धनुषामा पुरानै अनुहार हाबी

धनुषामा पुरानै अनुहार हाबी

जनकपुरधाम : प्रतिनिधिसभा निर्वाचनमा धनुषा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा पुरानै उम्मेदवारको दबदबा छ। नयाँ पार्टी र नयाँ अनुहारहरूले चहलपहल बढाए पनि सर्वसाधारणमा भने पुरानै उम्मेदवारहरूको चर्चा बढी भइरहेको देखिन्छ।

मधेश प्रदेशमा प्रतिनिधि सभाका ३२ सिट छन्। जसमध्ये धनुषाका ४ निर्वाचन क्षेत्रका लागि १५८ जना उम्मेदवार मैदानमा छन्। प्रमुख पार्टीहरूका उम्मेदवार भने अधिकांश पुरानै अनुहार छन्। केहीले मात्रै नयाँ अनुहारहरूलाई अगाडि सारेका छन्।

धनुषा–१ मा एमालेका रामचन्द्र मण्डल उम्मेदवार बनेका छन्। मण्डल मधेस प्रदेशका निवर्तमान सभामुख हुन। प्रदेशसभाबाट राजीनामा दिएर उनी प्रतिनिधिसभाका उम्मेदवार बनेका हुन्। हाल मातृशोक परेकाले मण्डल चुनावी प्रचारमा हिँड्न नपाए पनि उक्त क्षेत्रका चर्चित नेतामध्ये एक हुन्। त्यसैगरी कांग्रेसले रामपल्टन साहलाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिस्ट पार्टीबाट मातृका यादव मैदानमा छन्।

यसअघि सो क्षेत्रका निर्वाचित सांसद दीपक कार्की पुनः जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन। राष्ट्रिय स्वतन्त्र पार्टीले भने सो क्षेत्रमा किसोरी साहलाई मैदानमा उतारेको छ। साह यसअघि मधेस प्रदेशसभाका सांसद थिए। धनुषा–१ मा १ लाख २६ हजार ४० मतदाता छन्। धनुषा–२ मा यसअघि पटक–पटक उम्मेदवार बनेका रामचन्द्र झाको चर्चा निकै बढी छ। झा नेकपाबाट उम्मेदवार बनेका छन्। ०६४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर चुनाव जितेका झा ०७० को निर्वाचनमा माओवादी प्रवेश गरेका थिए। त्यसबेला उम्मेदवार बने पनि चुनावमा हार बेहोरे। पराजित भएपछि तत्कालीन नयाँ शक्ति पार्टीमा प्रवेश गरेका उनी २०७४ को निर्वाचनमा पुनः माओवादी फर्किए र क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिए।

तर, पुनः पराजय भए। ०७९ को निर्वाचमा माओवादी छाडेर एकीकृत समाजवादी प्रवेश गरेका झाले पुनः पराजयको मुख देख्नुपर्‍यो। माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेकपाबाट उम्मेदवारी दिएर झा चुनावी मैदानमा छन्। ‘नयाँ ९ दिन र पुरानो सबै दिन भन्ने उखान यहाँहरूलाई थाहै होला,’ झा भन्छन्, ‘म निर्वाचनमा जिते पनि हारे पनि जनतासँगै छु। कति नयाँ आए र गए म यही छु। मभन्दा विचार, व्यवहार र सिद्धान्तमा नयाँ अनुहार आए भने मात्रै जनताले तिनलाई हेर्छन्।’

सो क्षेत्रमा एमालेबाट उमाशंकर अरगरिया, कांग्रेसबाट दिनेश परसयीला यादव, रास्वपाबाट रामविनोद यादव र जसपाबाट पशुपति यादव उम्मेदवार छन्। यस क्षेत्रमा मतदाता संख्या १ लाख ३४ हजार ८२६ छ।

यस्तै, धनुषाको ३ नम्बर क्षेत्र निकै चर्चामा छ। यो क्षेत्रमा पुराना र नयाँ उम्मेदवारबीचको प्रतिस्पर्धा निकै रोचक छ। कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, यसअघि यस क्षेत्रबाट निर्वाचित र हालकी एमाले उम्मेदवार जुली महतो, जसपाका परमेश्वर साह, रास्वपाका मनिष झा र नेकपाका रामललित मण्डल यस क्षेत्रबाट उम्मेदवार छन्। उम्मेदवारहरूमध्ये निधिको चर्चा अलि बढिनै भएको देखिन्छ।

०४८ सालदेखि धनुषा–३ बाटै चुनावी प्रतिस्पर्धामा उत्रिँदै आएका निधिले ०४८ को निर्वाचनमा जित हात पारेका थिए भने २०५१ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भए। २०५६ को निर्वाचनमा हार बेहोरेका उनले पुनः २०६४ को चुनावमा जित हात पारे। ०७० मा तेस्रोपटक सोही क्षेत्रबाट जितेका निधिले २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेन्द्र महतोसँग चुनाव हारे। ०७९ को निर्वाचनमा एमालेकी जुली कुमारी महतोसँग पराजित निधि समानुपातिक कोटामा सांसद भए र हाल आसन्न निर्वाचनमा उनी फेरि पनि उम्मेदवार बनेर आफ्नो गृहक्षेत्र नै 
फर्किएका छन्।

‘यो सामान्य अवस्थाको निर्वाचन होइन्। अहिले लोकतन्त्रमाथि खतरा आएको छ। संघीय लोकतान्त्रीक गणतन्त्रात्मक प्रणाली क्षतिग्रस्त अवस्थामा पुगेको छ। अहिले संविधान पनि क्षतिग्रस्त छ। त्यसैले अहिलेको निर्वाचन लोकतन्त्रलाई लिकमा ल्याउन र प्रणालीको सुदृढीकरणका लागि तथा संविधानको सुदृढीकरणका लागि हुनुपर्छ,’ निधि भन्छन्, ‘यो निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराएर देशको भविष्य सुरक्षित गर्नु हामी सबै नेपाली मतदाताको कर्तव्य छ।’

धनुषा–३ मा रास्वपाका मनिष झा र एमालेकी जुली महतोबीच पनि कडा प्रतिस्पर्धा देखिएको छ। धनुषा ३ मा १ लाख २५ हजार ९२७ मतदाता छन्। धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव र एमालेका रघुवीर महासेठबीचको प्रतिस्पर्धा नयाँ होइन। ०७९ को निर्वाचनमा महासेठले यादवलाई १२४ मतको झिनो अन्तरबाट पराजित गरेका थिए। 

०७४ को निर्वाचनमा पनि एमालेका महासेठले यादवलाई नै पराजित गरेका थिए। आसन्न निर्वाचनमा पुनः दुवै पुराना नेता उम्मेदवार बनेर आएपछि प्रतिस्पर्धा रोचक भएको छ। सो क्षेत्रबाट रास्वपाका राजकिशोर महतो, नेकपाका संजय कुमार महतो र जसपाका कृष्णचन्द्र साह उम्मेदवार छन्। धनुषा ४ मा मतदाता संख्या १ लाख २७ हजार ७७८ छ।

जिल्लामा मतदाता संख्या ५ लाख १४ हजार ५७१ छ। जसमध्ये पुरुष मतदाता २ लाख ७६ हजार १२६ छन् भने महिला मतदाताको संख्या २ लाख ३८ हजार ४ सय ३५ छ। अन्य १० जना मतदाता छन्। जिल्लामा ३२२ वटा मतदान स्थल निर्धारण गरिएका छन् भने ६ सय ४५ मतदान स्थल तोकिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.