जताततै चुनावी लहर, तर खबरदारी झन् बढी खाँचो

जताततै चुनावी लहर, तर खबरदारी झन् बढी खाँचो
सुन्नुहोस्

होला, नहोला भन्दाभन्दै फागुन २१ मा निर्वाचन हुनेमा अब द्विविधा रहेन । आकाशै खस्ने त्यस्तो केही नभए अब फागुन २१ मा चुनाव हुन्छ । माघ ६ गते सबैजसो दलहरूले उम्मेदवारी दर्ता गराए । अर्थात् खेल खेल्न खेलाडीहरू सबै तयार भए । सुरुमा निर्वाचनको वातावरणबारे झकझकाइरहने एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम्ले झापा–५ पुगेर उम्मेदवारी दिएका छन् । अघिअघि निर्वाचन बहिष्कार गर्दै आएका नेत्रविक्रम चन्दसम्म यसपालि चुनावमा होमिएका छन् । पुराना ठूलो दल नेपाली कांग्रेस आन्तरिक किचलोमा थियो । तर, उम्मेदवारी दर्तामा कुनै अप्ठ्यारो आइलागेन । निर्वाचन आयोगले पनि आधिकारिकतामा फ्रास्ट ट्र्याकमा टुंग्यायो । त्यसमाथि कांग्रेसभित्रको विवाद पनि मत्थर भइसकेको छ, हाला कि मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । त्यो अब निर्वाचनका लागि कुनै तगारो होइन ।

एउटै सिटका लागि औसतमा २१ गुणा बढी उम्मेदवारी परेको छ । १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजार ४ सय ८४ जना उम्मेदवार भएका छन् । जति धेरै प्रतिस्पर्धी र इच्छुक त्यति नै निर्वाचनको आकर्षण हो । संख्यात्मक वृद्धिले लोकतन्त्रको सुन्दर पक्ष उजागर भएको छ । मनोनयन दर्ता लगत्तै दल र उम्मेदवारहरू मतदाताहरूको घरदैलोमा जुटिसकेका छन् । आमसभा र कोणसभाहरूचाहिँ केही समयपछि हुनेछ । मनोनयनका दिन जुन उत्साह देखिएको थियो, त्यसले पनि चुनावी सरगर्मी ह्वात्तै बढायो । देशै चुनावमय भयो । यो निर्वाचनका लागि निकै सकारात्मक सन्देश र संकेत हो । नयाँ, पुराना सबैखाले दलहरू चुनावका लागि हौसिएका छन् । अब मुलुकको संक्रमणले नयाँ दिशा पक्रेको छ, जसबाट राजनीतिक निकास छिटो पाउने विश्वास गर्न सकिन्छ । चुनावमात्रै मुलुकको अन्योल चिर्ने सबैभन्दा ठूलो माध्यम हुन्थ्यो, अब देश त्यही बाटोमा छ । जेन–जी आन्दोलनपछि देखिएको आक्रोश, आवेग र प्रतिशोध करिब–करिब थाती राखेर मुलुकले हाँसिल गरेको सबैभन्दा ठूलो उपलब्धि हो । फलस्वरूप निर्वाचनको माहोल बन्यो ।

संवैधानिक संकटमा परेको मुलुकलाई फेरि ट्र्याकमा लैजाने उपाय नै निर्वाचन थियो । त्यस हिसाबले गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता जस्ता उपलब्धि रक्षाको बाटोमा मुलुक छ । तसर्थ पनि यो निर्वाचन अरू सामान्य आमनिर्वाचन मात्रै होइन । यसैबाट मुलुक फेरि संविधानको राजमार्गमा अगाडि बढ्ने हो । दलहरू चुनावमा होमिएजस्तो मतदातामा पनि उत्साह देखिन्छ । नयाँ, पुराना दलहरूका कार्यक्रममा गतिविधिमा देखिएको सहभागिता त्यसैको द्योतक हो । मतदाता छिटोभन्दा छिटो आफ्ना प्रतिनिधि चुन्न आतुर छन् । १ करोड ९० लाख जति मतदाताले अब देशको र आफ्नो भाग्य र भविष्य कसलाई सुम्पने भनेर फागुन २१ मा तय गर्नेछन् । त्यसदिन धेरै मतदान हुने संकेत पनि देखिएको छ, जुन सुखद हो । निर्वाचनमा उम्मेदवारमात्रै भएर हुँदैन, मतदाताको सहभागिता धेरै हुनुले अपनत्व सिर्जना गर्छ, लोकतन्त्र बलियो बनाउँछ । र, दार्शनिक प्लेटोले भनेजस्तै राजनीतिमा तटस्थ बस्नुको दण्ड अयोग्यहरूद्वारा शासित हुनु हो । यत्ति बुझेर मतदाताको उत्साह निर्वाचनमा भयो भने मुलुकको लोकतन्त्रले ठूलो त्राण भेट्नेछ । दल र उम्मेदवारहरूले निर्वाचनमा आचारसंहिता पूरापुर पालना गरेर शान्तिपूर्ण, स्वतन्त्र र स्वच्छ निर्वाचन गर्न मद्दत गर्नुपर्छ ।

यो चुनाव धमिलो पानीमा माछा मार्ने र देशलाई दशकौं अन्धकारमा धकेल्न खोज्नेहरूलाई जवाफ दिने मौका पनि हो । यसका लागि जनता जागरुक र सचेत हुनुपर्छ । त्यसका लागि सबै राजनीतिक दलहरूले सिर्जनात्मक सक्रियता देखाउनुपर्छ । पुरानै ढर्रा र लयले यो लक्ष्य प्राप्ति असम्भव छ । चुनावप्रति देखिएको यो विशाल लहरले तब मात्र सफलता प्राप्त गर्छ, जब यसको परिणाम देश र जनताको पक्षमा हुन्छ । दीर्घकालीन शान्ति, स्थिरता र समृद्धिको पक्षमा जुट्ने लहरले मात्र साँचो अर्थमा चुनावको परिणाम दिनेछ । नागरिक समाज, सञ्चार माध्यम, समाजका विविध तह, तप्काले यसतर्फ सजग र चनाखो हुनुपर्ने बेला छ ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.