कोशीबाट राष्ट्रियसभामा सुनीलबहादुर थापा निर्विरोध, दुई पदमा प्रतिस्पर्धा हुने

कोशीबाट राष्ट्रियसभामा सुनीलबहादुर थापा निर्विरोध, दुई पदमा प्रतिस्पर्धा हुने
सुन्नुहोस्

विराटनगर : राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशबाट ‘अन्य समूह’तर्फ नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। 

उम्मेदवारी दर्ताको दिन थापाको एकल उम्मेदवारी मात्रै कायम भएपछि निर्वाचन अधिकृतको कार्यालयले आइतबार औपचारिक रूपमा उनी निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो। कोशीमा अन्य समूहतर्फ रिक्त रहेको एक सदस्य पदका लागि थापाबाहेक अरूको उम्मेदवारी परेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिने तयारीमा रहेका हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालयमा नपुगेपछि थापाको मात्रै उम्मेदवारी कायम भएको थियो। 

एकल उम्मेदवारीका कारण अन्य समूहमा प्रतिस्पर्धा नै नहुने अवस्था बन्यो। निर्वाचन अधिकृतको कार्यालयले कानुनी व्यवस्थाअनुसार थापालाई निर्विरोध निर्वाचित घोषणा गरेको हो। अन्य समूहको नतिजा टुंगिएसँगै अब कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको ध्यान महिला र दलित समूहमा केन्द्रित भएको छ। यी दुई समूहमा कांग्रेस–एमाले गठबन्धन र नेकपाबीच प्रतिस्पर्धा हुने छ। 

महिला समूहतर्फ कांग्रेस–एमाले गठबन्धनबाट रोशनी मेचे उम्मेदवार रहेकी छन् भने नेकपाबाट नमिता न्यौपाने मैदानमा छन्। दलित समूहमा कांग्रेस–एमाले गठबन्धनबाट सोम पोर्तेल र नेकपाबाट खेमराज सुन्दास उम्मेदवार बनेका छन्। राष्ट्रियसभाका १८ रिक्त पदका लागि देशभर माघ ११ गते निर्वाचन हुँदैछ। तीमध्ये कोशी प्रदेशबाट तीन जना सदस्य निर्वाचित हुने व्यवस्था छ। 

अन्य समूहमा थापा निर्विरोध भइसकेकाले बाँकी दुई पदका लागि महिला र दलित समूहमा मतदानमार्फत निर्णय हुनेछ। यद्यपि, कोशीको हालको मतभार संरचना हेर्दा कांग्रेस–एमाले गठबन्धन स्पष्ट रूपमा बलियो अवस्थामा देखिन्छ। कोशीमा राष्ट्रियसभा निर्वाचनका लागि जम्मा ३ सय ६७ जना मतदाता छन्। तीमध्ये ९३ जना प्रदेशसभा सदस्य र २ सय ७४ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख रहेका छन्। निर्वाचन प्रणालीअनुसार प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ निर्धारण गरिएको छ। यही आधारमा मतभार गणना गर्दा दलहरूको शक्ति सन्तुलन स्पष्ट देखिन्छ।

प्रदेश र स्थानीय तह दुवै मिलाएर एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ भने कांग्रेसको ३ हजार ६ सय ८४ मतभार छ। माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको नेकपाको संयुक्त मतभार १ हजार ६ सय ४२ मा सीमित छ। यसरी हेर्दा कांग्रेस–एमाले गठबन्धनको मात्र कुल मतभार ७ हजार ८ सय ९४ पुग्छ। जुन प्रतिस्पर्धी नेकपाको मतभारभन्दा धेरै गुणा बढी हो।

यसबाहेक, कांग्रेस–एमाले गठबन्धनकै पक्षमा रहेको जसपाको १ सय २९ मतभार रहेको छ। राप्रपाको ३ सय ९४ र स्वतन्त्र समूहको ५७ मतभार पनि निर्णायक अवस्थामा पर्न सक्ने देखिन्छ। यद्यपि, समग्र गणनामा महिला र दलित दुवै समूहमा कांग्रेस–एमाले गठबन्धनले सहज जित निकाल्ने आँकलन छ। 
अन्य समूहमा निर्विरोध निर्वाचित र बाँकी समूहमा बलियो मतभारसहितको प्रतिस्पर्धाले कोशी प्रदेशबाट राष्ट्रियसभाको प्रतिनिधित्व लगभग गठबन्धनले सुनिश्चित गरेको देखिन्छ। तर, अन्तिम निर्णय भने माघ ११ गतेको मतदानबाट हुने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.