भोजपुरको दिंलामा कन्दमुल प्रदर्शनी
भोजपुर (दिंला) : भोजपुरको षडानन्द नगरपालिकाको दिंला बजारमा बिहीबार प्रथम कन्दमुल प्रदर्शनी गरिएको छ। चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाको अवसरमा नगरपालिकाले एक दिने कन्दमुल प्रदर्शनी कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा नगर क्षेत्रका १४ वटै वडाका कृषक समूहले उत्पादन गरेका कन्दमुलहरूको प्रदर्शनी गरिएको थियो। प्रदर्शनीको नगरप्रमुख सुरेन्द्रकुमार उदास, उपप्रमुख प्रमिला राई, प्रमुख प्रशासकीय अधिकृत मणिकुमार तामाङ लगायतले निरीक्षण गरेका थिए। प्रदर्शनीको अवलोकन गर्दै नगर प्रमुख उदासले कन्दमुलको व्सायिकरणका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रदर्शनीमा वडा नम्बर १० को पुनर्जागरण बहुउद्देश्यीय कृषक समूह प्रथम, वडा नम्बर ४ को शुभबिहानी कृषक समूह दोस्रो, वडा नम्बर ८ को सेमेङ फलफूल तथा कृषक समूह तेस्रो भए। सान्त्वना हुनेमा वडा नम्बर ९ को पञ्चकन्या कृषक सहकारी संस्था , वडा १३ को बोयाली बहुउद्देश्यीय कृषि तथा नर्सरी कृषक समूह र वडा नम्बर १४ को बिहीबारे फलफूल खेती कृषक समूह रहेका छन्।
सामुदायिक बीउ विज्ञ पिताम्बर श्रेष्ठ र षडानन्द नगरपालिका कृषि शाखाको निर्णायक टोलीले उत्कृष्ट समूहक समूहहरूको घोषणा गरेको थियो।
प्रदर्शनीमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेहरूलाई क्रमश ५ हजार, ३ हजार, २ हजार र १/१ हजार प्रदान गरिएको छ। प्रदर्शनीका विजेताहरूलाई नगर उपप्रमुख प्रमिला राई, वडा नम्बर ९ का वडाध्यक्ष तथा कृषि विकास समिति सभापति निङ्मा शेर्पा लगायतले नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !