श्रीमतीको हत्यापछि मण्डलले गरे आत्महत्या
विराटनगर : मोरङमा एक युवकले मंगलबार बिहानका राति श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जानकारी दिए ।
घटना बिहान २:४५ बजेतिरको हो । डीएसपी लामिछानेका अनुसार मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घरमा पुगेका थिए । ससुराली घरमै श्रीमती अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।
घरेलु विवादका क्रममा कुटपिट गर्दै मुकेशले अम्बिकाकुमारीलाई चक्कुले प्रहार गरेको प्रहरीले जनाएको छ । उनीबीचमा कस्तो विवाद भएको हो भनेर यकिन छैन । श्रीमानले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार श्रीमतीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मुकेशको पनि घटनास्थलमै मृत्यु भएको हो । दुवै जनाको शव हाल घटनास्थलमै छ । घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल आफैं घटनास्थल पुगेका छन् । घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गर्ने काम गरिरहेको छ । घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिका बारेमा विस्तृत अनुसन्धानपछि मात्रै पत्ता लाग्ने डीएसपी लामिछानेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !