झापा–५ को सुरक्षामा उच्च सतर्कता
सुनसरी : झापा क्षेत्र नम्बर–५ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दमक क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन प्रतिस्पर्धा चर्किंदै गएपछि दमक आसपासका क्षेत्रमा १०० जना प्रहरी थप परिचालन गरिएको छ।
एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका निवर्तमान मेयर बालेन साहबीच कडा प्रतिस्पर्धा हुने निश्चित भएपछि यो निर्वाचन राष्ट्रिय चासोको विषय बनेको छ। मंगलबार मनोनयन दर्ताका क्रममा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच भएको झडपपछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विशेष सुरक्षा टोली दमक पठाएको छ। दुई जना प्रहरी निरीक्षकको कमाण्डमा १०० जनाको टोली दमक क्षेत्रमा थप सहयोगका लागि परिचालन गरिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि नै इलाका प्रहरी कार्यालय दमकमा डीएसपी किशोर लम्सालको कमाण्डमा १०० भन्दा बढी प्रहरी नियमित रूपमा परिचालन हुँदै आएका थिए। अब प्रहरी निरीक्षक सहितको थप १०० जनाको टोली परिचालन भएसँगै दमक तथा आसपासका संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले झापा क्षेत्र नम्बर–५ लाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्र मानिएको जानकारी दिए। चुनावी गतिविधि तीव्र बन्दै गएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै थप प्रहरी टोली परिचालन गरिएको उनले भनाइ छ। प्रदेशका अन्य निर्वाचन क्षेत्रमा पनि आवश्यकता अनुसार थप सुरक्षा व्यवस्था मिलाइने उनले बताएका छन्।
एमाले अध्यक्ष ओली र रास्वपाका वरिष्ठ नेता बालेन साह चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा क्षेत्र नम्बर–५ लाई स्थानीय स्तरमा मात्र होइन, राष्ट्रिय रूपमा समेत गम्भीर रूपमा हेरिरहेको छ। सामाजिक सञ्जालदेखि सडकसम्म चर्को बहस र राजनीतिक ध्रुवीकरण देखिन थालेपछि सुरक्षामा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले प्रहरी प्रशासन उच्च सतर्कतामा रहेको जनाइएको छ। प्रहरी प्रशासनले शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गराउन सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस !