जति धुम्म उति प्रदूषण टम्म
धुम्म परेको बेला हावा चल्दैन । वायुमण्डल स्थिर हुन्छ । बिहान बाक्लो हुस्सु लाग्छ । जति बेला हावा चल्दैन, त्यतिबेला प्रदूषण बाक्लो बन्दै जान्छ । प्रदूषण उडेर जान सक्दैन ।
काठमाडौं : सोमबारदेखि काठमाडौंमा बिहान धुम्म हुने तर अपराह्नतिर मधुरो घाम लागे पनि चिसो बढेको महसुस हुने भएको छ । तर, मौसमविद्का अनुसार भने काठमाडौंको घाम छेक्ने गरी वायुमण्डलमा धुवाँ देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले काठमाडौंलगायत वरिपरिको आकाशमा अनौठो खालको बादल जस्तै एउटा तह देखिएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । बादल जस्तो देखिए पनि त्यो बादल नभएको उनको भनाइ छ ।
वरिष्ठ मौसमविद् वरुण पौडेलले डढेलोको कारण आएको प्रदूषणको असरले यस्तो देखिएको बताए । उनले भने, ‘अन्य कारण देखिएन तर टाढा जिल्लाहरूमा लागेको डढेलोको खरानीले अलि धमिलो बनायो । घाम पातलो भयो ।’ लामो समय पानी नपरेकाले पनि समस्या निम्ताएको उनले बताए । ‘आन्तरिक प्रदूषण त थियो नै, बाहिरबाट पनि झन् थपियो’, उनले भने ।
धुम्म परेको बेला हावा चल्दैन । वायुमण्डल स्थिर हुन्छ । बिहान बाक्लो हुस्सु लाग्छ । जति बेला हावा चल्दैन, त्यतिबेला प्रदूषण बाक्लो बन्दै जान्छ । प्रदूषण उडेर जान सक्दैन । तल्लो तह चिसो र माथिल्लो तह तातो हुन्छ । बरु तल्लो तह तातो भयो भने कन्भेक्सन भएर प्रदूषण माथि माथि उडेर जान्छ । तर उपत्यका जस्तो ठाउँमा धुम्म भएपछी डाँडाकाँडाले छेकिदिन्छ । त्यसैले प्रदूषण यहीँ बस्छ । विषेश गरी हिउँदमा काठमाडौंको अवस्था यस्तै हुन्छ ।
लामो समयदेखि वर्षा नभएको र विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर बसिरहेको, विभिन्न स्थानमा डढेलो सुरु भएको, देश बाहिरबाट समेत प्रदूषण आउने गरेको र उद्योग, कलकारखाना, सवारी साधन लगायतबाट निस्किने प्रदूषणमा आमनागरिकको स्वास्थ्यमा असर पार्ने भएकाले सावधानी अपनाउन सुझाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलले पनि विभिन्न जिल्लाका दर्जनौं स्थानमा डढेलो सुरु भइसकेको देखाएको छ । त्यसको असर राजधानीसम्मै पुगेको छ । अक्टोबरदेखि पानी पर्न सकेको छैन । त्यसैले पनि डढेलो सुरु भइसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनी वर्षाको सम्भावना नभएको बताउँछन् । हाल पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने कुनै गतिविधिहरू नभएकाले प्रदूषण बढेको उनको भनाइ छ ।
वातावरण विभागले पनि मंगलबार विज्ञप्ति जारी गर्दै प्रदूषण बढेको बताएको छ । काठमाडौं, पोखरालगायत सहर तथा तराईका अधिकांश स्थानमा पीएम २.५ (प्रदूषणका मसिना कण) बढेको पाइएको जनाएको छ । बिहान–बेलुका वायु प्रदूषण उच्च हुने बताएको छ ।
लामो समयदेखि वर्षा नभएको र विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर बसिरहेको, विभिन्न स्थानमा डढेलो सुरु भएको, देश बाहिरबाट समेत प्रदूषण आउने गरेको र उद्योग, कलकारखाना, सवारी साधन लगायतबाट निस्किने प्रदूषणमा आमनागरिकको स्वास्थ्यमा असर पार्ने भएकाले सावधानी अपनाउन सुझाएको छ ।
काठमाडौंमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को मात्रा अत्यधिक नराम्रो देखिन्छ । ‘नेपालको राष्ट्रिय मापदण्डअनुसार सबैभन्दा राम्रो प्रतिघनमिटर ४० माइक्रोग्राम हुनुपर्छ । तर, मंगलबार साढे १२ बजे दुई सय ३७ एक्यूआई थियो । कुनै कुनै ठाउँमा दुई सय २४ थियो । घण्टैपिच्छेको हावाको गुणस्तर हेर्यो भने दुई सयभन्दा तल एक बजेतिर मात्रै झरेको थियो । प्रायजसो बिहान–बेलुका अत्यधिक प्रदूषण बढेको देखिन्छ । तर, हिजोआज मध्यान्नको समयमा पनि प्रदूषण बढी रहेको पाइन्छ ।
सोमबार पनि दिनभरि हावाको गुणस्तर त्यस्तै नाजुक थियो । वातावरण विभागको प्रदूषण मापन तथ्यांकअनुसार रत्नपार्कमा एक सय ८८, भतmपुरमा एक सय ९४, खुमलटारमा एक सय ७८ रहेको थियो ।
आगामी दिनहरू अलि घमाइलो हुने देखिन्छ । हावाको गुणस्तरको दैनिक पूर्वानुमान सामान्यत मंगलबार एक सय ५० भए पनि बुधबार एक सय १०, बिहीबार एक सय ३५, शुक्रबार एक सय ३४ र शनिबार एक सय पाँच पुग्ने पूर्वानुमान छ ।
यतिबेला काठमाडौंको अधिकत्तम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहे पनि न्यूनतम तापक्रम भने ३ देखि ६ को बीचमा रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !