मतदाता रिझाउन अनेक ‘चटक’
काठमाडौं : प्रभु शाह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका पत्रकार ऋषि धमला चुनावी अभियानका क्रममा अनेकौं खालका चर्तिकला देखाएर जनताको भोट तान्न लागि परेका छन् । रौतहट क्षेत्र नम्बर ४ बाट उठेका उनी त्यहाँका स्थानीयसँग रुनेदेखि खेतबारीमा पुगेर काम गर्नेसम्म गरेका छन् । किसानको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउँछु भन्दै ट्याक्टरमा बसेर बोलिरहेका देखिन्छन् । मधेस र तराईको जमिनमा उत्पादन गर्न, मल, बीउ, सिँचाइ चाहिएको भन्दै त्यहाँ गएरै बस्ने भनेका छन् । उनी कसैलाई च्याप्प समातेर अंगालो हाल्छन् । आफूले लगाएको माला फुकाएर लगाइदिएका छन् । उखुको बोट काटेर, अंगालोमा राखेर बोके जस्तो पनि गर्छन् । आरा चलाउनेदेखि जेरी पकाउनसम्म उनले भ्याएका छन् ।
नुवाकोटमा खुट्टा ढोग्दै चटक
नुवाकोट–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अच्युतम लामिछाने भन्छन्,‘नझुक्किनुस् है बुवाआमा, छोरा आयो, नाति आयो । अब यो देश बिगार्ने छुट कसैलाई छैन ।’ यति भन्दै उनी स्थानीयको खुट्टा ढोग्छन् । सडकमै लम्पसार परेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । उनले नेपालको राष्ट्रिय झन्डा ओढेका छन् । उनीसँगै रहेकाहरू घण्टी बजाउँदै हिँडेका छन् ।
म्याग्दीमाा महावीर पुन
भोट माग्न आएको छु । ल है, दाजुभाइदिदी बहिनीहरू । हिमालतिर लागियो । चुनाव प्रचार गर्न । नाम सुन्नुभएको छ भने । महावीर पुन आयो ।
स्वतन्त्र उम्मेदवारी दिएर म्याग्दी पुगेका उनी आफ्नै तालमा भोट मागिरहेका छन् । भोट मन परेको मान्छेलाई दिने हो । तपाईंहरू मलाई मन पर्छ भने भोट दिनुहोस् । उनले प्रचारका क्रममा म्याग्दीका भौगोलिक अवस्थाहरू
देखाइरहेका छन् ।
भारी बोक्दै सुदन
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङले मतदाताको मन जित्न गह्रुँगो भारी बोकेर प्रचार थालेका छन् । भारी बोकिरहेको भिडियोमा उनी भन्छन्, डेन्जर गह्रुँगो छ भारी । भूकम्पको राहत बोकेर हिँड्नुपर्छ नि त ! त्यही भएर बोक्न सकिन्छ । उनले गुरुङ पहिरनमा भादगाउँले टोपी र कालो चस्मा लगाएरै भारी बोकेर हिँडेका देखिन्छन् । ‘जितको आधार भन्दा जनताको दुःख बुभ्mनु जरुरी छ । उनीहरूका कुरालाई कसरी समाधान गर्न सकिन्छ । उनीहरूको आवाजलाई केन्द्रसम्म कसरी पु¥याउने’ भन्दै स्थानीयसँग उनी वार्तालाप गरिरहेको भिडिओमा सुनिन्छ ।
गोरखामा गोरखकाली मन्दिरमा विधिवत पूजा गरेर चुनावी अभियान थाल्ने बताएका छन् । यसरी चटक गरेर भोट आफूतिर आकर्षिक गर्ने उम्मेदवार धेरै छन् । उनीहरू मत माग्न र आफूलाई चर्चामा ल्याउन पनि यस्तो गरिरहेका छन् । यसरी चटक गर्दा राष्ट्रिय झन्डाको दुरुपयोग भइरहेको भन्दै सर्वस्त्र आलोचना पनि भइरहेको छ ।
संविधानविद् भीमार्जुन आचार्यले राष्ट्रिय झन्डाको दुरुपयोग भएको विषयमा सामाजिक सञ्जालमा लेखेका छन् । ‘राष्ट्रिय झन्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झन्डा ओढेर देश जलाउने, राष्ट्रिय झन्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन्,’ डा. आचार्यले लेखेका छन्, ‘तत्काल बन्द हुनुप¥यो । राष्ट्रिय झन्डा ओढ्ने ‘कपडा’ होइन । यसतर्फ सम्बद्ध निकायको ध्यान जाओस् ।’
प्रतिक्रिया दिनुहोस !