पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह
देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग अत्यन्त सकारात्मक छ, म र मेरो पार्टी तयार छ : ओली
ओलीले देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको दाबी गरेका छन्।
काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पब्लिक डिबेटको लागि तयार रहेको बताएका छन्। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएकोले आफू तयार रहेको उनले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।
एमालेबाट ओली, कांग्रेसबाट गगन थापा, रास्वपाबाट बालेनलगायत प्रधानमन्त्रीको दाबेदार गर्नेलाई ‘पब्लिक डिबेट’ गर्नुपर्ने माग सामाजिक सञ्जालमा चलेपछि ओलीले आफू तयार रहेको बताएका हुन्।
ओलीले देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा एमाले देश बनाउने तर्फबाट मैदानमा रहेको दाबी गरेका छन्। ओलीले फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्ने आँकलन गरे। देशको नेतृत्व गर्न खोज्ने दलहरूका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक रहेको उनको भनाई छ।
‘नयाँ / पुराना सबै दलहरु अहिले चुनावमा होमिएका छन्। देश जलाउने र देश बनाउने पक्षबीच हुने यो प्रतिस्पर्धामा हाम्रो पार्टी नेकपा (एमाले) देश बनाउने तर्फबाट मैदानमा छ। यसबेला सार्वजनिक बौद्धिक वृत्तबाट पार्टीका प्रमुख नेताहरूबीच एउटा पारदर्शी बहसको माग भइरहेको सुनिएको छ। ’ एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘फ्रेमिङ गरेर सामाजिक सञ्जालमा ल्याइएका प्रचार सामग्री मतदातालाई देखाएर आफ्नो वास्तविक चरित्र लुकाउने प्रवृत्ति देखिएकोले यस्तो पब्लिक डिबेट माग भएको हुनसक्छ। यसपालीको निर्वाचनमा देशमा ऐतिहासिक भूमिका खेलेका दल, यसअघिको चुनावमा खुलेको दल र भर्खरै खुलेका केही नयाँ दलहरु पनि प्रधानमन्त्रीको उम्मेदवार समेत तोकेर आएका छन्। देशको नेतृत्व गर्न खोज्ने दलहरुका एजेण्डा के छन्, देश निर्माणमा यसअघि के काम गरे, अब गर्ने कामको रोडम्याप, योजना र खाका के छ ? सार्वजनिक रूपमा उठेका यस्ता प्रश्नहरूमा आमने सामने बहसको माग अत्यन्त सकारात्मक छ।’
चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने ओलीले प्रतिबद्धता जनाए। उनले भने, ‘यस्तो पब्लिक डिबेटमा आमने सामने उभिएर यसअघि हामीले के-के गर्यौं भन्ने तथ्य र अब कसरी काम गर्छौं भन्ने एजेण्डा प्रस्तुत गर्न म तयार छु। चुनावपछि प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्तुत भएका सबैलाई सिधा प्रश्न सोध्न खडा गरिएको मञ्चमा उभिएर आफ्ना एजेण्डा राख्ने प्रतिबद्धता जनाउँछु। त्यस्तो पब्लिक डिबेट आयोजना गरेर सबै पक्षलाई ल्याउन आग्रह गर्दछु।’
प्रतिक्रिया दिनुहोस !