महेशसँगै नयाँको रोचक प्रतिस्पर्धा
काठमाडौं : ऐतिहासिक, सांस्कृतिक र राजनीतिक चेतनाको दृष्टिले नेपालकै विशिष्ट पहिचान बोकेको भक्तपुर फेरि एक पटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। भक्तपुर–२, जहाँ प्रत्येक चुनावमा मतदाताले फरक दलका उम्मेदवारलाई रोज्दै आएका छन्, यसपटक फेरि नयाँ रोमाञ्चक राजनीति दृश्यको सामना गर्न लागेको छ। विगत सात चुनावको नतिजाले देखाएको छ– नेपाली कांग्रेस र नेमकिपाको आलोपालो, २०७४ मा एमालेको प्रवेश र २०७९ मा गठबन्धनको प्रभाव।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा भक्तपुर–२ ले केवल एउटा संसदीय सिटको निर्णय मात्र गर्ने छैन, यसले नेपाली मतदाताको बदलिँदो मनोविज्ञान, परम्परागत दलप्रतिको भरोसा र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणलाई समेत स्पष्ट संकेत गर्नेछ। यही कारणले भक्तपुर–२ लाई यसपटक ‘स्विङ क्षेत्र’ मात्र होइन, राजनीतिक सन्देश दिने प्रयोगशालाका रूपमा हेरिन थालिएको छ। भक्तपुर–२ मा महेश बस्नेतबाहेक अधिकांश उम्मेदवार नयाँ छन्।
भक्तपुर जिल्लामा दुईवटा संसदीय निर्वाचन क्षेत्र छन्। तीमध्ये सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकालाई समेटिएको क्षेत्र नम्बर–२ यसपटक सबैभन्दा बढी चर्चामा छ। यहाँ कुल ९८ हजार ३ सय ५६ मतदाता छन्। तीमध्ये महिला मतदाता पुरुषभन्दा केही बढी छन्। १ सय १४ मतदान केन्द्रमार्फत हुने मतदानमा सानो मतान्तरले पनि नतिजा पल्टिन सक्ने अवस्था छ।
अघिल्लो निर्वाचन ९२०७९० मा ९५७ मतको अन्तरले मात्र नतिजा तय भएको इतिहासले यस क्षेत्रको संवेदनशीलता अझै बढाएको छ। यो क्षेत्रको चुनावी बहस बुझ्न यहाँको राजनीतिक इतिहास हेर्नु अनिवार्य हुन्छ। २०४८ सालयता भएका सातवटा संसदीय निर्वाचनमा भक्तपुर–२ बाट कुनै पनि नेता निरन्तर संसद्मा पुगेका छैनन्। कहिले कांग्रेस, कहिले नेमकिपा, कहिले एमालेले जित हात पारेका छन्। यसले देखाउँछ कि यहाँका मतदाताले दलभन्दा पनि उम्मेदवार, परिस्थिति र सन्देश हेरेर मत दिने प्रवृत्ति राख्छन्। यही कारणले भक्तपुर–२ लाई स्थायी ‘किल्ला’ भन्दा पनि परिवर्तनशील राजनीतिक मैदान मानिन्छ।
२०४८ मा कांग्रेसका जगन्नाथ आचार्य, २०५१ मा नेमकिपाका आशाकाजी बसुकला, २०५६ मा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ मा नेमकिपाका सुनिल प्रजापति, २०७० मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल, २०७४ मा एमालेका महेश बस्नेत र २०७९ मा कांग्रेसका दुर्लभ थापा क्षेत्री विजयी भए। यो निरन्तर परिवर्तनले यहाँका मतदाताको राजनीतिक सचेतनालाई पुष्टि गर्छ। यही इतिहासको पृष्ठभूमिमा २०८२ को निर्वाचन झन चासोपूर्ण बनेको छ।
यसपटकको चुनावी मैदानमा ५ जना मुख्य उम्मेदवार केन्द्रमा छन्। नेकपा एमालेबाट पार्टी सचिव तथा पूर्वसांसद महेश बस्नेत, नेपाली कांग्रेसबाट पत्रकार पृष्ठभूमिका कविर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार तथा युट्युबरका रूपमा परिचित राजीव खत्री, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ र नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य उम्मेदवार छन्।
रोचक कुरा के छ भने यी सबै उम्मेदवार ५० वर्षमुनिका छन्, जसले यो चुनावलाई पुस्तान्तरणको बहससँग पनि जोडिदिएको छ। यस क्षेत्रमा १७ राजनीतिक दल तथा १५ स्वतन्त्र गरी ३२ जनाले उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। उज्यालो नेपाल पार्टीका जितराम लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का विक्रम थापा, आम जनता पार्टीकी देवकुमारी शाहले उम्मेदवारी दिएका छन्।
यस्तै नेपालका लागि नेपाली पार्टीका राजेश बाडे, मंगोल नेशनल अर्गनाइजेसनका पेम्बा घले, श्रम संस्कृति पार्टीका अर्जुन बासुसहित अन्य दल र स्वतन्त्र उम्मेदवार छन्। एमालेका महेश बस्नेत यस निर्वाचनका सबैभन्दा चर्चित पात्र हुन्। २०७४ मा उनले दोब्बरभन्दा बढी मतान्तरसहित जित निकाल्दै आफूलाई भक्तपुर–२ को बलियो नेता सावित गरेका थिए। तर, २०७९ मा कांग्रेसका दुर्लभ थापासँग झिनो मतान्तरले पराजित भए। त्यस हारलाई बस्नेत ‘क्षणिक विश्राम’ मान्दै पुनरागमनको उद्देश्यसहित मैदानमा उत्रिएका छन्।
एमालेको संगठित संरचना, केन्द्रीय नेतृत्वसँगको निकटता र विगतमा देखिएको आक्रामक राजनीतिक शैली उनका मुख्य आधार हुन्। युथ फोर्स हुँदै राष्ट्रिय युवा संघको नेतृत्वसम्म पुगेका बस्नेतलाई समर्थकहरूले ‘काम गर्ने नेता’ का रूपमा चित्रित गर्छन् भने आलोचकहरूले उनलाई विभाजनकारी र विवादप्रिय नेताका रूपमा हेर्छन्। यही द्वन्द्वात्मक छविले उनलाई बलियो पनि बनाएको छ र कमजोर पनि। नेकपा एमालेका सचिवसमेत रहेका बस्नेत यहाँका मतदाता अघिल्लो निर्वाचनमा आफूहरूले हारेर अरूले जित्दा खुसी नरहेको र पछुतो मानिरहेको बताउँछन्। उनले अघिल्लो चुनावमा पाँच दलीय गठबन्धनसँग एक्लै लड्दा समेत थोरै मतान्तरले मात्र पराजित भएको एमाले अहिले बलियो अवस्थामा रहेको दाबी गर्छन्।
यस पटक थपिएका धेरै नयाँ मतदाताहरू नेकपा एमालेलाई समर्थन गर्ने मात्र नभई पार्टी संगठनमै संगठित भएको दाबी गर्दै नेपाली कांग्रेसको फितलो प्रदर्शनका कारण यसपटक एमाले र यसको उम्मेदवारको हैसियतले आफूले शानदार विजय हासिल गर्ने दाबी गरे। उनले भने, ‘जति हल्ला गरे पनि रास्वपा हाम्रो प्रतिस्पर्धी होइन। अघिल्लो निर्वाचनमा थोरै मतले अगाडि देखिए पनि कांग्रेसलाई हामी यहाँ प्रतिस्पर्धी मान्दैनौं।’
उम्मेदवार बस्नेतले अहिले आफूहरू निर्वाचन आयोगको निर्वाचन आचारसंहिताभित्र रहेर जनता र मतदातासम्म पुगिरहेको बताउँदै मतदातामा अहिले तीन खालको मनोविज्ञान पाएको बताउँछन्। उनले भक्तपुर कला, पुरातात्विक सम्पदाको धनी पर्यटकीय जिल्ला भएको बताउँदै यहाँका मतदाताको अपेक्षा फरक–फरक खालका भएको बताउँछन्। भक्तपुर–२ को काँठ क्षेत्र सूर्यविनायक, ठिमी आसपास जनसंख्या वृद्धिदर उल्लेख्य रहेको बताउँदै यहाँका मतदाताले कला, सँस्कृति, मठमन्दिर संरक्षण, रोजगारी सिर्जना र बस्ती विस्तारलगायतका माग र मुद्दाहरू उठाउने गरेको उम्मेदवार
बस्नेतले बताए।
भक्तपुर–२ मा आफ्नै अगुवामा विद्यालय, कलेज, अस्पताल व्यवस्थापनलगायत धेरै क्षेत्रमा उपलब्धिमूलक कामहरू भएको बताउँदै उनले भने, ‘भक्तपुरलाई नेपालको तेस्रो साक्षर जिल्ला बनाउन सक्नु हामी सबैको गौरवको विषय पनि हो।’ भक्तपुरको विकासका लागि गर्नुपर्ने, सडक, पुल, कला, सँस्कृति जगेर्ना, मठमन्दिर निर्माण र संरक्षणबाहेक आफूले नीति निर्माणका लागि संघीय सरकारका विभिन्न निकायहरूमा भक्तपुर–२ का माग र मुद्दाहरूलाई पुर्याइरहेको बस्नेतले बताए।
यहाँ एमाले पहिलो शक्ति भएको दाबी गर्दै उम्मेदवार बस्नेतले यहाँका मतदाताले आफूलाई ‘भोकल लिडर’ का रूपमा मतदान गरी विजयी गराउनेमा आफू र आफ्नो पार्टी विश्वस्त रहेको बताए। यता नेपाली कांग्रेसबाट उम्मेदवार कविर राणा फरक पृष्ठभूमिका नेता हुन्। लामो समय राजनीतिसँगै पत्रकारितामा बिताएका राणालाई कांग्रेसले रणनीतिक उम्मेदवारका रूपमा अघि सारेको छ।
अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट कांग्रेसले जित निकालिसकेको हुँदा पार्टी संगठन र मनोवैज्ञानिक बल कांग्रेसको पक्षमा छ। लोकतन्त्र, सामाजिक समावेशिता र स्थानीय विकासलाई मुख्य एजेन्डा बनाउँदै आएका राणाले आफूलाई ‘आक्रामकभन्दा पनि विश्वसनीय विकल्प’ का रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्। कांग्रेसको चुनौती भनेको आन्तरिक एकता र मत विभाजन रोक्नु हो।
उम्मेदवार राणा आफू पत्रकारिता क्षेत्रबाट आए पनि पार्टी राजनीतिमा लामो लगानी रहेको बताउँछन्। उनी आफू पत्रकारभन्दा धेरै अगाडिदेखि राजनीतिमा सक्रिय रहेको बताउँछन्। उनले आफू २०३६ सालमा नेविसंघको सदस्य हुँदै ३७ सालमा स्कुल युनियनको सचिव, ०४१ सालमा त्रिविको नेपाल कमर्श क्याम्पसमा नेविसंघबाट निर्वाचित सचिव, ०४२ सालमा नेपाली कांग्रेसले आह्वान गरेको सत्याग्रहमा ६ महिना जेल, ०४६ सालको आन्दोलनताका देशान्तरको रिपोर्टर, पार्टीको प्रचार–प्रसारमा कार्यरत रहँदै पत्रकारिता पनि गरेको बताए। उनले भने, ‘म पत्रकारको पृष्ठभूमिबाट चुनावका लागि टिकट पाएको होइन, मैले राजनीतिक पृष्ठभूमिबाटै टिकट पाएको हुँ, राजनीतिसँग सँगै पत्रकारिता गरेको हुँ।’
निर्वाचन आचारसंहित अनुसार अहिले सभा, जुलुस, घरदैलो गर्न नपाइने भएकाले आफू पार्टीले गरेका कार्यक्रमहरू, बैठक, कोठे बैठकहरूमा सहभागी हुनुका साथै आफ्नो चुनाव क्षेत्रका पार्टीका अग्रजबाट आशीर्वाद लिने, ज्येष्ठ नागरिकबाट आशीर्वाद लिने, मध्यपुरको जात्रा, स्वस्थानीका व्रतहरूमा गएर मतदाताहरूसँग भोट मागिरहेको उम्मेदार राणाले जानकारी दिए। पार्टीले यसपटक केही दिनमै संकल्पपत्र ल्याउँदै गरेको जानकारी दिँदै उम्मेदवार राणाले भने, ‘मचाहिँ आजभोलि नै साथीहरूमार्फत एउटा प्रतिबद्धतापत्र टोलटोलमा पठाउँदैछु।’
सुुरु भएर अगाडि बढ्न नसकिरहेको हनुमन्ते करिडोरलाई पूर्णता दिने आफ्नो अर्को प्रतिबद्धता रहेको राणाले बताए। उनले भक्तपुर पर्यटकीय क्षेत्र भएकाले डोलेश्वर, अनन्त लिंगेश्वरलगायतका क्षेत्रको संरक्षण र सम्बद्र्धनमा आफ्नो पहलकदमी रहने बताए। राष्ट्रिय मुद्दामा अब बेरोजगार उत्पादन गर्ने नभई प्रविधियुक्त र व्यावसायिक शिक्षाका लागि नीति नै परिवर्तन गर्नुपर्ने भएकाले यस क्षेत्रमा काम गर्ने
उनले बताए।
उनले भने, ‘आफ्नो क्षेत्र मात्र होइन, सिंगो जिल्ला र देश विकासका लागि काम गर्ने मेरो लक्ष्य हो।’ चुनाव भनेको जनताको मन जित्नु भएको बताउँदै राणाले जनताको सेवक हुने, जनताको सेवा गर्ने भएकाले आफूले मतदाताको मन जित्न सफल हुने दाबी गरे। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री यस निर्वाचनका ‘एक्स–फ्याक्टर’ मानिन्छन्। २०७९ मा रास्वपाले यस क्षेत्रमा उल्लेख्य समानुपातिक मत पाएको थियो। त्यसले पार्टीप्रति आकर्षण बढ्दो रहेको संकेत गर्छ। खत्री पत्रकारिता र सामाजिक सञ्जालबाट उदाएका व्यक्ति हुन्।
परम्परागत राजनीतिबाट दिक्क भएका युवा र सहरी मतदातालाई लक्षित गर्दै उनले ‘नयाँ विकल्प’ को कथा बेचिरहेका छन्। बस्नेत र खत्रीबीच सामाजिक सञ्जालमा चल्ने वाकयुद्धले चुनावी माहोललाई झन् तातो बनाएको छ। खत्रीले पुराना नेतामाथि प्रश्न उठाउँछन् भने बस्नेतले उनलाई अनुभवहीन भनेर आक्रमण गर्छन्। यही टकरावले मतदाताको ध्यान खिचेको छ। गत भदौ २४ गतेको आतंककारी विध्वंसको खुलेआम प्रतिवाद गरेका कारण एमाले नेता बस्नेतको चर्चा पार्टी भित्रमात्र होइन, बाहिर पनि हुने गरेको छ।
भक्तपुर–२ का रास्वपा उम्मेदवार राजीव खत्री निर्वाचन आयोगको आचारसंहिता पालना गर्दै चुनावी अभियान सञ्चालन गरिरहेको बताउँछन्। अब अहिले घरदैलो अभियान भए पनि चोकचोकमा, विभिन्न समूहहरूमा गएर भेटघाट, छलफल र मतदाताहरूको गफ सुन्ने र उहाँहरूले सोधेका पार्टीका केही राजनीतिक एजेन्डाहरूको जवाफ दिने काम मात्र भइरहेको उनले बताए।
खत्रीले आफूले भेटेका मतदाता कसैले पनि हामीलाई बाटो बनाई दिनुपर् यो, यो गरिदिनुपर् यो, त्यो गरिदिनुपर् यो भन्ने नरहेको बताए। उनले मतदाताले भ्रष्टाचार अन्त्य हुनुपर् यो, सुशासन हुनुपर् यो, समानता हुनुपर् यो सबैलाई भन्ने कुरा राख्ने गरेको बताए। नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का रामप्रसाद सापकोटा ‘दीपशिखा’ अर्को रोचक पात्र हुन्। विद्यार्थी राजनीति र वाईसीएलबाट हुर्किएका सापकोटालाई पार्टीले युवा पुस्ताको प्रतिनिधि भन्दै अघि सारेको छ। युथ फोर्सका संस्थापक महेश बस्नेत र वाईसीएलका इञ्चार्ज दीपशिखा एउटै क्षेत्रमा आमनेसामने हुनु राजनीतिक प्रतीकात्मकताका हिसाबले निकै अर्थपूर्ण छ। वैचारिक प्रतिबद्धता र युवा आन्दोलनको इतिहास उनको शक्ति हो।
सापकोटा निर्वाचन आयोगको आचारसंहिताका कारण बाहिर प्रचारात्मक कार्यक्रमहरू नभएको बताउँदै आन्तरिक रुपमा पार्टीको वैठक, भेला, प्रशिक्षणहरू, चुनावी परिचालन समितिहरू बनाएर वडास्तरसम्म चुनाव प्रचारको कामहरू भइरहेको बताउँछन्। अहिले पार्टी केन्द्रको घोषणापत्र तयार भइनसकेको अवस्थामा आफू स्थानीय भएको हिसावले स्थानीय मुद्दाहरूलाई नै उठाएर चुनावी प्रचारको काम गरिरहेको उम्मेदवार सापकोटा बताउँछन्। उनले भने, ‘देशभरलाई समग्र रूपमा हेर्दा मुख्य पार्टीहरूबीच धेरै सिटको फरक आउने म देख्दिनँ।’
उज्यालो नेपालका उम्मेदरवार जितराम लामा भने आफू २ दशकभन्दा बढीदेखि यही क्षेत्रमा बसोबास रहेको, जनताको मन जितेको कारण आफ्नो जित सुनिश्चित रहेको बताउँछन्। जनताले परिवर्तन खोजेको छ र त्यो परिवर्तन उज्यालो भविष्य निर्माण गर्न आफ्नो पार्टीबाट मात्र सम्भव रहेको उनको दाबी छ।
नेमकिपा भक्तपुरको राजनीतिमा सधैं निर्णायक भूमिकामा रहँदै आएको दल हो। २०७९ मा अनुराधा थापा मगरले ७ हजारभन्दा बढी मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन्। यसपटक पनि नेमकिपाको मत निर्णायक हुन सक्छ। स्थायित्व, विचार र संगठनलाई जोड दिने नेमकिपाको परम्परागत मत बैंक यथावत् छ। उनीहरूले ल्याउने मतले त्रिपक्षीय प्रतिष्पर्धामा नतिजा उल्ट्याउन सक्ने सम्भावना उच्च छ।
यो निर्वाचन केवल व्यक्तिहरूको भिडन्त मात्र होइन, एजेन्डा र रणनीतिको पनि लडाइँ हो। एमाले पूर्वाधार विकास, राष्ट्रिय नेतृत्वसँगको सम्बन्ध र ‘काम गरेको रेकर्ड’ लाई अघि सार्दैछ। कांग्रेस लोकतन्त्र, सामाजिक न्याय र स्थानीय विकासको निरन्तरतामा जोड दिइरहेको छ। रास्वपा भ्रष्टाचारविरुद्धको आक्रोश र नयाँ राजनीतिक संस्कृतिको कुरा गर्छ। नेमकिपा वैचारिक स्थिरता र सेवामुखी राजनीतिमा अडिग छ भने अन्य साना दलहरूले वैकल्पिक एजेन्डा उठाइरहेका छन्।
चुनावी प्रचारको शैली पनि बदलिएको छ। पोस्टर र नारासँगै सामाजिक सञ्जाल प्रमुख हतियार बनेको छ। फेसबुक, टिकटक, युट्युबमार्फत छोटा भिडियो, लाइभ बहस र प्रत्यक्ष आरोप–प्रत्यारोप चलिरहेका छन्। डिजिटल युद्धले युवा मतदातालाई तानिरहेको छ भने घरदैलो र टोलसभा परम्परागत मतदातालाई लक्षित छन्। चिया पसल, चौतारी र टोल भेलामा राजनीति नै मुख्य बहसको विषय बनेको छ।
संगठनको शक्ति, पुरानो अनुभव र जनताको मनोवृत्तिलाई हेर्दा एमालेका महेश बस्नेत र कांग्रेसका कविर राणाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। महेशलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको निकटता र पार्टीभित्रको सक्रिय भूमिकाले बल थपेको छ। राणा, पत्रकारितामा लामो अनुभव र नयाँ अनुहारका रूपमा आफूलाई प्रस्तुत गर्दै, युवापुस्ताको रोजाइ र भ्रष्टाचार विरोधी सन्देशमा जोड दिएका छन्।
तर, खेलमा अर्को टीस्ट पनि छ–रास्वपा। राजीव खत्री रास्वपामार्फत नयाँ मतदाता र ‘जेनरेशन–जेनेरेशन’ (जेन–जी) आन्दोलनसँग जोडिएका युवाहरूलाई आकर्षित गर्न सक्ने दाबी गर्छन्। यद्यपि उनको सम्भावित प्रभाव पुराना दलका मतदातामा कति पर्छ, त्यो यो चुनावको रोचक भाग हुनेछ।
२०६४ पछिका मत संरचनालाई हेर्दा यहाँ नेमकिपाको प्रभाव विस्तारै कमजोर बन्दै गएको छ। एमाले र कांग्रेसबीचको परम्परागत द्वन्द्वले यसपटक पनि मुख्य भूमिका खेल्ने देखिन्छ। यहाँ नयाँ दलका उम्मेदवारहरूले मत विभाजन गर्ने सम्भावना पनि छ। युवा र जेनजी आन्दोलनसँग सम्बन्धित उम्मेदवारहरूले अप्रत्याशित परिणाम ल्याउन सक्छन्।
यति मात्र होइन यहाँका मतदाताको मनोविज्ञान यसपटक झन जटिल देखिन्छ। धेरै मतदाता घोषणापत्रभन्दा पनि विगतको काम, जवाफदेहिता र व्यवहार हेरेर निर्णय गर्न चाहन्छन्। पारदर्शिता, स्थानीय सेवा, योजनाको प्रभाव र उम्मेदवारको पहुँच मुख्य मापदण्ड बनेका छन्। यही कारणले यस क्षेत्रलाई कुनै पनि दलको ‘सजिलो जित’ को क्षेत्र मान्न सकिँदैन।
समग्रमा भक्तपुर–२ को निर्वाचन पुरानो विरासत र नयाँ विद्रोहबीचको संघर्ष हो। के महेश बस्नेतले आफ्नो प्रभाव फर्काउन सक्छन् रु के कांग्रेसले अघिल्लो जितलाई निरन्तरता दिन सक्छ रु के रास्वपाले नयाँ राजनीतिक शक्तिको रूपमा ठूलो ‘ब्रेकथ्रु’ गर्न सक्छ रु वा नेमकिपा फेरि निर्णायक बन्छ रु रास्वपालाई नयाँ खुलेका अर्को दल उज्यालो नेपालका लामाले पनि टक्कर दिने सम्भाना छ।
यी सबै प्रश्नको उत्तर फागुन २१ गते मतपेटिकामा बन्द हुनेछ। तर, जे भए पनि, भक्तपुर–२ ले दिने सन्देशले नेपाली राजनीतिमा गहिरो अर्थ राख्ने निश्चित छ। भक्तपुर–२ को मतदाताले योपटक पुरानो दललाई पुनः रोज्छन् कि नयाँ नेतृत्वलाई अवसर दिनेछन्, त्यो भविष्यले मात्र देखाउने छ। इतिहास दोहोरिन्छ कि नयाँ अध्याय लेखिन्छ, भोटको गणना सकिएपछि मात्र
स्पष्ट हुनेछ।
प्रतिक्रिया दिनुहोस !