जेनजी आन्दोलनमा तोडफोड भएको ट्राफिक लाइट पुनः सञ्चालन

जेनजी आन्दोलनमा तोडफोड भएको ट्राफिक लाइट पुनः सञ्चालन

विराटनगर : जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरेर ध्वस्त पारेको विराटनगरस्थित बरगाछीको ट्राफिक लाइट बिहीबारदेखि पुनः सञ्चालनमा आएको छ। 

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार लाइट मर्मत गरेर सञ्चालनमा ल्याउँदा बरगाछी क्षेत्रमा बढिरहेको सवारी दुर्घटना कम हुने अपेक्षा गरिएको छ। उनले भने, ‘ट्राफिक लाइट सञ्चालनमा नआउँदा सवारीसाधनको चाप अत्यधिक थियो। सडकमा भिडभाड र दुर्घटनाको जोखिम बढेको थियो। अब लाइट सञ्चालनमा आएपछि सवारी आवागमन सहज भएको छ।’

भदौ २४ गतेदेखि विराटनगरका मुख्य ट्राफिक लाइटहरू बन्द थिए। बरगाछीसँगै रोडशेषचोक, जलजला चोक, घाँसचोक, कञ्चनबारी र तीनपैनीका लाइटहरू अराजक समूहको निशानामा परेका थिए। आगजनी र तोडफोड गरेर लाइट, एमसीबी, स्वीच अनअफ बोर्डलाई ध्वस्त पारियो। पोलका तार काटेर ब्याट्री तथा इन्भर्टर चोरी गरियो। यसले विराटनगरको सवारी व्यवस्थापनमा ठूलो चुनौती सिर्जना गरेको थियो।

ट्राफिक प्रहरीका अनुसार ट्राफिक लाइट नचल्दा बजारभित्र सवारी जाम बढेको थियो। पैदल यात्रुका लागि समेत जोखिम बढेको थियो। ट्राफिक प्रहरीले म्यानुअल रूपमा ट्राफिक व्यवस्थापन गर्नु परिरहेको थियो। तर, लाइट सञ्चालनमा आएपछि सडकमा सवारीसाधनको व्यवस्थित आवागमन सुनिश्चित भएको इन्स्पेक्टर न्यौपानेले बताए। 

उनले भने, ‘बरगाछीमा लाइट पुनः सञ्चालनमा आए पनि विराटनगरका अन्य स्थानका ट्राफिक लाइट कहिलेदेखि सञ्चालनमा आउने भन्ने निश्चित छैन। अन्य स्थानका लाइटहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल भइरहेको छ।’ कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले सहरका ६ प्रमुख स्थानमा ट्राफिक लाइट जडान गरी सञ्चालनमा ल्याएका थिए। तर, जेनजी आन्दोलनको समयमा लाइटमाथि भएको तोडफोड र आगजनीले सवारी व्यवस्थापन प्रणालीलाई लामो समयसम्म प्रभावित पार्‍यो। 

विराटनगरमा ट्राफिक लाइटको महत्व उल्लेखनीय छ। ट्राफिक लाइटले सवारी आवागमनलाई व्यवस्थित बनाउन, दुर्घटना न्यूनीकरण गर्न र पैदल यात्रुका लागि सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ। लाइट नहुँदा सडकमा भिडभाड, दुर्घटना र सवारी जाम बढ्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ। 

बरगाछी ट्राफिक लाइट पुनः सञ्चालनमा आएसँगै स्थानीय, यात्रु र सवारी चालकहरूले राहत महसुस गरेका छन्। ‘अब सडकमा केही सहज भएको छ। विराटनगरमा सबैतिरका लाइट सञ्चालनमा आए ठूलो राहत हुने थियो,’ एक जना चालकले भने। आगामी दिनमा अन्य स्थानका ट्राफिक लाइट पनि मर्मत गरी सञ्चालनमा ल्याउनलाई पहल भइरहेको जानकारी इन्स्पेक्टर न्यौपानेले दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.