कुलमान र राजु पाण्डेको प्रवेशले काठमाडौं-३ को चुनावी प्रतिस्पर्धा रोचक
काठमाडौं : काठमाडौं निर्वाचन क्षेत्र नम्बर-३ चर्चित उम्मेदवारका कारण अहिले चर्चाको केन्द्रमा छ। पूर्वमन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रवेशसँगै यो क्षेत्रको चुनावी चर्चा बढेको हो। उसो त घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा देखाएको सुशासन, कार्यसम्पादन र इमानदार छविका कारण पनि चर्चामै थिए। जसको प्रतिबिम्ब आसन्न प्रतिनिधिसभा निर्वाचनका गतिविधिहरूमा समेत देखिइरहेको छ।
वर्षौंको १८ घण्टे विद्युत ‘लोडसेडिङ’बाट काठमाडौंबासीलाई मुक्त गराएको ‘जस’ पाएका कुलमानको चुनावी प्रतिस्पर्धालाई यहाँ अर्थपूर्णरूपमा समेत हेरिएको छ। घिसिङले भदौं २३-२४ गतेको जेनजी आन्दोलनपछि भदौ ३० गते सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
२०८२ पुस २३ गतेसम्म काम गरेका उनी सरकारबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। काठमाडौं-३ मा घिसिङलाई केही समुदायगत लाभ हुने संकेत पनि देखिन्छ। उनी काठमाडौं महानगरपालिका-६, बौद्धमा बस्छन्। बौद्ध, कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका-१ लगायतका क्षेत्रमा तामाङ, लामा, शेर्पा समुदायको बसोबास छ। काठमाडौं-३ मा ५,५०० बढी लामा, ५ हजार बढी तामाङ, २,५०० हाराहारी शेर्पा मतदाता छन्। यी समुदायबाट उल्लेख्य रूपमा कुलमान घिसिङले मत तान्ने आकलन गरिएको छ।
त्यस्तै काठमाडौं महानगर प्रहरी प्रमुखको जिम्मेवारीबाट बिदा लिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट काठमाडौं-३ मा चुनावी प्रतिस्पर्धाका लागि तयार भएका राजुनाथ पाण्डेका कारण पनि यहाँको चुनावी माहोल तताएको मात्र छैन रोचकसमेत बनाएको छ। पाण्डे बालेन शाह (बालेन्द्र)का दाहिने हातका रूपमा समेत चिनिएका थिए।
महानगर प्रहरी प्रमुखको जिम्मेवारी वहन गर्दै गर्दा पाण्डेले देखाएको सक्रियता र जुझारुपनका कारण पनि उनको उपस्थितिले चुनावी माहोल गर्माएको छ। देशभर बालेन शाहको चर्चा बढिरहेका बेला उनकै दाहिने हात भनेर चिनिएका पाण्डेलाई रास्वपाले उम्मेदवारका रूपमा अगाडि सारेर चुनावी नतिजा आफ्नो पक्षमा पार्न खोजेको देखिन्छ।
काठमाडौंका अतिक्रमित संरचनाहरू खाली गराएका कारण प्रशंसा र गाली दुबै पाएका पाण्डेलाई बालेनको ‘क्रेज’ कति फलिफाप हुन्छ, त्यो भने चुनावी नतिजापछि मात्र थाहा हुनेछ। काठमाडौं-३ मा यसपटक २४ जना उम्मेदवार संसद प्रवेशका लागि रस्साकस्सीमा छन्। नाराबाजी र बाजागाजासहित उम्मेदवारी मनोनयन गर्न पुगेदेखि दलहरू र उम्मेदवारको सक्रियता झनझन बढेर गएको छ।
यो क्षेत्रमा यसअघि कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको छ। जेनजी आन्दोलनपछिको बदलिँदो राजनीतिक परिवेशको यस बेला नयाँ दलका उम्मेदवारहरूले पुरानालाई चुनौती पस्किरहेका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।
एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। एमाले केन्द्रीय सदस्य समेत रहेका फुँयाल संविधानसभा सदस्य हुन्। २०६४ को संविधानसभा चुनावमा पराजित उनी २०७० को संविधानसभामा विजयी भएका थिए। २०७४ को चुनावमा फुँयाल बागमती प्रदेशसमा सदस्यमा निर्वाचित भएका थिए। काठमाडौं-३ पनि हरेक निर्वाचनमा सांसद फेर्ने क्षेत्रका रुपमा चिनिएको छ।
उनी बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री समेत भएका थिए। फुँयालले तत्कालीन आलापोट गाविसको दुई पटक अध्यक्ष र जिविसको उपसभापति समेत भएर काम गरेका छन्। यसपटक उनी फेरि प्रतिनिधिसभाको उम्मेदवार भएका हुन्। कांग्रेस-एमालेले पालैपालो जित्दै आएको यो क्षेत्र वामपन्थीको पकड भएको ठाउँको रुपमा पनि चिनिन्छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का निरज लामाले पनि उम्मेदवारी दिएका छन् । उनी नेकपाका काठमाडौं महानगर संयोजक हुन् । उनी २०६२/०६३ देखि निरन्तर माओवादी आन्दोलनमा सक्रिय हुँदै आएका स्थानीय नेता हुन् । युवामाझ लोकप्रिय निरज र कुलमान घिसिङ एकै समुदायको भएका कारण जनजातितर्फको मत बाँडिन सक्ने समेत अनुमान भइरहेको छ ।
कांग्रेसबाट रमेश अर्यालले उम्मेदवारी दिएका छन् । उनी २०७४ सालका गोकर्णेश्वर नगरपालिकाका वडाध्यक्ष समेत हुन् । यसअघि २०७९ को चुनावमा काठमाडौं-३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । चालिसेको ठाउँमा अर्याललाई उम्मेदवार खडा गरेर कांग्रेसले ठूलो जोखिम मालेको समेत विश्लेषण भइरहेको छ ।
त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए । त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५,८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २,५११ मत ल्याएका थिए । यस पटक राप्रपाका सुन्दरसिंह बोहराले उम्मेदवारी दिएका छन्।
स्थानीय विकास, सुशासन, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र प्रभावकारी सेवा प्रवाह सबै उम्मेदवारका साझा एजेण्डा भए पनि, ‘काम गरेर देखाएको अनुभव’ का आधारमा निर्णय गर्ने मतदाताको संख्या बढ्दै गएको देखिन्छ । यही कारण काठमाडौं-३ मा कुलमानको उम्मेदवारीले चुनावी नतिजा कुन दिशातर्फ मोडिने हो भन्ने कौतुहल अझ बढाएको छ।
यो क्षेत्र भौगोलिक रूपमा आधा काठमाडौंको खानेपानीको माग धान्ने क्षेत्र मानिन्छ । तर, यही क्षेत्रभित्रै खानेपानीको समस्या अहिले पनि चर्को छ । त्यही बाटो हुँदै खानेपानीका मुख्य सञ्जाल बिछ्याइए पनि गोकर्णेश्वर नगरपालिका-४, ६ र ९ नम्बर वडामा खानेपानीको दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । ढल व्यवस्थापन, सडक सञ्जालको अवस्था र फोहोर व्यवस्थापन जस्ता समस्या पनि पुरानै छन् ।
त्यस्तै गोकर्णेश्वर-१ सुन्दरीजल क्षेत्रमा वन्यजन्तुको समस्या गम्भीर बन्दै गएको छ । शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले जंगली जनावरहरू बस्तीमा प्रवेश गरी बालीनाली नष्ट गर्ने समस्या लामो समयदेखि कायम छ। उम्मेदवारहरूको भिडन्तमा यी समस्याहरू मुख्य रुपमा हेरिएको छ। सो क्षेत्र यस पटक केवल दलगत प्रतिस्पर्धा मात्र नभई व्यक्तित्व, कार्यक्षमता र जनविश्वासको परीक्षणस्थलका रूपमा हेरिन थालेको छ।
प्रतिक्रिया दिनुहोस !