झापा ३ : एमाले कार्यकर्ताले यस पटक पनि ‘सूर्य’ चिन्हमा मतदान गर्न नपाउने संकेत

झापा ३ : एमाले कार्यकर्ताले यस पटक पनि ‘सूर्य’ चिन्हमा मतदान गर्न नपाउने संकेत
सुन्नुहोस्

झापा : झापा क्षेत्र नम्बर ३ मा यस पटक पनि नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले सूर्य चिन्हमा मतदान गर्न नपाउने संकेत देखिएको छ। शनिबार सम्पन्न एमालेको सचिवालय बैठकले देशभरका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ। झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये एमालेले चारवटा निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरिसकेको छ। 

तर, झापा ३ मा भने कोही उम्मेदवार परेनन्। अध्यक्ष केपी शर्मा ओलीले नाम टुङ्गाउने भनेर छाडिदिएको छ। झापा १ मा रामचन्द्र उप्रेती, झापा २ मा देवराज घिमिरे, झापा ४ मा मनोज ताम्ली र झापा ५ मा अध्यक्ष केपी शर्मा ओली आफै उम्मेदवार बनेका छन्। झापा ३ ले सिफारिस गरेका नामहरू समेत नपरेपछि यहाँका नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन्। 

गत पुस १९ गते एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं. ३ को पूर्ण विस्तारित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५ जनाको नाम सिफारिस गरेको थियो। बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा केन्द्रीय सदस्य दीपक कार्की, हरिबहादुर राजवंशी, वसन्त बानिया, सन्तलाल मेचे र देवेन्द्र आचार्यको नाम सिफारिस गरी पठाएको थियो। 

झापा ३ लाई जहिले पाखा लगाउने भन्दै बैठकले झापा ३ बाट अध्यक्ष केपी शर्मा ओलीको एकल नाम सिफारिस गर्ने बारेमा छलफल भएको थियो। तर, अन्ततः बैठकले व्यङ्ग्यात्मक रूपमा केन्द्रीय सदस्य दीपक कार्कीको नाम सिफारिस गरेर पठाएको त्यस बेला बैठकमा सहभागी एक नेताले बताए। चिढिएका कार्यकर्ताहरूले एक नम्बरमा राखेर कार्की नाम पठाएका थियो। ‘उहाँ झापा ५ का हुन्,’ उनले भने। 

भर्खरै सम्पन्न एमालेको एघारौं महाधिवेशनमा झापा ३ बाट कोही पनि केन्द्रीय सदस्यमा परेनन्। त्यति मात्र नभएर फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक सूचीमा पनि यस क्षेत्रबाट अध्यक्ष ओलीले कसैलाई पनि अटाएनन्। अहिले प्रत्यक्षतर्फ पनि उम्मेदवार नपर्दा यहाँका नेता तथा कार्यकर्ता निराशा देखिएका छन्। 

२०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी अध्यक्ष ओलीले राप्रपासँग चुनावी तालमेल गर्दा ती दुवै निर्वाचनमा एमाले नेता तथा कार्यकर्ताले सूर्य छाडेर हलोमा मतदान गर्नु परेको थियो। यस पटक अध्यक्ष ओलीले त्यसै गर्न लागेको संकेत देखिएको छ। अध्यक्ष ओलीले राप्रपासँग चुनावी तालमेल गरे यहाँका नेता तथा कार्यकर्ताले यस पटक कुनै हालतमा प्रतिगामी र पुनरुत्थानवादीलाई नसघाउने भनी पूर्ण विस्तारित बैठकमा निर्णय भइसकेको क्षेत्रीय सचिव नरेश चुडालले बताए। संविधान रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच चुनावी तालमेल हुने सम्भावना जिवितै छ। ‘त्यसो नभएको खण्डमा यस पटक कार्यकर्ताले मतपत्रमा डटपेनले सूर्य चिन्ह बनाएर भएपनि भोट हाल्छन्,’ सचिव चुडालले भने। 
  
‘अरू बेला सूर्य चिन्ह बोकेर हिँड्ने एमालेका कार्यकर्ताले चुनावको बेला अरूको झन्डा बोकेर उनीहरूकै चुनाव चिन्हमा मतदान गर्नु पर्ने यो कस्तो राजनीति हो,’ अर्को एक नेताले भने, ‘एक पटक वा दुई पटक हुन्छ सधैँ भरि त्यस्तो कहाँ हुन्छ त, यस पटक त विद्रोह गरिन्छ।’  

झापा ५ बाट उम्मेदवार बनेका अध्यक्ष ओलीको प्रमुख प्रतिस्पर्धी यस पटक रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) हुने निश्चित छ। बालेनलाई हराउन अध्यक्ष ओलीले झापा ३ लाई फेरि चुनावी हतियार बनाउन खोजेका छन्। कांग्रेस विभाजित हुन अघि एमाले र कांग्रेसबीच चुनाव तालमेल हुने योजना थियो। त्यस बेला एमालेले झापा १ र ३ कांग्रेसलाई छाड्ने मनस्थिति पनि बनाइसकेको थियो। अन्ततः कांग्रेस विभाजित भएपछि अब एमालेको एक मात्र विकल्प राप्रपा नै देखियो। गत पुस २३ गते एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच ओली निवास गुन्डु, भक्तपुरमा भेटवार्ता थियो। 

उक्त भेटमा दुई पार्टीका अध्यक्षबीच समसामयिक राजनीतिक विश्लेषण र लामो संवाद समेत भएको बताइएको छ। ओलीको निर्वाचन क्षेत्र पर्ने दमकमा राप्रपाको राम्रो पकड छ। बालेनलाई हराउन राप्रपाको भोट फेरि आवश्यक पर्ने भएकोले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनावी तालमेल हुन सक्ने सम्भावना प्रबल छ। यो भएपछि झापा ३ मा लिङ्देन पनि सुरक्षित हुन्छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.