खाँचीकोट हिल स्टेसन बन्दै पर्यटकीय गन्तव्य

खाँचीकोट हिल स्टेसन बन्दै पर्यटकीय गन्तव्य
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल स्टेसन पछिल्ला दिनहरूमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ।

प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य र शान्त वातावरणका कारण ओझेलमा परेको यो स्थान बिस्तारै पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ। स्थानीयवासीका अनुसार केही वर्षअघिसम्म सीमित व्यक्तिहरूको मात्रै आगमन हुने खाँचीकोट अहिले बिदाको दिनमा आन्तरिक पर्यटकले भरिन थालेको छ। 

यस हिल स्टेसनबाट अन्नपूर्ण हिमशृंखला, धौलागिरी, माछापुच्छ«ेलगायत हिमालहरूको दृश्य एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ। बिहानको सूर्योदयसँगै हिमालमा पर्ने सुनौलो घामको किरणले यहाँको दृश्यलाई अझ मनमोहक बनाउँछ। त्यस्तै, आसपासका गाउँबस्ती, हरियाली डाँडाकाँडा र तलका खोंचहरूलाई नियाल्दा पर्यटकहरू मन्त्रमुग्ध हुने गरेका छन्। प्राकृतिक सौन्दर्य र शान्त वातावरणको संयोजनले यहाँ आउनेहरूलाई मन प्रफुल्लित पार्ने गरेको सन्धिखर्क ७ का वडाध्यक्ष चुराबहादुर केसीले बताउँछन्।

पर्यटनको सम्भावनालाई मध्यनजर गर्दै पूर्वाधार विकासको काम पनि तीव्र गतिमा अघि बढाइएको छ। खाँचीकोट हिल स्टेसनसम्म पुग्नका लागि व्यवस्थित पदमार्ग निर्माणको कार्य भइरहेको छ। पदयात्रा गर्न चाहने पर्यटकहरूलाई सुरक्षित र सहज बनाउने उद्देश्यले पदमार्ग निर्माण भइरहेको हो। साथै हिल स्टेसन परिसरमा विश्राम स्थल (रिफ्रेसमेन्ट स्पट) निर्माणको काम पनि भइरहेको छ, जसले पर्यटकलाई थकान मेट्न र प्राकृतिक दृश्यको आनन्द लिन सहज बनाउने अपेक्षा गरिएको छ।

सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष केसीका अनुसार पर्यटन मन्त्रालयको पर्यटन विभागबाट विनियोजित एक करोड रुपैयाँको लगानीमा पदमार्ग र हिल स्टेसन निर्माणको काम भइरहेको छ। उनका अनुसार यो योजना सम्पन्न भएपछि खाँचीकोट जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनेछ। ‘हामीले दीर्घकालीन सोचका साथ पूर्वाधार निर्माण गरिरहेका छौं। यसले स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउने विश्वास छ,’ केसीले बताए।

हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्यांकी निर्माण गरिएको छ। उच्च स्थानमा पर्याप्त पानीको स्रोत नहुँदा निर्माण कार्यमा चुनौती थपिएको थियो। त्यसैले पदमार्ग, विश्राम स्थल र खानेपानी ट्यांकी निर्माणका लागि आवश्यक पानी खच्चरमार्फत बोकेर पुर्‍याइएको थियो। विकास निर्माणका सामग्री र पानी ढुवानीका लागि खच्चरको प्रयोग गरिएको छ। खाँचीकोटको विकाससँगै स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना हुन थालेका छन्। निर्माण कार्यमा स्थानीय मजदुर संलग्न छन् भने भविष्यमा होटल, होमस्टे र स्थानीय उत्पादनको बिक्रीमार्फत आयआर्जन बढ्ने अपेक्षा गरिएको छ। पर्यटन प्रवर्धनसँगै स्थानीय संस्कृति, परम्परा र उत्पादनलाई पनि बजारमा चिनाउने अवसर मिल्ने विश्वास गरिएको छ।null

प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र विकासोन्मुख पूर्वाधारको संयोजनले खाँचीकोट हिल स्टेसन अब केवल स्थानीय घुमफिरको थलो मात्र होइन, जिल्लाको पहिचान बोकेको नयाँ पर्यटकीय केन्द्रका रूपमा उभिन थालेको छ। व्यवस्थित योजना र समुदायको सक्रिय सहभागितासँगै खाँचीकोटले अर्घाखाँचीको पर्यटन सम्भावनालाई थप उजागर गर्ने संकेत देखिएको छ।

खाँची हिल स्टेसनमा पुग्ने पर्यटकलाई लक्षित गरी खानेपानीको ट्यांकी निर्माण गरिएको छ। मोटरबाटो नपुगेको स्थानमा दैनिक ७ खच्चरले पानी बोकेर निर्माणको काम धानिरहेको छ। डोल्पाबाट हिँडेका ७ खच्चर जाजरकोट, रुकुम पश्चिम, रोल्पा, प्युठान हुँदै अर्घाखाँचीको हिल स्टेसनमा आउन १५ दिन लाग्ने गरेको हो।  सन्धिखर्क नगरपालिका, लुम्बिनी प्रदेश सरकार र पर्यटनसँग सम्बन्धित निकायले खाँचीकोटलाई व्यवस्थित रूपमा विकास गर्न योजना अघि सारिरहेका छन्। पर्यटन विकाससँगै रोजगारी वृद्धि र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास नगरपालिकाले गरेको सन्धिखर्क ​​​​​​​नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

सुपा देउरालीमा आएका पर्यटकलाइ लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको नगर प्रमुख श्रेष्ठको भनाइ छ। प्राकृतिक सुन्दरता, भौगोलिक विविधता र सांस्कृतिक सम्पदा एकै ठाउँमा समेटिएको खाँचीकोट आगामी दिनमा अर्घाखाँची जिल्लाको पहिचान बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.