लुम्बिनीमा ठूला दलबाट महिला उम्मेदवार न्यून

लुम्बिनीमा ठूला दलबाट महिला उम्मेदवार न्यून
सुन्नुहोस्

दाङ  : रुकुमपूर्वमा कांग्रेसकी उम्मेदवार हुन्– कुसुमदेवी थापा । उनका प्रतिस्पर्धी छन्– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । निवर्तमान प्रतिनिधिसभा सदस्य थापा लुम्बिनीका १२ जिल्लामा एकमात्रै कांग्रेसकी महिला उम्मेदवार हुन् । जबकि लुम्बिनीका २६ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रत्यक्षमा थापालाई मात्रै उम्मेदवार बनाएको छ, त्यो पनि पार्टीको जग कमजोर रहेको जिल्लामा ।

विगतको निर्वाचन र स्थानीय तहका निर्वाचन परिणाममा रुकुमपूर्वमा कांग्रेसको जनाधार कमजोर छ । एमालेले बर्दिया क्षेत्र नं २ बाट विमला विकलाई उम्मेदवार बनाएको छ । एमालेले पनि २६ निर्वाचन क्षेत्रमा विमलालाई मात्रै उम्मेदवार बनाएको छ । यो क्षेत्रमा नेपाली कांग्रेसले निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौर र नेपाली कम्युनिस्ट पार्र्टीले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ । चर्चामा रहेका यी दुईसहित अन्य उम्मेदवारसँग विमलाको प्रतिस्पर्धा पनि त्यति सहज देखिँदैन ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्र्टीबाट सिन्धु जलेशा बुढाथोकी उम्मेदवार छिन् । उनी पनि नेकपाको एक्लो उम्मेदवार हुन् । मुलुकका ठूला तीन दलले २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा एक÷एक जनामात्रै महिला उम्मेदवार खडा गरेका छन् । ठूलो चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले त लुम्बिनीमा एक जना पनि महिला उम्मेदवार बनाएको छैन । अन्य केही साना दल र स्वतन्त्र रूपमा भने केही महिला उम्मेदवार देखिएका छन् । लुम्बिनीमा मनोनयन गरेका ५ सय ९९ जना उम्मेदवारमध्ये ५६ जनामात्रै महिला उम्मेदवार छन् । जबकि ५ सय ४३ जना पुरुष उम्मेदवार छन् । दलहरूको महिला उम्मेदवार नाम मात्रैका देखाएका छन् । महिला उम्मेदवार ३ दशमलव ८४ प्रतिशतमात्रै छन् ।

समावेशिता, लैंगिक समानता र महिला सशक्तीकरणका चर्का नारा लगाउने गरेका ठूला राजनीतिक दलहरू व्यवहारमा भने कमजोर छन् भन्ने उदाहरण लुम्बिनी प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि दर्ता भएका उम्मेदवारहरूको तथ्यांकले देखाइदिएको छ भने ठूला दलहरूको समावेशिताप्रतिको प्रतिबद्धता खोक्रो सावित गरेको छ ।

लुम्बिनीमा ५६ महिला उम्मेदवार छन् । जसमध्ये ५३ जना त साना दलका र स्वतन्त्र उम्मेदवार छन् । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्र्टी, नेपाल मजदुर किसान पार्र्टी, आमजनता पार्र्टी, राष्ट्रिय जनमुक्ति पार्र्टी, विभिन्न कम्युनिस्ट धारका साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मात्रै महिलालाई अवसर दिएको देखिन्छ । यसले ठूला दलहरू सत्ता र प्रभावशाली क्षेत्रमा पुरुष केन्द्रित राजनीति गर्नमै सीमित रहेको स्पष्ट संकेत गरिरहेको छ ।

कानुनी बाध्यता पूरा, नैतिक जिम्मेवारी बेवास्ता
संविधान र कानुनले समानुपातिक प्रणालीमा महिला सहभागिता सुनिश्चित गरे पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई पन्छाउने प्रवृत्ति अझै हट्न सकेको छैन । नेताहरू भाषणमा लैंगिक समानताको वकालत गरे पनि टिकट वितरणको बेला महिलालाई ‘जोखिम’ भनेर पछि पार्ने गरिएको महिला अधिकारकर्मीहरूको भनाइ छ । यो अवस्था केवल लुम्बिनीको मात्र समस्या होइन, देशव्यापी राजनीतिक संस्कृतिको प्रतिविम्बको रूपमा रहेको विश्लेषकहरूको भनाइ छ ।

महिला सहभागिता संविधानको बाध्यता हो, दलहरूको चेतनाबाट आएको होइन, त्यसैले प्रत्यक्षतर्फ महिलालाई उभ्याउने आँट ठूला दलहरूले गर्न सकेका छैनन् ।

महिला मतदातालाई अपमान ?
लुम्बिनी प्रदेशमा ३३ लाख ८६ हजार ६ सय ८० मतदाता रहेको छ । यसमा १६ लाख ७१ हजार ४ सय ८९ मतदाता महिला रहेका छन् भने १७ लाख १५ हजार १ सय ६३ पुरुष मतदाता रहेका छन् । महिला मतदाताको संख्या उल्लेख्य हुँदाहुँदै पनि उनीहरूको प्रतिनिधित्व नगर्नु महिला मतदाताप्रतिको अपमान भएको टिप्पणी सुरु भएको छ ।

महिला मतदाता झन्डै ५० प्रतिशत हँुदा पनि महिला उम्मेदवार भने शून्य प्रायः छन् । समावेशिताको नारा लगाउने दलहरूकै कारण राजनीति अझै पनि पुरुषहरूको अखडा बनेको अधिकारकर्मी सुष्मा गिरीको भनाइ छ । ठूला दलहरू प्रत्यक्ष निर्वाचनलाई शक्ति, पहुँच र सत्तासँग जोड्छन् । यतिमात्रै हैन दिनै परे पनि ‘जित्ने क्षेत्र’ पुरुष उम्मेदवारलाई सुरक्षित राख्ने र महिलालाई कमजोर वा कठिन क्षेत्रतर्फ धकेल्ने प्रवृत्ति अझै पनि हाबी छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.