गोरु जुधाइ अब सांस्कृतिक पर्व
नुवाकोट : लामो समयदेखि गरिँदै आएको तारुकाको माघे संक्रान्ति मेलालाई यस वर्षदेखि सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको छ। उक्त अवसरमा गरिने गोरु जुधाइ मेलालाई सांस्कृतिक र मनोरञ्जनात्मक गराइएको छ।
तारुकाको पहिचान र मौलिकता बोकेको गोरु जुधाइ मेलालाई तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले तारकेश्वरको गौरव रहेका कारण यसलाई सांस्कृतिक पर्वका रूपमा उठान गरिएको बताए। तारकेश्वर गोरु जुधाइ मेला व्यवस्थापन र पुरस्कारका लागि तारकेश्वर गापाले चारलाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
माघे संक्रान्ति मेलालाई राजनीतिक शृंखला र अतिथिहरूको भाषणबाजीबाट मुक्त गरी विशुद्ध सांस्कृतिक र मनोरञ्जनात्मक पर्वका रूपमा मनाउन आग्रह गरिएको अध्यक्ष अधिकारीको भनाई छ। तारकेश्वर गापा ३ स्थित चन्दनी कटरबोटमा सदियौंदेखि माघे संक्रान्तिका दिन गरिँदै आएको ऐतिहासिक गोरु जुधाइ प्रतियोगितासहितको सांस्कृतिक मेलालाई भव्य, सभ्य, आकर्षक र राजनीतिमुक्त पर्वका रूपमा सम्पन्न गर्न अध्यक्ष अधिकारीले आफूले पहल सुरु गरेको जनाएका छन्।
अध्यक्ष अधिकारीका अनुसार गोरु जुधाइ मेलामा अतिथिहरूलाई प्रमुख, विशिष्ट, विशेष र साधारण भनेर विभाजन नगरी मेलामा उपस्थित सम्पूर्ण आगन्तुकलाई एकमुष्ट र समान हैसियतमा यथास्थानमा आतिथ्य ग्रहण गराउने, मेलामा गोरु जुधाइ प्रतियोगिता, सांस्कृतिक झाँकीहरू र सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू मात्रै समावेश गरिने, भाषणको कार्यक्रम नराख्ने जनाएका छन्।
उनले प्रतियोगितामा सहभागी गोरु धनीहरूलाई तत्कालै प्रतियोगिताकै बीचमा पुरस्कार प्रदान गर्ने, पुरस्कार वितरण र सांस्कृतिक झाँकी प्रदर्शनका लागि बनाइने मञ्च स्थानीय खाटहरूको प्रयोग गरी किफायती ढंगले निर्माण गर्ने, प्रतियोगिताको व्यवस्थापन किसानहरूसँगको समन्वयमा सम्बन्धित वडाले गर्ने, यसै वर्षदेखि प्रतियोगितालाई राजनीतिक छायाँबाट पूर्णरूपमा अलग राख्ने बताएका छन्।
बेत्रावतीमा ११ हलगोरु जुधाइने
रसुवा र नुवाकोटको सिमाना बेत्रावतीमा बिहीबार ११ हलगोरु जुधाइ प्रतियोगिता सञ्चालन हुने भएको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसरमा आयोजना हुँदै आएको गोरु जुधाइ मेला यस वर्ष पनि निरन्तरता दिन लागिएको हो। प्रतियोगितामा भाग लिनेको नाम दर्ताको अन्तिम दिनसम्म ११ हलगोरु दर्ता भएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ। प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भइसकेको स्थानीय गणेश श्रेष्ठले बताए।
गोरु जुधाइ अवलोकन गर्न आउने दर्शकका लागि पार्किङ स्थल, शौचालय तथा पिउने पानीको व्यवस्था गरिएको छ। साथै सस्तो मूल्यमा खाजा तथा खानाका लागि स्टलको समेत व्यवस्था गरिएको छ। नेपाल र तिब्बतबीच १८४९ साल असोज १७ गते सम्पन्न बेत्रावती सन्धिको खुसियालीमा मनाइँदै आएको गोरु जुधाइ मेलाले ग्रामीण पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। मेला अवलोकन गर्न रसुवासहित नुवाकोट, काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरलगायत देशभरबाट हजारौं दर्शक सहभागी हुने गरेका छन्।
कृषिमा आधुनिकीकरणसँगै हाते ट्याक्टरको प्रयोग बढ्दै जाँदा गाउँघरमा गोरु पाल्ने चलन घट्दै गएको कारण प्रतियोगिता सञ्चालनमा चुनौती देखिन थालेको क्लबले जनाएको छ। केहीले भने मनोरञ्जनका लागि जुधाउनका लागि गोरु पाल्ने गर्दछन्।
प्रतियोगितामा सहभागी गोरुका धनीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ भने जुधारु गोरुलाई भिटामिन तथा प्रतिस्पर्धामा सहभागी गोरुको बिमासमेत गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !