ढुवानी सेवाको आवरणमा खाद्य पूरक तस्करी

ढुवानी सेवाको आवरणमा खाद्य पूरक तस्करी

विराटनगर : ढुवानी व्यवसायलाई आवरण बनाएर भारतबाट भन्सार छल्दै भित्राइएका खाद्य पूरक सामग्रीको संगठित तस्करी विराटनगरमै खुलेआम सञ्चालन हुँदै आएको गम्भीर तथ्य सार्वजनिक भएको छ। सशस्त्र प्रहरी बलको कारबाहीपछि ढुवानी कम्पनीको संरक्षण र मिलेमतोमा भइरहेको अवैध कारोबारको विषय सतहमा आएको हो। 

सशस्त्र प्रहरी बल मोरङले सोमबार विराटनगर महानगरपालिका–५ स्थित बिजुली अफिस नजिकै ठूलो परिमाणमा अवैध खाद्य पूरक सामग्री लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ। भारतबाट क्यारिङमार्फत भित्राइएका सामग्री विराटनगरमै संकलन गरी नक्कली बिलबिजक खडा गरेर धरानलगायत पूर्वी पहाडी जिल्लाका बजारतर्फ पठाउने तयारी भइरहेका बेला ट्रकसहित सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजेश घिमिरेले बताए। 

अनुसन्धानका क्रममा विराटनगरमा हरि श्रेष्ठले सञ्चालन गर्दै आएको पञ्चबुद्ध ढुवानी सेवा अवैध कारोबारको मुख्य माध्यम बनेको पाइएको छ। सशस्त्र प्रहरीका अनुसार ढुवानी सेवाको गोदाममै क्यारिङमार्फत ल्याइएका सामग्री भण्डारण गरिने र त्यसपछि नक्कली कागजात तयार पारेर कानुनी ढुवानीझैँ देखाउँदै गन्तव्यतर्फ पठाउने गरिएको थियो। यसरी ढुवानी व्यवसायको नाममा तस्करीलाई सुरक्षित, व्यवस्थित र नियमित बनाउने प्रयास भइरहेको स्पष्ट देखिएको सशस्त्रको भनाइ छ।

एसपी घिमिरेका अनुसार प्रदेश १–०२–००१ ख ९७४२ नम्बरको ट्रकलाइ विभिन्न प्रकारका खाद्य पूरक सामग्री लोड गरिएको अवस्थामा नियन्त्रणमा लिइएको हो। बरामद सामग्रीको मूल्य करिब ५ लाख ७६ हजार रुपैयाँ बराबर आँकलन गरिएको छ भने प्रयोग गरिएको ट्रकको मूल्य करिब ४ लाख रुपैयाँ रहेको छ।

लामो समयदेखिको निगरानी र विशेष सूचनाका आधारमा यो कारबाही सम्भव भएको जानकारी एसपी घिमिरेले दिए। उनका अनुसार ट्रक चालक मोरङको धनपालथान गाउँपालिका–६ का रोशनकुमार राजवंशीलाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट राजवंशीले पञ्चबुद्ध ढुवानी सेवासँग मिलेर अवैध सामग्री ओसारपसारको सम्पूर्ण ‘सेटिङ’ मिलाएको खुलेको सशस्त्र प्रहरीले जनाएको छ।

ढुवानी सेवाका सञ्चालक हरि श्रेष्ठको भूमिका पनि शंकास्पद देखिएको सशस्त्र प्रहरीको भनाइ छ। श्रेष्ठको संलग्नता, आर्थिक कारोबार, नक्कली कागजात निर्माणको प्रक्रिया र सम्भावित तस्करी सञ्जालबारे विस्तृत अनुसन्धान अघि बढाइएको स्रोतले जनाएको छ। बरामद सामग्री, नियन्त्रणमा लिइएको ट्रक र पक्राउ परेका चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइसकिएको सशस्त्रले जनाएको छ। 

भन्सार कार्यालयका अनुसार ढुवानी व्यवसायको आडमा भइरहेको यस्ता अवैध धन्दामा संलग्न अन्य व्यक्ति, व्यापारी तथा नेटवर्कको पहिचान गर्न थप अनुसन्धान भइरहेको छ। पछिल्लो समय चिकित्सकको सिफारिसमा खाद्य पूरक सामग्री प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएसँगै यसको बजार माग तीव्र बनेको छ। यही मागलाई आधार बनाएर भारतबाट अवैध आयात गर्ने, भन्सार छल्ने, म्याद गुज्रिएका सामग्रीमा नयाँ लेबल टाँसेर बजारमा पठाउनेजस्ता गतिविधि विराटनगर क्षेत्रमा बारम्बार दोहोरिँदै आएको सरोकारवालाको भनाइ छ।

यसअघि पनि विराटनगर–५ का विपिन झालाई यस्तै अवैध गतिविधिमा संलग्न रहेको आरोपमा राजस्व अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो। म्याद सकिएका खाद्य पूरक सामग्रीमा नयाँ लेबल लगाएर बिक्री वितरण गर्ने र भारतबाट भरिया प्रयोग गरी तस्करी गर्ने गरेको खुलेपछि उनीविरुद्ध मुद्दा चलाइएको थियो। धरौटीमा रिहा भए पनि खाद्य पूरक तस्करीको श्रृंखला भने रोकिएको देखिँदैन।

ढुवानी कम्पनीकै प्रत्यक्ष संलग्नतामा पछिल्लो पटक भएको यो घटनाले विराटनगरलाई केन्द्र बनाएर पूर्वी पहाडी जिल्लातर्फ हुने अवैध व्यापार संगठित र सुरक्षित रूपमा सञ्चालन भइरहेको पुष्टि गरेको छ। नियमन र अनुगमन कमजोर हुँदा ढुवानी व्यवसाय तस्करीका लागि सहज माध्यम बन्दै गएको भन्दै सरोकारवालाहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार जिम्मेवार निकायको कडा निगरानी र संलग्न व्यक्तिमाथिको कारबाही बिना यस्तो अवैध कारोबार रोकिने सम्भावना न्यून छ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विशेष निर्देशन दिइसकेको बताए। उनका अनुसार नेपाल–भारत खुला सीमाको दुरुपयोग गर्दै हुने तस्करी राज्यका लागि गम्भीर चुनौती बन्दै गएको छ। ‘सीमा सुरक्षा र चोरी–तस्करी नियन्त्रण सशस्त्र प्रहरीको प्रमुख जिम्मेवारी हो। त्यसलाई प्रभावकारी बनाउन सीमा क्षेत्रमा निगरानी र कारबाही दुवै बढाइएको छ,’ डीआईजी न्यौपानेले बताए।

उनले तस्करी नियन्त्रणका लागि नियमन, अनुगमन र विभिन्न निकाय बीचको समन्वयलाई अझ प्रभावकारी बनाइने स्पष्ट पार्दै शंकास्पद गतिविधि देखिए वा तस्करीसम्बन्धी सूचना भएमा तत्काल सुरक्षा निकायलाई जानकारी गराउन सबैलाई आग्रह गरेका छन्। राजस्व चुहावट रोक्न र अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरी थप सतर्क भएर लागेको जानकारी डीआईजी न्यौपानेले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.