तीन किसिमको क्यान्सर विजेता बजगाईं भन्छन्- साइकलयात्रीका रूपमा उभ्याउन पाउँदा खुसी लाग्छ

तीन किसिमको क्यान्सर विजेता बजगाईं भन्छन्- साइकलयात्रीका रूपमा उभ्याउन पाउँदा खुसी लाग्छ

ध्रुवप्रसाद हुमागाईं, क्यान्सर विजेता साइकल यात्री
कति वर्ष हुनुभयो ? 
५७ वर्षको भएँ।

ठेगाना ? 
 काठमाडौं, जोरपाटी। 
क्यान्सरमाथि विजय हासिल गरेको कति वर्ष भयो ? 
६ वर्ष पूरा भएर सात वर्षमा लाग्यो। कोरोना भाइरस (कोभिड–१९) ले नेपाललगायत विश्वमा त्रास बढाइरहेको बेला मलाई क्यान्सर पुष्टि भएको थियो। 
तपाईंलाई कुन–कुन किसिमको क्यान्सर भएको थियो ? 
तीन किसिमको क्यान्सर भएको थियो। सुरुमा फेक्सो क्यान्सर भएको थियो। त्यसपछि पछाडिको हड्डी (ब्याकबोन) र मल्टिपल माइलोमा गरी तीन किसिमको क्यान्सरसँग फाइट गरें। अन्ततः क्यान्सर जितें। नेपालमा तीनवटा क्यान्सर विजेता भई साइकल यात्रा गर्ने म पहिलो व्यक्ति हुँ। 
क्यान्सर भएको कसरी पत्ता लाग्यो ? 
एक्कासि पिठ्यूँतिर एकदमै दुख्न थाल्यो। श्रीमतीलाई डिस्टर्ब होला भनेर छुट्ट कोठामा सुत्थें। सुत्नसमेत गाह्रो हुन्थ्यो। अस्पतालमा गएर परीक्षण गर्दा क्यान्सरको चौथो स्टेज भएको थाहा भयो।
एक्कासि क्यान्सर भएको थाहा हुँदा चिन्ता लाग्नु स्वाभाविक हो। त्यसको व्यवस्थापन कसरी गर्नुभयो ? 
क्यान्सरविरुद्ध जुध्न र मनलाई दह्रो बनाउन मैले ध्यान रोजें। ओशो तपोवनमा गएर ध्यान गरें। एक साता ध्यान गरेपछि रिफ्रेस भएको महसुस भयो। त्यसपछि क्यान्सरविरुद्ध मुकाबिला गर्ने अठोट गरें। 
उपचार कहाँ गर्नुभयो ? 
नेपाल र भारतका अस्पतालमा उपचार गराएँ।
केमोथेरापी लिँदाको अनुभव कस्तो रह्यो ? 
सुरुसुरुमा अलिअलि डर लागेको थियो। प्रायः सबैले किमो (औषधि) लिँदा गाह्रो हुन्छ भन्ने सुनाएका थिए। मलाई भित्रभित्रै डर लागिरहेको थियो। नौ पटकसम्म किमो लिनु पर्‍यो। छाती र ब्रेनमा रेडिएसन पनि गरियो। क्यान्सर फैलिन पाएन। नियन्त्रण भयो। त्यो बेला मैले मोबाइल नै स्विच अफ् गरेको थिएँ। पछिपछि त मोटरसाइकल चढेर केमो, रेडियोथेरापी लिन जाँदा डाक्टरहरू पनि छक्क परेका थिए। 
डाक्टर, नर्सको व्यवहार कस्तो थियो ? 
उपचारका क्रममा डाक्टर, नर्सदेखि अस्पतालका सरसफइकर्मीबाट पनि माया पाएँ। कसैले सर त कसैले दाइ भनेर सम्बोधन गरेका थिए।
क्यान्सर निको हुनुमा बिरामी स्वयंमात्र नभई अन्य सरोकारवाला व्यक्तिको भूमिका पनि महत्त्वपूर्ण हुने रहेछ नि ? 
हो। सबैभन्दा पहिलो त परिवारकै सदस्यको सहयोग, साथ चाहिन्छ। मायाको एकदमै आवश्यकता पर्छ। दुई छोरा र एक छोरी विदेश थिए। आफ्नो उच्च मनोबल, परिवारको माया र स्वास्थ्यकर्मीको हेरचाह एवं गुणस्तरीय उपचारका कारण नै अहिलेसम्म बाँचिरहेको छुँ। मेरो यात्रामा सहयोग पुर्‍याउनु हुने सम्बन्धित विशेषज्ञहरू, नर्स, गोकर्णेश्वर नगरपालिकाका पूर्व र वर्तमान मेयर, क्यान्सर सर्भाइभर्सहरूको सहयोग रह्यो। सबैलाई सम्झिरहेको छुँ। कृतज्ञता व्यक्त गर्न चाहन्छु। 
यसअघि परिवारमा कसैलाई क्यान्सर भएको थियो कि ? 
यस अघि परिवारमा कसैलाई क्यान्सर भएको मलाई थाहा छैन। परिवारमा क्यान्सरसँग जुध्ने म नै पहिलो हुँ।
क्यान्सर लाग्नेबित्तिकै मरिहालिन्छ भन्ने अफवाह छ। तपाईंको सन्देश के छ ? 
जन्मेपछि मृत्यु शाश्वत सत्य हो। मान्छेको जुनी लिएर आए पछि एकदिन त मर्नु नै पर्छ। तर, हेरचाह, स्नेह, उपचार हुने हो क्यान्सर लागेर पनि बाँच्न सकिन्छ भन्ने उदाहरण म स्वयं नै हुँ। क्यान्सर लाग्नेबित्तिकै मरिहालिन्छ भन्ने अफवाह मेटाउन क्यान्सरका बिरामी भेट्ने र सल्लाह परामर्श दिने काम पनि गरिरहेको छुँ। क्यान्सर लागे पनि डराउने, आत्तिने गर्नु हुँदैन भन्ने सन्देश लिएर मेचीदेखि महाकाली साइकलयात्रासमेत गरें।
क्यान्सरसँग जुध्दै गर्दा दुःख महसुस पनि भयो कि ? 
सुरुमै क्यान्सरको चौथो स्टेज भएको रहेछ। तपाईंले राम्रो स्याहार गर्नुभयो भने ६ महिना बाँच्नुहुन्छ भनेर श्रीमतीलाई भनिएको रहेछ। त्यो मैले पछि मात्र थाहा पाएँ। त्यो बेला दुःख महसुस भएको थियो। त्यो बेला आफन्तलगायत सबैले आश मारिसकेका थिए। यसबाहेक कतिपय क्यान्सरका बिरामीलाई परिवारका सदस्यले समेत हेरविचार नगरेको देख्दा दुःख महसुस हुन्छ।
खुसीको क्षण ? 
क्यान्सर फाइटरका रूपमा परिचय बनेको छ। क्यान्सर विजेता हुँदा खुसी र गर्व महसुस हुन्छ। तीन किसिमका क्यान्सर विजेता साइकलयात्रीका रूपमा उभ्याउन पाउँदाका हरेक क्षण नै खुसीका क्षण हुन्। क्यान्सरका बिरामीलाई सल्लाह सुझाव र सहयोग गर्न पाउँदाको हरेक पल खुसीका हुन्छन्।
क्यान्सर बिरामीप्रति हेर्ने दृष्टिकोण कस्तो रहेछ ? 
कतिपय आफन्त, नातेदार, इष्टमित्र टाढा हुन्छन्। उपचारका लागि पैसा माग्छन् कि भन्ने सोंच राखेर टाढिँदा रहेछन्। क्यान्सर सर्भाइभर्सहरू नै नजिक हुने रहेछन्। समाजले हेर्ने दृष्टिकोण सकारात्मक छैन। 
तपाईंको लक्ष्य के हो ? 
क्यान्सर प्रभावितलाई मनोवैज्ञानिक ऊर्जा दिनु नै मेरो लक्ष्य हो। 
साइकलयात्री नै किन र कसरी बन्नुभयो ? 
डिस्चार्ज गर्ने बेला डाक्टरले व्यायाम गर्नुहोला भन्नु भएको थियो। मलाई साइकिलिङ उपयुक्त लाग्यो। क्यान्सर विजेता (क्यान्सर फाइटर) हुँ भन्दै विभिन्न स्थानमा जाँदा खुसी लाग्छ। सन्देश फैलाउन पाइन्छ। क्यान्सर प्रभावितलाई बचाउनुपर्छ भन्ने भन्ने उद्देश्यले नै साइकलयात्री बनेको हुँ। क्यान्सर विजेता साइकलयात्रीका रूपमा अरूलाई हौसला, ऊर्जा दिनु नै मेरो उद्देश्य बनेको छ। 
साइकलयात्राका क्रममा कहाँकहाँ पुग्नु भयो ? 
काठमाडौंदेखि हेटौंडा, काठमाडौं पोखरा साइकलयात्रा गरिरहन्छु। चार वर्ष मेची महाकाली साइकल यात्रा गरें। काठमाडौंदेखि सिक्किमसम्म साइकलयात्रा गर्ने क्रममा दार्जिंलिङ पुग्दा अचानक साइकलबाट लड्न पुगें। हातमा चोट लाग्यो। चार महिना आराम गरे पछि पुनः दार्जिलिङबाट कालिम्पोङ, सिक्किम र ग्यान्टोक पुगें। जिन्दगीमा हरेक खानु हुँदैन। लडे पनि यात्रा रोक्नु हुँदैन भन्ने लाग्छ। यात्रा बीचैमा रोक्नु हुँदैन। गन्तव्यमा पुगेरै छोडिन्छ। 

सरकारले क्यान्सरका बिरामीलाई उपचार सुविधासमेत दिने गरेको छ। यो पर्याप्त छ ? 
सरकार अभिभावक हो। क्यान्सर भएपछि उपचारका क्रममा लाखौं खर्च हुन्छ। हरेक बिरामीलाई एक/डेढ लाख दिनुभन्दा त सुविधासम्पन्न अस्पताल बनाएर निःशुल्क उपचार व्यवस्था गर्नु उपयुक्त हुन्छ। 
जिन्दगी के रहेछ ? 
पहिला स्टेसनरी व्यवसायी थिएँ। त्यो बेला पनि जिन्दगी राम्रै थियो। अहिले पनि क्यान्सर सभाईभर्ससँग बस्छु। आवश्यक सल्लाह दिन्छु। सक्दो सहयोग गर्छु। सुन्दर जिन्दगी पाएको छुँ। बाँकी जिन्दगी असल कर्म गरेर बिताउँछु। अरूको दुःखद् जिन्दगीलाई सुखद बनाउने कर्म गर्नु नै जिन्दगी हो। 
क्यान्सरविरुद्ध जुधिरहेका बिरामीलाई सल्लाह के छ ? 
उपचारमा संलग्न डाक्टरहरूको सरसल्लाहबमोजिम खानपान र जीवनशैली अपनाउन सल्लाह दिन्छु। मेरो आवश्यकता महसुस भएमा सम्पर्क गर्न अनुरोध गर्छु। सहयोग गर्न पाउनु सौभाग्य हो।

क्यान्सरको जोखिम कम गर्ने तरिका
– धूमपान, मद्यपान नगरौं।
– सन्तुलित, स्वस्थ खानपान गरौं।
– स्तनपानलाई जोड दिऔं।
– हेपाटाइटिस र एचपीभी खोप लिऔं।
– धेरै घाममा नबसौं, सनस्क्रिनको प्रयोग गरौं।
– प्रदूषणयुक्त वातावरणबाट जोगिऔं।
– दैनिक व्यायाम गरौं।
– स्क्रिनिङ कार्यक्रममा सहभागी बनौं।
– सकारात्मक सोच राखौं।
– सक्रिय जीवनशैली बिताऔं।

प्रस्तुति : दिनेश गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.