निपाह भाइरस संक्रमण नेपाल कति सुरक्षित ?

निपाह भाइरस संक्रमण नेपाल कति सुरक्षित ?
सुन्नुहोस्

छिमेकी मुलुक भारतमा निपाह भाइरस संक्रमण पुष्टि भएको छ । भारतको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू निपाह भाइरस संक्रमित भई उपचारत रहेको सार्वजनिक भएको छ । सम्भवतः ती स्वास्थ्यकर्मीहरू स्वास्थ्य सावधानी नअपनाई (सुरक्षा कवचको प्रयोग नगरी वा उपाय प्रयोग बिना) बिरामीको रोग  निदान वा उपचार गर्ने क्रममा संक्रमित भएको हुन सक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यो लेख लेख्दासम्म स्रोतको यकिन जानकारी सार्वजनिक भइसकेको छैन । 

नेपाल र भारतबीच खुला सिमाना छ । सीमापारि भारतमा निपाह भाइरसको संक्रमण भएको पुष्टि भएकोले सीमावारि पनि गम्भीर चासोको विषय बन्नुपर्छ । 

भारतमा निपाह भाइरसको संक्रमण पुष्टि भएको छ । निपाह भाइरसको प्राकृतिक स्रोत  मानिने प्रजातिको चमेरो नेपालमा पनि रहेको अनुसन्धानले देखाएको छ ।

निपाह भाइरस पारामिक्सोभारादाई परिवार अन्तर्गत  (हेनिपाभाइरस जिनस) पर्ने उच्च घातक भाइरस हो । मलेसियाका सुँगुरपालक किसानहरूमा सन् १९९९ मा पहिलो पटक यो भाइरस फैलिएको थियो । संक्रमितमध्ये झन्डै ४० प्रतिशतको मृत्युसमेत भएको थियो । सन् २००१ तिर छिमेकी मुलुक भारत र बंगलादेशमा यो भाइरस पुष्टि भएको थियो । तत्पश्चात यी दुवै देशमा लगभग बर्सेनिजसो यो भाइरसको कारणले मृत्युवरण गर्दै  आइरहेको तथ्यांक देखिन्छ । मृत्युदर भने मलेसियाभन्दा भारत तथा बंगलादेशमा अधिक उच्च (७० देखि शतप्रतिशतसम्म) भएको देखिन्छ । 

नेपालमा पनि देखिए भारत तथा बंगलादेशभन्दा फरक नदेखिन सक्छ । समयमा नै संक्रमण पत्ता लगाउन सकेमात्र सम्भावित आउटब्रेक र मानवीय क्षतिलाई रोक्न सक्छौं । यसको लागि रोगको लक्षण, भ्रमण वा सम्पर्क इतिहास र प्रयोगशाला निदान अति आवश्यक पर्नेछ ।

लक्षणहरू 
–    ज्वरो आउने ।
–    टाउको दुख्ने ।
–    श्वासप्रश्वासमा समस्या हुने ।
–    मांसपेशीका दुख्ने ।
–    घाटी दुख्ने ।
–    बान्ता हुने ।
–    चक्कर लाग्ने ।
–    चेतनामा समस्या हुने ।
 
संक्रमितमा  इन्सेफ्लाइटिस (मस्तिष्कको सुजन)को लक्षणहरू देखिन सक्छ ।  २४ देखि ४८ घण्टाभित्र बिरामी अचेत (कोमा) अवस्थामा जान सक्दछ । संक्रमित व्यक्ति वा सुँगुर  वा चमेरोको नजिक र सिधा सम्पर्क (डाइरेक्ट कन्ट्याक्ट) भए यो संक्रमण सर्न सक्दछ । निपाह भाइरसको संक्रमण जापानिज इन्सेफलाइटिस वा अरू संक्रमणहरूसँग पनि मिल्छ । त्यसैले बिरामीको भ्रमण इतिहास (भिजिट हिस्ट्री) लिनुपर्छ । निपाह भाइरस फैलिरहेको ठाउँ वा मुलुकमा पुगेर फर्केको हो कि होइन भनेर जानकारी लिनु  अति आवश्यक हुन्छ । तर यो भाइरसको निश्चित निदान भने प्रयोगशाला परीक्षणपछि मात्र हुन्छ ।

यो भाइरस उच्च घातक छ । त्यसैले परीक्षणको लागि बायो सेफ्टीस्तर–४ को प्रयोगशाला चाहिन्छ । नेपालमा यसको उपलब्धता र जनशक्ति छ, छैन भन्ने महत्त्वपूर्ण हुन्छ । निपाह भाइरस हालसम्म नेपालमा पुष्टि भइनसके पनि जोखिम उच्च भएकोले ‘बायोसेफ्टी स्तर–४’ को प्रयोगशाला तयारीको आवश्यकता देखिन्छ । अझ निपाह भाइरसको प्राकृतिक स्रोत  मानिने प्रजातिको चमेरो नेपालमा पनि रहेको अनुसन्धानहरूले देखाएको छ । त्यसैले पनि जोखिमलाई नजरअन्दाज गर्न सकिँदैन  । यद्यपि चमेरोमा यो भाइरस भए, नभएको वैज्ञानिक परीक्षण पुष्टि गर्न  भने बाँकी नै छ । भारत तथा बंगलादेशमा स्वास्थ्यकर्मीहरू स्वयम् बारम्बार संक्रमित भइरहेको तथ्यांक सार्वजनिक भइसकेको छ । यसले गर्दा नेपालका अस्पतालमा  कार्यरत स्वास्थ्यकर्मीहरूले पनि बिरामीको जाच पड्ताल वा उपचार गर्दा विशेष सतर्कता अपनाउनु पर्ने जरुरी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.