूल्य करिब २ लाख ७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ। प्रहरीले कपडा तस्करीमा संलग्न सुनसरीको दुहबी नगरपालिका–७ का २५ वर्षीय दिनेश माझीलाई नियन्त्रणमा लिएको हो। 

प्रारम्भिक सोधपुछका क्रममा माझीले साडीहरू अनलाइनमार्फत बिक्री वितरण गर्ने उद्देश्यले ल्याइएको दाबी गरे पनि भन्सार भुक्तानी, वैध आयात वा कर तिरेको कुनै आधिकारिक कागजात प्रस्तुत गर्न नसकेको प्रहरीले जनाएको छ। त्यसपछि उक्त सामग्री अवैध ठहर गर्दै थप अनुसन्धान अघि बढाइएको हो। प्रहरी स्रोतका अनुसार पछिल्लो समय कपडा मात्रै नभएर कस्मेटिक, इलेक्ट्रोनिक्स र खाद्यान्नजस्ता सामग्री पनि साना परिमाणमा पटक–पटक सीमापार गरिने नयाँ शैलीको तस्करी बढ्दै गएको छ। विशेषगरी ‘होम डेलिभरी’, ‘अनलाइन अर्डर’, ‘फेसबुक पेजबाट बिक्री’जस्ता शब्द प्रयोग गरेर सामान्य झोलामा सामान बोकी मोटरसाइकल वा साइकलमार्फत सहरी क्षेत्रमा प्रवेश गर्ने प्रवृत्ति देखिएको छ। भिडभाड भएका क्षेत्र हुँदै आवतजावत गर्दा छुट्याउन गाह्रो हुने र सानो परिमाणका कारण धेरैजसो अवस्थामा तस्करहरू सजिलै उम्किने गरेको प्रहरीको अनुभव छ।

रानी नाका नेपाल–भारत सीमाको अत्यन्तै व्यस्त र संवेदनशील बिन्दु मानिन्छ। दैनिक सयौँ मानिस र सवारीसाधनको ओहोरदोहोर हुने भएकाले तस्करहरूका लागि यो नाका सहज मार्ग बन्दै गएको छ। यही कारण प्रहरीले नाकामा विशेष निगरानी र कडाइ बढाएको एसपी कटवाल बताउँछन्। उनका अनुसार यो घटनाले तस्करीको स्वरूप कति चतुर र छलकपटपूर्ण बन्दै गएको छ भन्ने स्पष्ट संकेत गर्छ।

‘अब त ‘अनलाइन व्यापार’को नाममा नक्कली बिल बनाएर सामान ओसारपसार गर्न थालेका छन्। यसले राज्यको राजस्वमा गम्भीर असर पारिरहेको छ,’ कटवाल भन्छन्, ‘सीमा क्षेत्रमा निगरानी र चेकजाँच अझ कडा बनाइएको छ।’ बरामद गरिएको साडी, मोटरसाइकल र नियन्त्रणमा लिइएका माझीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले घटनाका बारेमा थप अनुसन्धान पनि गरिरहेको छ।

भन्सार ऐन तथा प्रचलित कानुनअनुसार भन्सार छली आयात गरिएका सामान जफत हुने र संलग्न व्यक्तिलाई जरिबाना तथा अन्य कानुनी सजाय हुने व्यवस्था छ। स्थानीय व्यवसायीहरू भने यस्ता अवैध गतिविधिले वैध रूपमा व्यवसाय गर्दै आएका व्यापारीहरू मारमा पर्ने गुनासो गर्छन् । भन्सार तिरेर आयात गरिएका सामान स्वाभाविक रूपमा महँगो हुने भएकाले तस्करीका सामान सस्तोमा बिक्री हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने उनीहरूको भनाइ छ।

‘अनलाइनको नाममा सस्तो कपडा बेचिन्छ। त्यसमा ग्राहक तानिन्छन्। तर, राज्यले पाउनुपर्ने राजस्व गुम्छ,’ विराटनगरका एक व्यापारीको गुनासो छ। अनलाइन व्यापार आफैंमा अवैध नभए पनि त्यसको दुरुपयोग गरेर गरिने तस्करी राज्यका लागि गम्भीर चुनौती बन्दै गएको सरोकारवालाहरू बताउँछन्। डिजिटल कारोबार विस्तारसँगै नियमन, अनुगमन र सीमा निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता यो घटनाले औंल्याएको छ। 

एसपी कटवालका अनुसार सीमावर्ती क्षेत्रमा गस्ती र चेकजाँच अझ कडा बनाइने छ। शंकास्पद गतिविधि देखिए तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सर्वसाधारणलाई उनले आग्रह गरेका छन्। खुला सीमाको फाइदा उठाएर भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा, भन्सारलगायतका निकाय र स्थानीय समुदायबीच समन्वय अपरिहार्य बन्दै गएको कटवालको भनाइ छ। ‘अनलाइन व्यापार’को चम्किलो आवरणभित्र लुकेको अवैध कारोबार पहिचान गर्न राज्य संयन्त्र अझ सतर्क हुनुपर्ने सन्देश यो घटनाले दिएको सरोकारवालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.