जताततै चुनावी लहर, तर खबरदारी झन् बढी खाँचो
होला, नहोला भन्दाभन्दै फागुन २१ मा निर्वाचन हुनेमा अब द्विविधा रहेन । आकाशै खस्ने त्यस्तो केही नभए अब फागुन २१ मा चुनाव हुन्छ । माघ ६ गते सबैजसो दलहरूले उम्मेदवारी दर्ता गराए । अर्थात् खेल खेल्न खेलाडीहरू सबै तयार भए । सुरुमा निर्वाचनको वातावरणबारे झकझकाइरहने एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम्ले झापा–५ पुगेर उम्मेदवारी दिएका छन् । अघिअघि निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्दसम्म यसपालि चुनावमा होमिएका छन् । पुराना ठूलो दल नेपाली कांग्रेस आन्तरिक किचलोमा थियो । तर, उम्मेदवारी दर्तामा कुनै अप्ठ्यारो आइलागेन । निर्वाचन आयोगले पनि आधिकारिकतामा फ्रास्ट ट्र्याकमा टुंग्यायो । त्यसमाथि कांग्रेसभित्रको विवाद पनि मत्थर भइसकेको छ, हाला कि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो अब निर्वाचनका लागि कुनै तगारो होइन ।
एउटै सिटका लागि औसतमा २१ गुणा बढी उम्मेदवारी परेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८४ जना उम्मेदवार भएका छन् । जति धेरै प्रतिस्पर्धी र इच्छुक त्यति नै निर्वाचनको आकर्षण हो । संख्यात्मक वृद्धिले लोकतन्त्रको सुन्दर पक्ष उजागर भएको छ । मनोनयन दर्ता लगत्तै दल र उम्मेदवारहरू मतदाताहरूको घरदैलोमा जुटिसकेका छन् । आमसभा र कोणसभाहरूचाहिँ केही समयपछि हुनेछ । मनोनयनका दिन जुन उत्साह देखिएको थियो, त्यसले पनि चुनावी सरगर्मी ह्वात्तै बढायो । देशै चुनावमय भयो । यो निर्वाचनका लागि निकै सकारात्मक सन्देश र संकेत हो । नयाँ, पुराना सबैखाले दलहरू चुनावका लागि हौसिएका छन् । अब मुलुकको संक्रमणले नयाँ दिशा पक्रेको छ, जसबाट राजनीतिक निकास छिटो पाउने विश्वास गर्न सकिन्छ । चुनावमात्रै मुलुकको अन्योल चिर्ने सबैभन्दा ठूलो माध्यम हुन्थ्यो, अब देश त्यही बाटोमा छ । जेन–जी आन्दोलनपछि देखिएको आक्रोश, आवेग र प्रतिशोध करिब–करिब थाती राखेर मुलुकले हाँसिल गरेको सबैभन्दा ठूलो उपलब्धि हो । फलस्वरूप निर्वाचनको माहोल बन्यो ।
संवैधानिक संकटमा परेको मुलुकलाई फेरि ट्र्याकमा लैजाने उपाय नै निर्वाचन थियो । त्यस हिसाबले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता जस्ता उपलब्धि रक्षाको बाटोमा मुलुक छ । तसर्थ पनि यो निर्वाचन अरू सामान्य आमनिर्वाचन मात्रै होइन । यसैबाट मुलुक फेरि संविधानको राजमार्गमा अगाडि बढ्ने हो । दलहरू चुनावमा होमिएजस्तो मतदातामा पनि उत्साह देखिन्छ । नयाँ, पुराना दलहरूका कार्यक्रममा गतिविधिमा देखिएको सहभागिता त्यसैको द्योतक हो । मतदाता छिटोभन्दा छिटो आफ्ना प्रतिनिधि चुन्न आतुर छन् । १ करोड ९० लाख जति मतदाताले अब देशको र आफ्नो भाग्य र भविष्य कसलाई सुम्पने भनेर फागुन २१ मा तय गर्नेछन् । त्यसदिन धेरै मतदान हुने संकेत पनि देखिएको छ, जुन सुखद हो । निर्वाचनमा उम्मेदवारमात्रै भएर हुँदैन, मतदाताको सहभागिता धेरै हुनुले अपनत्व सिर्जना गर्छ, लोकतन्त्र बलियो बनाउँछ । र, दार्शनिक प्लेटोले भनेजस्तै राजनीतिमा तटस्थ बस्नुको दण्ड अयोग्यहरूद्वारा शासित हुनु हो । यत्ति बुझेर मतदाताको उत्साह निर्वाचनमा भयो भने मुलुकको लोकतन्त्रले ठूलो त्राण भेट्नेछ । दल र उम्मेदवारहरूले निर्वाचनमा आचारसंहिता पूरापुर पालना गरेर शान्तिपूर्ण, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न मद्दत गर्नुपर्छ ।
यो चुनाव धमिलो पानीमा माछा मार्ने र देशलाई दशकौं अन्धकारमा धकेल्न खोज्नेहरूलाई जवाफ दिने मौका पनि हो । यसका लागि जनता जागरुक र सचेत हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलहरूले सिर्जनात्मक सक्रियता देखाउनुपर्छ । पुरानै ढर्रा र लयले यो लक्ष्य प्राप्ति असम्भव छ । चुनावप्रति देखिएको यो विशाल लहरले तब मात्र सफलता प्राप्त गर्छ, जब यसको परिणाम देश र जनताको पक्षमा हुन्छ । दीर्घकालीन शान्ति, स्थिरता र समृद्धिको पक्षमा जुट्ने लहरले मात्र साँचो अर्थमा चुनावको परिणाम दिनेछ । नागरिक समाज, सञ्चार माध्यम, समाजका विविध तह, तप्काले यसतर्फ सजग र चनाखो हुनुपर्ने बेला छ ।
प्रतिक्रिया दिनुहोस !