पहिलो हिउँदे वर्षा शुक्रबार

‘हिउँदमा पानी पार्ने प्रणाली कमजोर बन्दै’

‘हिउँदमा पानी पार्ने प्रणाली कमजोर बन्दै’

काठमाडौं : यो वर्षको पहिलो हिउँदे वर्षा शुक्रबारदेखि सुरु हुने मौसमविद्हरूले बताएका छन् । अक्टोबरपछि एकझर पानी पर्न सकेको छैन । हुन त जल तथा मौसम विज्ञान विभागले यो वर्ष पनि हिउँदे खडेरी हुन सक्ने पहिला नै जानकारी गराएको थियो । तर शुक्रबारदेखि पानी पर्ने पूर्वानुमानले किसानमा खुसी छाएको छ ।

विभागका प्रवक्ता, विभूति पोखरेलले हालसम्म शून्य वर्षाको अवस्था रहेको जनाइन् । ‘अक्टोबरमा पानी परे पनि त्यसपछि परेको छैन । हालसम्म सुक्खा देखिएको छ । अब पानी पर्दैछ’ पोखरेलले भनिन, ‘पश्चिमतिर अलि धेरै पानी पर्ने देखिएको छ । पानी पार्ने दुईवटा प्रणालीले केही वर्षा ल्याए पनि पर्याप्त चाहिँ हुँदैन ।’ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलले पानी पार्ने प्रणाली आए पनि बलियो नभएको बताए । उनले भने ‘त्यसले पूरा नेपालमा पानी ल्याउँदैन । हिउँद याममा हुने वर्षाका प्रणालीहरू कमजोर हुँदै गएका छन् ।’

पश्चिम नेपालमा पानी परे पनि पूर्वमा भने नपर्ने सिग्देलले जनाए । अन्य ठाउँका हिमाली र पहाडी भेगमा केही मात्रामा पानी परे पनि काठमाडौंमा हल्का प्रभावमात्रै देखिने पूर्वानुमान रहेको छ ।

सिग्देलका अनुसार पोस्ट मनसुनमा भएको वर्षा (गत कात्तिक)ले अहिलेसम्म धानेकोे हो । त्यतिबेला परेको पानीकै कारण माटोको ओस घटेको छैन । त्यतिबेलाको हिउँले अहिलेसम्म सन्तुलन गरिरहेकाले सुक्खापन कम गरेको जनाए । एक पटक हिउँ परेपछि तीन, चार महिना पानीको मात्रा कम हुँदैन । तर अझै पानी परेन भने फागुनतिर फेरि नराम्ररी खडेरीको सामना गर्नु पर्नेछ । सिग्देलले थपे, पछिल्लो चार, पाँच वर्षदेखि हिउँदमा पानी परेको छैन । गत वर्ष यतिबेला हिउँ थिएन । अहिले कात्तिकमा परेको पानीले हिमालमा अलिकति हिउँको मात्रा पुर्‍याए पनि हिउँदे वर्षा गराउन कुनै सिस्टमले काम गर्न सकेको छैन ।

वरिष्ठ मौसमविद्, अजय दीक्षितले ८० प्रतिशत पानी मनसुनमा पर्ने भए पनि २० प्रतिशत अन्य समयमा पर्ने प्राकृतिक शैलीमा परिवर्तन देखिएको बताए । उनले भने ‘पोहोर पनि हिउँदमा पानी परेन । यस्तै क्रम चलिराखेमा जेठमा के होला ?’

गत वर्षको हिउँद सुक्खा नै थियो । विभागले गत वर्ष पनि देशभर सरदरभन्दा कम वर्षा हुने र अधिकतम र न्यूनतम तापक्रम बढी हुने आकलन गरेको थियो । सोहीअनुसार देशको अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुनुका साथै अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा बढी मापन गरिएको थियो । त्योभन्दा अघिल्लो हिउँद पनि सुक्खा नै रह्यो ।

पछिल्लो समय हिउँदे खडेरी बढन थालेको अध्ययनहरूले पनि देखाइसकेका छन् । हिउँदमा पानी पर्ने क्रम पातलिएपछि कृषि, वातावरण, यातायात, मानव स्वास्थ्यमात्रै नभएर पूरै पारिस्थितिक प्रणालीमा असर गरिरहेको विज्ञहरू बताउँछन् ।

हिउँदे खडेरी चरम मौसमी घटना
वल्र्ड इकोनोमिक फोरमले यसै साता सार्वजनिक गरेको एउटा तथ्यांकले चरम मौसमी गतिविधि (इक्ट्रिम वेदर इभेन्ट्स) विश्वको पहिलो दीर्घकालीन जोखिम बन्ने जनाएको छ । दीर्घकालीन भन्नाले आगामी १० वर्षको अवधिलाई लिइएको छ । त्यसैगरी अल्पकालीन समस्याको रूपमा हेर्दा (दुई वर्षको अवधिमा) चरम मौसमी गतिविधि चौथो नम्बरको जोखिम बन्ने जनाएको छ । हिउँदे खडेरीलाई पनि चरम मौसमी घटनाका रूपमा लिइएको छ ।

जलवायु परिवर्तनका लागि अन्तरसरकारी प्यानल (आईपीसीसी) को छैटौं एसेसमेन्ट रिपोर्टमा मानवीय गतिविधि तथा जलवायु परिवर्तनका कारण खडेरी बढेको उल्लेख छ । यसले विशेषगरी हिउँदे खडेरी, वर्षात्को शैलीमा परिवर्तन, हिमालमा हिउँ कम हुने जसका कारण पानीका स्रोतमा असर गर्ने, डढेलो बढाउने, सुक्खा ल्याउने, पानीको अभाव हुने, हिमनदीमा असर गर्ने जनाएको छ ।

हिउँदे खडेरीले विशेषगरी हिमालमा हिउँ कम हुँदा हिमालको पूरै पारिस्थितिक प्रणाली (इकोसिस्टम)लाई प्रभाव पार्ने र करोडौं मानिस पानीको कारण प्रभावित बन्ने पनि उल्लेख छ । त्यसैगरी कृषि तथा पारिस्थितिक खडेरीले अत्यन्त नराम्ररी प्रभाव पार्नेछ ।

बर्खामा समेत खडेरी
गएको बर्खामा तराई क्षेत्र खडेरीको चपेटासँग नराम्ररी जुध्नु पर्‍यो । मन्त्रिपिरषद्को बैठकले ‘प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा’ नै गरेको थियो । कोशी र मधेस प्रदेशका दर्जनौं जिल्ला खडेरीको मारमा परेका थिए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को एउटा रिपोर्टमा गएको बर्खामा करिब ४० प्रतिशत (१ लाख ४२ हजार हेक्टर) खेतीयोग्य जग्गा खडेरीको मारमा परेको जनाएको छ । यसले करिब चारदेखि ४ लाख ५० हजार मेट्रिकटन धान उत्पादनमा गिरावट आउने बताएको थियो ।
तराईमा खडेरीका कारण धान उत्पादनमा गिरावट आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा खाद्य सुरक्षाका लागि धानबाली एउटा महत्त्वपूर्ण बाली मानिन्छ । कृषि क्षेत्रमा गार्हस्थ्य उत्पादनमा धानबालीको योगदान करिब १२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २०८१/०८२ मा धान बालीको कुल क्षेत्रफल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफल रहेकोमा यस आर्थिक वर्षमा ३.८ प्रतिशत घटेर १३ लाख ७६ हजार ८ सय ७२ हेक्टर भएको मन्त्रालयले जनाएको छ । खडेरीका कारण उक्त क्षेत्रफल घटेको पनि उल्लेख गरेको छ ।

किन कम भयो हिउँदे वर्षा ?       
तथ्यांकहरू हेर्ने हो भने पछिल्लो समय हिउँदे वर्षा घट्दै गएको बुझिन्छ । गत वर्षको हिउँदमा पनि सरदरभन्दा ७९ प्रतिशत कम पानी परेको थियो । विगतमा हिउँदे खडेरी केही वर्षको अन्तरालमा हुने गरेका थिए । तर पछिल्ला वर्षहरूमा छोटो समयमा खडेरी दोहोरिन थालेको छ । सुक्खा वर्षहरू १९८१ देखि २००० सम्ममा भन्दा २००० देखि २०२४ सम्ममा बढी दोहोरिएका छन् । यसले हिउँदे वर्षा घटेको टे«न्ड देखाएको छ । सन् २०२३, २०२१, २०१८, २०१७, २०१६, २०१४, २०१२, २०११, २००९, २००८, २००६, २००१ लगायतका वर्ष पनि धेरै पानी परेको छैन । पहिला हिउँदमा अलि लामो समयमा वर्षा नहुने भए पनि आजकल छोटो अन्तरालमा सुक्खा हुन थालेको विभागको रेकर्डले देखाउँछ । तर २००० पछि नै २०१९, २०२०, २०२२ मा वर्षा भएको थियो ।

नेपालमा हिउँदमा सुक्खा बनाउनुमा मौसमी प्रणाली (लानिना) को प्रमुख भूमिका छ । तर यसको मात्रै प्रभावले यस्तो नभएको मौसमविद् बताउँछन् ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक सिग्देल भन्छन्, ‘हिउँदमा पानी पार्ने प्रक्रिया कमजोर बन्दै गइरहेको छ । तातो दिनहरू बढ्दै गइरहेको विश्वव्यापी बदलावको शृंखला नै हो ।’ उनले पश्चिमी वायुको प्रभाव घटेको र तातो दिनहरू बढेको बताउँदै भने ‘तापक्रम तल झरेको छैन । पहिला शून्य डिग्रीदेखि माइनससम्म नै पुग्ने गथ्र्यो ।’ यसलाई जलवायु परिवर्तनको क्षेत्रीय प्रभाव मान्न सकिने उनले बताए ।

सिग्देल भन्छन्, भूमध्यसागर हिउँदे वर्षाको स्रोत हो । त्यहाँबाट न्यून चापीय प्रणाली बन्दै आउनुपर्ने हुन्छ । तर न्यून चापीय प्रणाली बन्ने प्रक्रिया पनि अवरोध भएको छ । त्यो प्रणाली अफगानिस्तान, जम्मु काश्मिर, म्यानमार पुगे पनि नेपालसम्म भने पुग्न सकेन ।

किन चाहिन्छ हिउँदे वर्षा
हिमाली क्षेत्रमा हिउँलाई जीविकोपार्जनको भरपर्दो स्रोत मानिन्छ । बालीनाली जोगाउन, बालीको जराको वृद्धि विकास गर्न, तुषारो रोक्न, माटोलाई भूक्षयबाट संरक्षण गर्न हिउँले सघाउँछ । तर खडेरी, अनियमित वर्षाले पारिस्थितिक प्रणाली, जल सञ्चिति तथा कृिषमा प्रतिकूल असर पार्छ । कम हिउँ पर्नुको अर्थ पानीको भण्डारणमा कमी हुनु हो । यसले कालान्तरमा चाहिएको समयमा पानी अभावले कृषि क्षेत्रलाई प्रभावित बनाउँछ । त्यसैले पनि वर्षा हुनु आवश्यक मानिन्छ । सन् २०२४ मा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले अत्यन्तै थोरै हिउँ परेको जनाएको थियो । विशेषगरी पश्चिमी क्षेत्रका हिमालहरू नांगा थिए । हिन्दु कुश हिमालय क्षेत्र कृषिमा निर्भर रहने भएकाले यसको गम्भीर असर कृषि क्षेत्रमा पर्ने र पानीको सुरक्षामा थप चुनौती बन्ने हुनाले हिउँदे झरी महत्त्वपूर्ण हुन्छ ।

इसिमोडको एउटा प्रतिवेदनले पनि सन् २०२४ र २०२५ को हिउँदमा पनि सरदरभन्दा करिब २४ प्रतिशत कम हिउँ परेको जनाएको छ । हिन्दु कुश हिमालयन क्षेत्रमा सन् २०२० देखि २०२५ सम्ममा चारवटा हिउँदमा सरदरभन्दा कम हिउँ परेको छ । हिउँदे वर्षा नभएको खण्डमा गहुँ, मुसुरो, चना, तरकारीलगायतका हिउँदे बालीमा असर पर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.