माउन्ट एभरेष्ट तेक्वान्दोमा विश्व नजर
काठमाडौं : चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तयारी तीव्र रुपमा भइरहेको छ। नेपाल तेक्वान्दो संघले राष्ट्रको प्रतिष्ठासँगको जोडिएको च्याम्पियनसिपलाई सब्य र भब्य रूपमा आयोजना गर्न तयारीलाई तीव्र पारेको हो।
आगामी फागुन १ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने च्याम्पियनसिपलाई सफल बनाउन संघले मूल आयोजक कमिटी गठन गरिसकेको छ भने अन्य उपसमितिहरू पनि निर्माण भइरहेका छन्। नेपाल तेक्वान्दो संघको सल्लाहकार परिषद्का अध्यक्ष प्रकाशशम्शेर राणाको संयोजकत्वमा सात सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ। कमिटीको उपसंयोजकमा संघका उपाध्यक्ष भानबहादुर चन्द, सचिवालय प्रमुखमा उपाध्यक्ष साम्राज्यविक्रम पाण्डे, सचिवमा संघका केन्द्रीय सदस्य कुमार लामा घिसिङ, सहसचिवमा बब्लु सिवाकोटी छन्। यस्तै रेफ्री संयोजकमा संघका केन्द्रीय सदस्य टिकाप्रसाद लिम्बू र टेक्निकल डाइरेक्टरमा कोरियाली प्रशिक्षक योङदल क्वान छन्।
जी–वान र्याङकिङको च्याम्पियनसिपलाई विश्व तेक्वान्दो महासंघले मान्यता दिएको छ। च्याम्पियनसिपमा सिनियर पुरुष, महिला र जुनियर पुरुष, महिलामा आठ तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ५४ केजी, ५८ केजी, ६३ केजी, ६८ केजी, ७४ केजी, ८० केजी, ८७ केजीमुनि र ८७ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यसैगरी सिनियर महिलामा ४६ केजी, ४९ केजी, ५३ केजी, ५७ केजी, ६२ केजी, ६७ केजी, ७३ केजीमुनि र ७३ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ। यस्तै, जुनियर पुरुषमा ४५ केजी, ४८ केजी, ५१ केजी, ५५ केजी, ५९ केजी, ६३ केजी, ६८ केजी र ७३ केजीमुनिको तौल समूह र जुनियर महिलामा ४२ केजी, ४४ केजी, ४६ केजी, ४९ केजी, ५२ केजी, ५५ केजी, ५९ केजी र ६३ केजी तौल समूहमा प्रतिस्पर्धा हुने मूल आयोजक कमिटीका सहसचिव बब्लु सिवाकोटीले जानकारी दिए।
यस्तै र्याङकिङ नै दोस्रो जीसीएस पुम्से प्रतियोगिता पनि हुनेछ। जसमा १७ देखि ३० वर्षमुनि र ३१ देखि ४० वर्षमुनिको दुई विधा भने वरीयता प्राप्त हुनेछ। ग्योरोगी र पुम्सेमा क्याडेट र जुनियर विधामा पनि प्रतिस्पर्धा हुनेछ। क्याडेटमा १२ देखि १४ वर्ष र जुनियरमा १५ देखि १७ वर्ष उमेर तोकिएको छ।
च्याम्पियनसिपमा दक्षिण एसियाका सात राष्ट्रसँगै करिब डेढ दर्जन देशको सहभागिता रहने जनाइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने च्याम्पियनसिपमा एक हजार ६ सय खेलाडीको सहभागिता रहने सहसचिव सिवाकोटीले जानकारी दिए।
प्रतियोगितापछि नेपाल सुरक्षित छ भन्ने सन्देश स्थापित हुनेछ
- बब्लु सिवाकोटी सहसचिव, मूल आयोजक कमिटी
च्याम्पियनसिपको तयारी कस्तो भइरहेको छ ?
चौथो माउन्ट एभरेष्टको रजिस्ट्रेसन खुला भइसकेको छ। वल्र्ड तेक्वान्दोको क्यालेन्डरमै प्रतियोगिता समावेश भएकाले विश्वभर नै सूचना प्रवाह भइसकेको छ। धेरै देशका खेलाडीले रजिस्ट्रेसन पनि गरिसकेका छन्। यसका साथै प्राविधिक रुपमा पनि हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। रेफ्री व्यवस्थापनलगायतका काम सम्पन्न भइसकेको छ।
च्याम्पियनसिपमा कति खेलाडी सहभागी हुने अपेक्षा छ ?
यसअघिका संस्करणमा खेलाडीको चाप धेरै भयो। जसले गर्दा व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे परेको थियो। देशको भौतिक पूर्वाधारका कारण पनि यस पटक एक हजार ६ सय खेलाडीलाई मात्रै सहभागी गराउने लक्ष्य राखेका छौं। योभन्दा बढी खेलाडी भएमा व्यवस्थापन गर्न पनि समस्या हुन्छ।
च्याम्पियनसिपमा मुख्यतः कुन–कुन विधा छन् ?
च्याम्पियनसिपमा मुख्यतः ग्योरोगी र पुम्सेको प्रतिस्पर्धा हुनेछ। एउटा फाइट र अर्को प्रदर्शनी। ग्योरोगीमा क्याडेट, जुनियर र सिनियरको प्रतिस्पर्धा हुनेछ। सिनियर प्रतिस्पर्धा भने र्याङकिङ हुनेछ। पुम्सेमा पनि ३० वर्षमुनि र ४० वर्षमुनिको प्रतिस्पर्धालाई वल्र्ड तेक्वान्दोको र्याङकिङ रहने छ।
च्याम्पियनसिपको प्राविधिक पाटो कस्तो छ ? नेपालका जनशक्तिले मात्रै धान्ने अवस्था छ कि छैन ?
प्राविधिक रुपमा सबै काम विश्व तेक्वान्दोको मापदण्ड अनुसार एसियन तेक्वान्दो युनियनले गर्छ। च्याम्पियनसिपमा आवश्यक प्राविधिकदेखि आवश्यक सामग्री एसियन तेक्वान्दो युनियनले नै हेर्छ भने रेफ्रीको खटनपटन पनि एसियन तेक्वान्दोले गर्छ।
च्याम्पियनसिपमा सहभागी खेलाडीको बसोबास र खानाको व्यवस्था कसले गर्छ ?
खान र बस्ने सबै व्यवस्था खेलाडी आफैले गर्नुपर्छ। उनीहरूलाई सहुलियतपूर्ण रुपमा खान र बस्ने व्यवस्थाको सहजीकरण भने नेपाल तेक्वान्दो संघले गर्छ।
उपसमितिहरूले पूर्णता कहिले पाउँछ ?
च्याम्पियनसिपका लागि मूल आयोजक कमिटी गठन भइसकेको छ। उपसमिति पनि गठन भइरहेका छन्। सचिवालय पनि स्थापना भइसकेको छ। अब उपसमितिहरूले पनि चाँडै नै पूर्णता पाउने छ।
जेन–जी आन्दोलनपछि नेपालमा प्रिमियर लिग क्रिकेट बाहेक अरू ठूला प्रतियोगिता हुन सकेका छैनन्, यो प्रतियोगिताले नेपाली खेलकुद र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?
नेपालमा सुरक्षा व्यवस्थालाई चासोका रुपमा हेरिएको छ। सुरक्षा व्यवस्था राम्रो छ कि छैन भनेर हामीलाई पनि धेरैले सोधिराख्नु भएको छ। अहिले सिंगो देश निर्वाचनमा होमिएको छ। त्यही कारण सुरक्षा व्यवस्था पनि सुदृढ बनेको छ। त्यसैले नेपाल सुरक्षित छ भन्ने कुरालाई हामीले विश्वभर देखाउनुपर्दछ। खेलाडीलाई सुरक्षित र भयरहित रुपमा खेलाउन हामी निरन्तर लागिरहेका छौं।
प्रतिक्रिया दिनुहोस !