प्रतिनिधिसभा निर्वाचन : रसुवाबाट नेकपा एमालेका दुईजना उम्मेदवार सिफारिस
रसुवा : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले रसुवाले दुईजनाको नाम सिफारिस गरेको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रेम तामाङ र नेकपा एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालको नाम सिफारिस भएको हो।
जिल्ला कमिटी बैठकमा १० जनाले उम्मेदवारका लागि दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारहरूबीच छलफल गरी थोरैभन्दा थोरै नाम सिफारिस गर्ने अख्तियारी दिएको थियो । सोही अनुसार गरिएको छलफलपछि दुईजनाको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टी जिल्ला कमिटी सचिव पेम्बा तामाङले जानकारी दिए ।
प्रेम तामाङ २०६४ सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै,माधव अर्याल २०५४ सालमा गाविस अध्यक्ष,२०६४ मा संविधानसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार तथा २०७९ सालमा उत्तरगया गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।
विकास निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको र जनताप्रति उत्तरदायी नेतृत्व प्रदान गर्ने क्षमताका आधारमा दुवैजनाको नाम उम्मेदवारका रूपमा अघि सारिएको नेकपा एमाले रसुवाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !