नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर

नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
हस्ताक्षर गर्दै नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठ। तस्बिर : सुनिता डंगोल

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको सुरक्षा गर्ने र सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारको रोकथाम गर्नेसम्बन्धी ऐतिहासिक द्विपक्षीय सांस्कृतिक सम्पत्ति सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन्। 

यस सम्झौताअन्तर्गत नेपाल सरकारद्वारा जारी भई म्याद नगुज्रिएको निर्यात प्रमाणपत्रको साथमा बाहेक, अमेरिकाले नेपालबाट निश्चित पुरातात्विक तथा मानवजातीय सामग्रीको अमेरिकामा आयातलाई आफ्नो कानुनबमोजिम प्रतिबन्धित गर्नेछ। सो सम्झौताले धार्मिक वास्तुकलाका सामग्री, धार्मिक तथा आनुष्ठानिक बस्तुहरू र अमेरिकी सरकारद्वारा आगामी दिनमा प्रकाशित गरिने निर्दिष्ट सूचिमा उल्लिखित पाण्डुलिपिहरूलगायतका पुरापाषाण युगको करिब ३२,००० इसापूर्वदेखि इस्वी संवत् १७७० सम्मका पुरातात्त्विक सामग्री र १३औँ शताब्दीदेखि इस्वी संवत् १९५० सम्मका मानवजातीय सामग्रीहरू समेटेको छ। यस सम्झौताले कलाकृतिको चोरीडकैती र अवैध व्यापारविरुद्ध लड्न द्विपक्षीय सहयोगलाई सुदृढ गरी नेपालका सांस्कृतिक निधि भावी पुस्ताका निम्ति संरक्षित रहने सुनिश्चितता गर्दछ। 

यो सम्झौताले अमूल्य सम्पदालाई अवैध बजारमा पुग्नबाट रोकेर, चोरीडकैतीका प्रेरक तत्वहरूको न्यूनीकरण गरेर र सांस्कृतिक सम्पत्तिको जिम्मेवारीपूर्ण रेखदेखमा प्रवर्द्धन गरेर नेपाललाई महत्वपूर्ण लाभहरू प्रदान गर्नेछ। यसले विश्व सभ्यतामा नेपालका अद्वितीय योगदानको सम्मान गर्दै नेपालको विश्वव्यापी छविलाई उँचो बनाउनुका साथै अमेरिकी संस्था, विश्वविद्यालय र अन्वेषकहरूसँगको सहकार्यलाई सहजीकरण गर्ने जनाइएको छ। यसले नेपालको सांस्कृतिक इतिहासको अध्ययन गरी त्यसबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनसक्ने पनि बताइएको छ। पुण्य तथा ऐतिहासिक कलाकृतिहरू आफ्नै मौलिक परिवेशमा कायम रहने र नेपाली नागरिक तथा आगन्तुक सबैले तिनको अनुभव लिन सक्ने सुनिश्चित गरी यस सम्झौताले नेपालको सांस्कृतिक पर्यटन उद्योगलाई पनि टेवा पुर्‍याउनेछ कार्यक्रममा जानकारी गराइयो। 

हस्ताक्षर समारोहमा राजदूत थम्पसनले भने, ‘यस सांस्कृतिक सम्पत्ति सम्झौताले नेपालको सांस्कृतिक सम्पदाप्रति रहेको अमेरिकाको गहिरो सम्मानमाथि जोड दिएको छ। यसले अवैध ओसारपसार रोकथाममा सहकार्यलाई सुदृढ बनाउँछ, कानुनसम्मत सांस्कृतिक आदानप्रदानमा सहयोग गर्दछ र नेपालको सांस्कृतिक सम्पदा भावी पुस्ताका निम्ति जोगाउने हाम्रो साझा जिम्मेवारीमा बल पुर्‍याउँछ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव मुकुन्द प्रसाद निरौलाले भने, ‘नेपालको सांस्कृतिक सम्पदाको जगेर्नामा निरन्तरको साझेदारीका निम्ति नेपाल सरकार अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्दछ। विगत दुई दशकमा राजदूत सांस्कृतिक संरक्षण कोष र हाल सांस्कृतिक सम्पत्ति सम्झौतामार्फत गरिएको यो साझेदारीले नेपाल र अमेरिकाबीचको बलियो सहकार्यका साथै सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसार रोक्न र भावी पुस्ताका लागि सांस्कृतिक सम्पदाको संरक्षण गर्ने हाम्रो साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।’

अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रले सांस्कृतिक सम्पत्ति सम्झौताहरूको हस्ताक्षर र कार्यान्वयनमार्फत सांस्कृतिक सम्पदाको अवैध ओसारपसारविरुद्ध लड्ने र सांस्कृतिक सम्पदाको संरक्षण गर्ने अमेरिकी कार्यहरूको नेतृत्व गर्दछ। यी सम्झौताहरूले अवैध ओसारपसारका सञ्जालहरू तोड्ने, अमेरिकी संकलक तथा संग्रहालयहरूलाई चोरिएका वस्तु अनजानमा खरिद गर्नबाट जोगाउने र आतंककारी तथा अन्तर्देशीय अपराधीहरूतर्फ हुने आर्थिक प्रवाह रोक्ने गर्छन्। यिनले अमेरिकी नागरिकहरूले विश्वव्यापी सम्पदामा जिम्मेवारीपूर्वक पहुँच पाउन र अध्ययन गर्न सक्ने सुनिश्चित गर्दै, अमेरिकी दूतावासहरूलाई साझेदार देशहरूसँग सम्बन्ध बलियो बनाउने माध्यम उपलब्ध गराएर कूटनीतिलाई पनि बढवा दिन्छन्। विश्वभर सम्पन्न गरिएका र लागू भइसकेका ३० वटा यस्ता सम्झौताहरूका साथ अमेरिका सांस्कृतिक सम्पदा संरक्षणमा विश्वव्यापी अगुवाका रूपमा रहेको कार्यक्रममा जानकारी गराइयो।

नेपालसँगको सांस्कृतिक सम्पत्ति सम्झौता नेपालको सार्वभौमिकता र सम्पदाको सुरक्षाप्रति अमेरिकाको लामो समयदेखिको प्रतिबद्धतामा आधारित रहेको र यसमा विगत दुई दशकमा २८ वटा परियोजनाका लागि राजदूत सांस्कृतिक संरक्षण कोषमार्फत गरिएको ४५ लाख अमेरिकी डलरभन्दा बढीको सहयोग समावेश रहेको दूतावासले जनाएको छ। ती परियोजनाहरूले ऐतिहासिक स्मारक तथा पाण्डुलिपिहरूको जीर्णोद्धार, सांस्कृतिक सम्पदा स्थलहरूको जगेर्ना र हालसालै लुम्बिनीमा नेपालकै पहिलो आधुनिक संरक्षण प्रयोगशालाको स्थापना गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.