नेपाल-जापानबीचको मित्रता ऐतिहासिक र बहुआयामिक : राष्ट्रपति पौडेल
जापान : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र जापानबीचको मित्रता ऐतिहासिक, विश्वासमा आधारित र बहुआयामिक रहेको बताएका छन्।
जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले जापानको टोकियोमा रहेको नेपाली राजदूतावासको अवलोकनका क्रममा राजनीतिक, आर्थिक, विकास साझेदारी, शिक्षा, प्रविधि तथा मानव संशाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न थप सक्रिय कूटनीति अवलम्बन गर्न आग्रह गरे।
'यहाँका सरकारी निकाय, निजी क्षेत्र तथा शैक्षिक संस्थासँग निरन्तर संवाद र सहकार्य बढाउनेतर्फ विशेष ध्यान दिनुपर्छ,' उनले भने। विदेशमा रहेका नेपाली नियोगहरू नेपाल सरकारका विस्तारित अङ्गहरू भएकाले यसको सेवा प्रवाहमा सरलता, पारदर्शिता र समयबद्धता अनिवार्य हुनुपर्नेमा उनले जोड दिएका थिए।
'नेपालमा वैदेशिक लगानी आकर्षित गर्न राजदूतावासको भूमिका अत्यन्त महत्वपूर्ण छ, पर्यटन, जलविद्युत्, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका सम्भावनाहरू जापानी लगानीकर्तामाझ प्रभावकारी रूपमा प्रस्तुत गरी प्रभावकारी आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गर्दछु,' उनले भने।
जापानमा रहेका श्रमिक तथा विद्यार्थीहरूको अधिकार, सुरक्षा र मर्यादाको संरक्षण दूतावासको प्राथमिक दायित्व भएको उल्लेख गर्दै उनले उनीहरूका समस्या, गुनासा र आवश्यकताहरूलाई संवेदनशीलताका साथ सुन्ने र समयमै समाधान गर्ने संयन्त्रलाई थप सुदृढ बनाउन जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस !