सुनसरी : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरीमा उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरू भएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आजदेखि उम्मेदवारहरूले तोकिएको समयअनुसार मनोनयन दर्ता गरिरहेका छन् ।
सुनसरी क्षेत्र नम्बर–१ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट महेश श्रेष्ठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई पालैपालो समय मिलाएर मनोनयन दर्ताको व्यवस्था गरेको छ । जसका कारण प्रक्रिया व्यवस्थित र शान्तिपूर्ण रूपमा अघि बढिरहेको सुनसरी क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दिब्यराज घिमिरेले बताएका छन् ।
मनोनयन दर्तालाई लक्षित गर्दै सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशबकुमार थेबेले मनोनयन स्थल तथा आसपासका क्षेत्रमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । शान्ति,सुव्यवस्था र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको उनको भनाई छ ।
निर्वाचन कार्यालयका अनुसार मनोनयन दर्तापछि उम्मेदवारी जाँच,दाबी–विरोध, नाम फिर्ता र अन्तिम उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका निर्वाचन आयोगको निर्देशिकाअनुसार अघि बढ्ने घिमिरेले बताए । उम्मेदवारी मनोनयन दर्ता सुरु भएसँगै सुनसरीको राजनीतिक गतिविधि बढेको छ।
प्रतिक्रिया दिनुहोस !