उद्योग वाणिज्य संघको गेटमा फोहोर पानीको बोतलहरू झुण्ड्याइयो

उद्योग वाणिज्य संघको गेटमा फोहोर पानीको बोतलहरू झुण्ड्याइयो
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने अभियान थालेका जेनजी पुस्ताका युवाहरूले शनिबार वीरगन्ज उद्योग वाणिज्य संघको मूल प्रवेशद्वार (गेटमा) नदीको फोहोर पानी भरिएको बोतल झुण्ड्याइ दिएका छन्।

यसअघि ७२ घण्टाको अल्टिमेटम दिएका उनीहरूले शनिबार १० वटा बोतलमा नदीको फोहोर पानी भरेर ती बोतलहरू संघको मेन गेटमा लगेर झुण्ड्याइ दिएका हुन्। 
सिर्सिया नदी बचाउ अभियान समितिमा आबद्ध युवाहरूले यसअघि पुस ९ गते संघका अध्यक्ष हरि गौतमलाई नै भेटेर नदीमा प्रदूषण गरिरहेका उद्योगहरूलाई ७२ घण्टाभित्र कारबाही नगरिए वीरगन्ज उद्योग वाणिज्य संघविरुद्ध आन्दोलन थाल्ने चेतावनी दिएका थिए।

तर संघले नदी फोहोर गर्ने उद्योगहरूलाई कारबाही गर्न चासो नै नदेखाएपछि शनिबार आफूहरूले सिर्सिया नदीको फोहोर पानी भरिएको १० वटा बोतल संघको मूल गेटमा लगेर झुण्ड्याइ दिएको अभियानका अगुवा किसु सर्राफले बताए। सर्राफका अनुसार पुस ९ मा ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष गौतमले नदीको पानी फोहोर नरहेको, पानीमुनिको माटो नै फोहोर भएका कारण सतहको पानी कालो देखिएको भन्दै जवाफ दिएका थिए।

शनिबार संघको कार्यालयमा पुग्दा अध्यक्ष गौतम नभेटिएपछि टेलिफोनमा पनि कुरा गर्दा उनले उद्येगहरूलाई कारबाही गर्ने अधिकार संघलाई नरहेको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको सर्राफले बताए। सर्राफले अबको एक हप्ताभित्र नदी प्रदूषित गरिरहेका उद्योगहरूलाई कारबाही गर्न संघले पहल नगरे आफूहरूले नदीको फोहोर पानी ड्रममा ल्याएर संघको कार्यालय परिसरमै खन्याइदिने चेतावनीसमेत दिए।  

करिब तीन दशकदेखि अतिक्रमण र प्रदूषणका चपेटामा परिरहेको सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन यसअघि वीरगन्ज महानगरपालिका लगायतका विभिन्न संघसंस्थालले प्रयास गरेका थिए। तर ती प्रयास सफल नभएपछि पुस ५ गतेदेखि वीरगन्जका जेनजी पुस्ताका युवाहरू स्वतस्फूर्त रुपमा संगठीत भई दबाबमुलक अभियान सञ्चालन गर्दै आइरहेका छन्। अभियानको पहिलो दिनमै पुस ५ गते उनीहरूले नदीको फोहोर पानी बोतलमा भरेर जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगन्ज महानगरपालिकाको कार्यालयमा लगेर सिर्सिया नदीको उपहार भन्दै दिएका थिए।

त्यसपछि पुस ९ गते उनीहरूले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गौतमलाई ७२ घण्टाको अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएका थिए। त्यस बीचमा उनीहरूले पर्साकी निवर्तमान प्रतिनिधि सभा सदस्य विना कुर्मी जयसवाललाई पनि भेटेर नदीको फोहोर पानी उपहार भन्दै दिएका थिए। वीरगन्ज शहरको लाइफ लाइनका रूपमा रहेको सिर्सिया नदी पर्सा–बारामा रहेका उद्योगहरूका कारण करिब तीन दशकदेखि प्रदूषित छ। पर्सा–बारामा औद्योगिक कोरिडोरमा रहेका उद्योगहरूले वर्षौदेखि नदीमा औद्योगिक फोहोर, रासायनिक प्रदूषण, विषाक्त ढल तथा अन्य हानिकारक पदार्थहरू निरन्तर रूपमा विसर्जन गर्दै आएका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.