भारी गिरावटपछि फेरि बढ्यो सुनको मूल्य
काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। यसदिन सुनको मूल्य ३ हजार ७०० रुपैयाँले वृद्धि भएको हो। पछिल्ला तीन कारोबार दिन सुनको मूल्यमा निरन्तर गिरावट आएको थियो।
अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य २० हजार ५०० रुपैयाँले घटेको थियो। यो साताको पहिलो कारोबार दिन आइतबार १८ हजार ८०० र सोमबार १३ हजार ४०० रुपैयाँले घटेको थियो।
नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार आज ३ हजार ७०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ८६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै यसदिन चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार प्रतितोला चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !