श्रीमतीको हत्यापछि आत्महत्या : वैवाहिक झगडाबाट जघन्य अपराधसम्म
विराटनगर : मोरङको रंगेली नगरपालिकामा लामो समयदेखिको झगडा दम्पतीको ज्यान लिने घटनामा पुगेर टुंगिएको छ। उक्त घटना कुनै एक रातको आकस्मिक आवेग नभएर केही समयदेखि मौन रूपमा बढ्दै गएको घरेलु हिंसा, अस्वीकार, पारिवारिक कलहको परिणाम भएको पाइएको छ।
रंगेली नगरपालिका–५ धनपट्टीस्थित एउटा घरभित्र मंगलबार बिहान भएको घटनामा २२ वर्षीय मुकेशकुमार मण्डल र उनकी २० वर्षीया पत्नी अम्बिकाकुमारी मण्डल दुवैको ज्यान गएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले यो घटनालाई वैवाहिक हिंसाबाट सुरु भएर जघन्य अपराध र आत्मविनाशमा पुगेर टुंगिएको गम्भीर सामाजिक त्रासदीका रूपमा लिएको छ। मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार मुकेशले पत्नी अम्बिकाको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटना बिहान करिब २:४५ बजेको समयमा भएको अनुमान गरिएको छ।
घटनास्थलको प्रकृति, विगतका उजुरी र सम्बन्धको पृष्ठभूमिले कुनै आकस्मिक झगडाको परिणाम नभई लामो समयदेखि चल्दै आएको वैवाहिक द्वन्द्वको विस्फोट भएको संकेत गर्ने लामिछानेको भनाइ छ। उनका अनुसार मुकेश र अम्बिकाबीच विवाहपछिको केही समयदेखि नै तनाव रहँदै आएको थियो। उनीहरूबीच मंसिर १२ गते प्रेम विवाह भएको थियो। तर, विवाहपछि मुकेशको परिवारले अम्बिकालाई बुहारी स्वीकार नगरेको, सामाजिक र पारिवारिक दबाब बढ्दै गएको तथा त्यसले सम्बन्धलाई थप जटिल बनाएको प्रहरी र स्थानीयको भनाइ छ।
मुकेश विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्टका रूपमा कार्यरत थिए। बाहिरबाट हेर्दा स्थिर देखिने उनको जीवनभित्र भने वैवाहिक असन्तुलन, पारिवारिक अस्वीकार र बारम्बारको झगडाले दरार बनाउँदै लगेको देखिन्छ। प्रहरीका अनुसार अम्बिकामाथि घरेलु हिंसा भएको भन्दै यसअघि पनि पटकपटक उजुरी परेका थिए। सबैभन्दा पछिल्लोपटक पुस २५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दर्ता भएको थियो।
प्रहरीको बोलावटमा उपस्थित नभएपछि मुकेशलाई पुस २८ गते राति नियन्त्रणमा लिइएको थियो। एक रात हिरासतमा राखेपछि ‘अबदेखि यस्तो नगर्ने’, ‘मिलेर सँगै बस्ने’ र ‘विवाह दर्ता गर्ने’ सर्तमा मिलापत्र गराएर पुस २९ गते छाडियो। त्यसअघि पनि प्रहरी र जनप्रतिनिधिको उपस्थितिमा छलफल र सहमति भएको तथ्य खुलेको छ। उनीहरुबीचको विवादका बारेमा प्रहरीमा मात्रै ३ पटकसम्म छलफल भएर मिलापत्र भएको पाइएको छ।
तर, मिलापत्रले समस्या समाधान गर्नुको सट्टा जोखिमलाई झन् लुकाएको देखिन्छ। विवाह दर्ताको विषयसमेत लामो समय विवादमै रहयो। परिवारले अम्बिकालाई स्वीकार नगरेपछि मुकेशले विवाह दर्तामा आनाकानी गरेको र माघ ४ गते मात्रै बिहे दर्ता भएको वडाध्यक्ष महानन्द मण्डल बताउँछन्। विवाद दर्तापछि अम्बिका माइतीमै बस्न थालेकी थिइन् भने मुकेश विराटनगरमै। बिहे दर्तापछि दुवै जनाको सम्बन्ध थप चिसिएको र अलग–अलग बस्न थालेको पाइएको वडाध्यक्ष मण्डलको भनाइ छ।
घटना हुनुभन्दा अघिल्लो रात अर्थात्, सोमबार राति १०:३० बजेतिर मुकेश अचानक ससुराली घर पुगेका थिए। ससुराली घरको आगमन नै मुकेश र अम्बिकाको लागि काल बन्यो। बारम्बारको छलफल, सहमति र मिलापत्रजस्ता प्रयासहरु दीर्घकालीन समाधान बन्न नसक्दा युवा अवस्थामै दुवै जनाको जीवन समाप्त भएको छ। भर्खर बिहे गरेका दम्पतीको सम्बन्ध नबिग्रियोस् भनेर प्रहरीले मध्यस्थताको भूमिका निर्वाह गर्दै बारम्बार छलफल, मिलापत्र र सम्झाइबुझाइ गरेको देखिन्छ। तर, त्यसले वास्तविक जोखिमको अन्त्य गर्न सकेन।
मुकेश ससुरालीमा पुग्दा अम्बिकाका बुवा बलेशुकुमार मण्डल घरमा थिएनन्। कामको सिलसिलामा झापाको दमक गएका उनी घटना सुनेपछि मंगलबार बिहान ६ बजे मात्रै घर आइपुगेका थिए। घरमा आमा पुनमदेवी र सानो भाइ मात्रै थिए। डीएसपी लामिछानेका अनुसार छोरीसँग सम्बन्ध राम्रो नभएको अवस्थामा ज्वाइँ घरमा आएपछि पुनमदेवीले सम्झाइबुझाइ गर्दै घर फर्कन आग्रह गरेकी थिइन्। मुकेश भने बिहान पत्नीलाई लिएर जाने अडान राख्दै ससुरालीमै बसे। त्यत्तिकैमा पुनदेवीले छरछिमेकी र वडाध्यक्ष मण्डललाई पनि खबर गरिन्।
छरछिमेकी घरमा भेला भए। उनीहरुले पनि सम्झाइबुझाइ गरेर मुकेशलाई घर फर्किन आग्रह गरे। वडाध्यक्ष मण्डलले रातको समय भएकाले आफू आउन नसक्ने भन्दै फकाएर ज्वाइँ मुकेशलाई घर पठाउन भने। ‘मलाई राति ११ बजेतिर फोन आएको थियो। मैले मुकेशलाई सम्झाएर आफ्नै घर पठाउनु र रात बस्न नदिनु भनेर सुझाव दिएँ। बाँकी कुरा भोलि गरौंला भनेको थिएँ। तर, यस्तो दर्दनाक घटना भएछ,’ मण्डल भन्छन्। उनका अनुसार सासू पुनदेवीले समेत धेरै प्रयास गर्दा पनि मुकेश ससुरालीमै बस्ने अडानमा अडिग रहे। अन्तत: छरछिमेकी आफ्नो घर फर्किए र दम्पती एउटै कोठामा सुत्न गए। त्यसपछि बिहानको शान्त वातावरण एक्कासि भंग भयो।
छोरी–ज्वाइँ (मुकेश र अम्बिका) सुतेको कोठाबाट बिहानका राति ठूलो आवाज सुनेपछि पुनदेवीले ढोका ढकढक्याइन्। तर, भित्रबाट चुक्कुल लागेको ढोका खुलेन। झ्यालबाट भित्र छिरेर हेर्दा त्यहाँको दृश्य देखेर उनी आत्तिएकी थिइन्। छोरीलाई खाटमै रगतको आहालमा डुबेको अचेत अवस्थामा देखिन् भने ज्वाइँ गम्भीर अवस्थामा छटपटाइरहेका थिए। उनले आत्तिदै छरछिमेकीलाई खबर गरिन्। तर, सबै भेला भइसक्दा दुवै जनाको मृत्यु भइसकेको थियो।
मुकेशले आफ्नो झोलामा राखेको चक्कु निकालेर सुरुमा पत्नी अम्बिकाको घाँटीमा प्रहार गरेको र मृत्यु भएपछि त्यही चक्कुले आफ्नो घाँटी रेटेको पाइएको डीएसपी लामिछाने बताउँछन्। उनका अनुसार प्रहरी घटनास्थल पुग्दा दुवै जनाको शव रगतमा लतपतिएको बीभत्स अवस्थामा भेटिएको थियो। प्रहरीले घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ।
साथीभाइ र स्थानीयले मुकेश यसअघि लागुऔषधको कुलतमा फसेको जानकारी पनि दिएका छन्। यद्यपि, यो विषयमा प्रहरीबाट औपचारिक पुष्टि हुन बाँकी छ। यो तथ्य पुष्टि भयो भने मानसिक स्वास्थ्य, नशा नियन्त्रण र घरेलु हिंसाबीचको सम्बन्धका बारेमा थप गहिरो बहस आवश्यक देखिने प्रहरीको भनाइ छ। साथै, घटना दाइजोसँग पनि जोडिएको हुनसक्ने प्रहरीको आशंका छ।
अम्बिकाकी आमा पुनमदेवीका अनुसार ज्वाइँका परिवारले दाइजोबापत बारम्बार १० लाख रूपैयाँ पैसा, १ तोला सुन र मोटरसाइकल मागेका थिए। ‘हामी दाइजो दिन तयार थियौं। तर, आर्थिक अवस्था कमजोर रहेकाले तत्काल दिन सक्ने अवस्था थिएन। खोजी गरेर दिन्छौं भनेका थियौं। छोरी र ज्वाइँले ज्यान गुमाउनुपर्ने मुख्य कारण नै दाइजो हो,’ भक्कानिँदै उनले भनिन्।
उनका अनुसार दाइजोका बारेमा पटक–पटक दबाब आएको थियो। गाउँमा छलफल र पञ्चेतीसमेत भएको थियो। तत्काल दाइजो दिन नसक्दा ज्वाइँका परिवारले छोरी अम्बिकालाई बुहारी स्वीकार नगरेको पुनमदेवी बताउँछिन्। स्थानीयका अनुसार दाइजो नपाएको भन्दै मुकेशका परिवारले बिहे स्वीकार गर्न मानेका थिएनन्। परिवारले स्वीकार नगरेपछि मुकेशले रंगेलीको सन्सारीमाई मन्दिरमा अम्बिकासँग बिहे गरेको स्थानीयको भनाइ छ।
घटनापछि दुवै जनाको शव विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरेर आफन्तले बुझेका छन्। डीएसपी लामिछानेले घटनाको वास्तविक कारण, मुकेशको मानसिक अवस्था, पृष्ठभूमि र विगतका घरेलु हिंसासँग जोडिएका घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको बताउँछन्। घटनाको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले विस्तृत अनुसन्धान गरिरहेको छ। घटनाको जानकारी पाउनसाथ फरेक्सिक चिकित्सक र अनुसन्धान अधिकृतसहितको टोली लिएर मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल पनि घटनास्थल पुगेका थिए।
लामिछानेका अनुसार यो घटना एउटा घरभित्र सीमित निजी त्रासदी मात्रै नभएर घरेलु हिंसाले निम्त्याएको गम्भीर अपराध हो। बारम्बार प्रहरी मिलापत्रमा टुंग्याइने घरेलु हिंसाका उजुरी, समयमै जोखिम मूल्यांकन नगर्ने प्रवृत्ति, मानसिक स्वास्थ्य र नशा नियन्त्रणप्रतिको कमजोर संरचना र ‘सम्झाइबुझाइ’मै समस्या समाधान हुन्छ भन्ने गलत धारणाको कठोर परिणामले यति ठूलो अपराध भएको स्थानीयको बुझाइ छ।
यसले अब पनि हामीले यस्ता विषयलाई गम्भीर रूपमा नलिए कति ठूलो मूल्य चुकाउनुपर्छ भन्ने कटु यथार्थ उजागर गरेको वडाध्यक्ष मण्डलको भनाइ छ। घटनापछि परिवार र आफन्त शोकमा डुबेका छन्। शोक र त्रासले गाउँ स्तब्ध भएको छ। ‘घटनापछि परिवार र आफन्तमा ठूलो बज्रपात परेको छ। उनीहरु पीडा र त्रासमा छन्,’ वडाध्यक्ष मण्डलले भने, ‘वैवाहिक हिंसाप्रति चिन्ता र असुरक्षा फैलिएको छ। समुदायभरि अविश्वास, पीडा र निराशा बढेको छ।’ समुदायमा वैवाहिक हिंसाप्रति गहिरो असुरक्षा र अविश्वास फैलिएको उनको भनाइ छ। वैवाहिक झगडासँग जोडिएर जघन्य अपराधमा परिणत भएको यस घटनाले घरेलु हिंसालाई सामान्य विवाद ठान्न नहुने र समयमै समाधानको उचित कदम चाल्नुपर्ने पाठ सिकाएको मण्डल बताउँछन्।
प्रतिक्रिया दिनुहोस !