अमेरिकी सपनाको अवैध बाटो

अमेरिकी सपनाको अवैध बाटो

पछिल्लो समय अमेरिकाबाट चार्टर विमानमार्फत ७५ नेपालीको निष्कासन (डिपोर्ट) भएको घटनाले नेपाली समाज र राज्य संयन्त्रको असफलतालाई पुनः उदांगो पारेको छ । सन् २०२५ को ११ महिनामा मात्रै विभिन्न बहानामा ४४० नेपालीलाई अमेरिकाले फिर्ता पठाएको छ । हालसम्म यो संख्या ६६७ पुगेको छ जुन केवल तथ्यांक मात्र होइन, यो त हजारौं नेपाली परिवारको आर्थिक टाटपल्टाइ र एउटा सिंगो पुस्ताको मानसिक आघातको ऐना पनि हो । करोडौं रुपैयाँ दलाललाई बुझाएर, ज्यान जोखिममा राख्दै १३ देशसम्मको कष्टकर यात्रा गरी अमेरिका छिर्न खोज्नु, छिर्नु र अन्ततः रित्तो हात फर्किनु राष्ट्रिय लज्जाको विषय हो भन्दा फरक पर्दैन । अब सपनाको भनिएको देश यसरी फर्किनु परेका पीडित नेपालीका लागि त दुःखको देश बनेको छ ।

फर्किएर नेपालमा आएपनि यसको जालोबारे उनीहरूले मौनता साँध्नु सबैभन्दा डरलाग्दो पक्ष हो । प्रहरीको तथ्यांकअनुसार ६६७ जना डिपोर्ट हुँदा जम्मा १० जनाले मात्र उजुरी दिनुले मानव तस्करको जालो कति गहिरो र त्रासदीपूर्ण छ भन्ने स्पष्ट पार्छ । ६० देखि ७० लाख रुपैयाँ र कतिपय अवस्थामा त करोडसम्म दलाललाई बुझाएका युवा प्रहरीलाई सूचना दिन डराउनु वा इन्कार गर्नुले राज्यको कानुनी प्रक्रियामा उनीहरूको विश्वासको कमी र दलालहरूको धम्कीपूर्ण प्रभावलाई छर्लंग देखाउँछ । आफन्त वा छरछिमेकी नै दलालका रूपमा सक्रिय हुने भएकाले पनि सामाजिक दबाबका कारण उजुरीहरू बाहिर आउन नसकेका हुन् । तर, पीडितको यो ‘मौनता’ले अन्ततः तस्करहरूलाई नै बल पुगिरहेको छभन्दा दुईमत नहोला ।

राज्यको भूमिका यहाँ केवल विमानस्थलमा सोधपुछ गर्ने र घर पठाइदिने ‘तथ्यांक संकलक’को जस्तो मात्र देखिनु अत्यन्त दुःखद मात्र होइन, लाजमर्दो पनि देखिन्छ । प्रहरीले पीडितले उजुरी दिएनन् भनेर हात बाँधेर बस्नु वा अध्यागमन विभागले ‘आफैं जोखिम मोलेका हुन्’ भन्दै पन्छिनु गैरजिम्मेवारीको पराकाष्ठा हो । मानव बेचबिखन र ओसारपसार जस्तो जघन्य अपराधमा राज्य ‘प्रो–एक्टिभ’ (सक्रिय) हुनुपर्छ । कुन जिल्लाबाट सबैभन्दा बढी मानिस गैरकानुनी बाटोमा लागिरहेका छन् भन्ने तथ्यांक सरकारसँग छ । ती क्षेत्रमा विशेष निगरानी बढाउने, दलालहरूको अन्तर्राष्ट्रिय सञ्जाल तोड्न ‘इन्टरपोल’ जस्ता निकायसँग समन्वय गर्ने र गाउँ–गाउँमा सचेतना फैलाउने काममा सरकार चुकेको छ ।

ह्विलचियर प्रयोगकर्ता भनिएका हस्त गौतम जस्ता चर्चित तस्कर कारागारबाटै फरार हुनुले राज्यको सुरक्षा व्यवस्था र मिलेमतोको गम्भीर प्रश्न खडा गर्छ । तस्करहरूलाई राजनीतिक संरक्षण हुनु र उनीहरू खुलेआम घुम्नुले नै पीडितहरू उजुरी दिन डराएका हुन् । राज्यले नागरिकको सुरक्षा र न्यायको प्रत्याभूति दिलाउन नसक्दा एउटा युवा संखुवासभास्थित आफ्नै घर जान नसकेर राजधानी काठमाडौंमै लुकेर बस्न बाध्य छ । यो सामाजिक विखण्डन र व्यक्तिगत पीडाको जिम्मेवार को ? यहाँनेर नागरिकका लागि सरकार कहाँ छ ? के सरकारले यस्तो अदृश्य घाउको पीडा कहिल्यै महसुस गरेको छ ? के यस्ता घाउमा मलम लगाएको छ ?

अब राज्य केवल प्रतिक्रियात्मक भएर पुग्दैन । अमेरिकाको कडा आप्रवासन नीति र ‘तल्लो बाटो’ (डंकी रुट)का जोखिमबारे व्यापक जनचेतना फैलाउन र निगरानी बढाउन आवश्यक छ । अवैध बाटोमा लागेर १८ जनाले ज्यान गुमाउनु र दर्जनौं हराउनुले अमेरिका जाने नाममा अपराधीकरण बढेको प्रष्ट देखिएको छ । सरकारले पीडितहरूलाई कानुनी संरक्षणको ग्यारेन्टी गर्दै उजुरी दिन प्रोत्साहित गर्नुपर्छ र दलालहरूलाई कडा कानुनी दायरामा ल्याउनुपर्छ । नागरिकको रगत–पसिना र सम्पत्तिमाथि रजाइँ गर्ने तस्करहरूलाई राजनीतिक वा अन्य कुनै पनि बहानामा उन्मुक्ति दिइनुहुँदैन । यस्ता गिरोहलाई कानुनी कारवाहीमा ल्याउनका लागि गृह मन्त्रालय र श्रम मन्त्रालयले फरक ढंगले सोच्न ढिलो भइसकेको छ । तत्काल प्रहरीको सीआईबी परिचालन गरी तिनलाई अनुसन्धान र कारबाही गर्नुपर्छ । तथ्यांक जोडघटाउ मात्र गरेर बस्ने वा उजुरी परेन भनेर मौनता साँध्दा अपराधीले उन्मुक्ति पाएका हुन् । खासमा, राज्यको उपस्थिति विमानस्थलमा मात्र होइन, नागरिकको सुरक्षा र न्यायको हरेक मोडमा देखिनुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.